जात्रा-पर्व

पोखरामा ३३ स्थानबाट निकालियो तायमचाः नृत्य

इकागज |
भदौ ४, २०८१ मंगलबार २१:३९ बजे

कास्की- गाईजात्रा पर्वका अवसरमा आज पोखरामा तायमचाः नृत्य निकालिएको छ । त्यस अवसरमा नेवा खलः कास्कीको आह्वानमा पोखराका विभिन्न ३३ स्थानबाट नृत्य निकालिएको हो ।

नेवा खलका शाखा (कचाः)खलःहरूले तायमचा निकालेको खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । पोखराका हेमजा, लामौचार, बगर, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर, राष्ट्र बैंक चोक, पार्दी विरौटा, छोरेपाटन, पृथ्वीचोक, नयाँबजारबाट तायमचाः निकालिएको थियो ।


यसैगरी महेन्द्रपुल, तेर्सापट्टी, रानीपौवा, गौंडाकोमुख, कुँडहर, रामबजार, सिसुवा, अर्घौं, गगनगौंडा, जनताको चौतारा, बागमारा, हंसपुर र  देउरालीलगायतका स्थानबाट नृत्य निकालिएको पालिखेले बताए । 'गाईजात्रा धेरै निस्किए पनि तायमचाः एउटा टोलबाट निकालिन्छ । यो नेवारी समुदायको परम्परागत नृत्य हो,' पालिखेले भने, 'पोखरामा बिहानदेखि नै पानी परेकाले दिनभरको झरीमा गाईजात्रा निकालिएको थियो ।'

त्यही अवसरमा यही भदौ ८ गते नेवा तायमचाः नृत्य प्रतियोगितासमेत आयोजना गर्न लागिएको छ । नेवा कचाः खल नयाँबजारको आयोजना तथा नेवा मिसा पुचः नयाँबजार, नेवा ल्याम्ह पुचः नयाँबजार र नेवाः कल्याणकारी गुठीको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।

हरेक वर्ष हुँदै आएको प्रतियोगिताको यस वर्षको शृङ्खलामा २९ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको विजेतालाई नगद रु तीन लाख एक, द्वितीयलाई रु दुई लाख एक, तृतीयलाई रु एक लाख एक र सान्त्वनालाई रु १० हजार एक प्रदान गरिने श्रेष्ठले बताए । पोखरामा साढे दुई सय वर्ष पुरानो मानिने यो नाच विसं २०५६ देखि हरेक वर्ष प्रतियोगिताको रूपमा आयोजना हुँदै आएको छ । 

परीको पहिरनमा सजिएका चार जना र एक जना जोकर घुमीघुमी तायमचाः नाचिन्छ । पहिले पुरुषले मात्र नाच्ने गरेकामा एक दशकयता महिलाहरूले पनि नाच देखाउँछन् । कास्कीका राजा सिद्धिनरसिंह शाहको पालामा भक्तपुरका नेवार समुदायले तायमचाः भित्र्याएको किंवदन्ती छ ।


Author

थप समाचार
x