जात्रा-पर्व

काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रालाई थप उल्लासका साथ मनाउने

इकागज |
भदौ २७, २०८१ बिहीबार १६:४९ बजे

फाइल फाेटाे

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रालाई थप उल्लासका साथ मनाउने जनाएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले जात्राको उल्लासलाई थप गर्न यस बर्ष केही नयाँ कार्यक्रमहरू थप गर्ने जनाएको छ । भाद्र ३० गते वसन्तपुरमा इन्द्रजात्राको लिङ्गो उठाइसकेपछि शिव पार्वती डबलीमा मौलिक गायन, वादन तथा नृत्यसहितको सांस्कृतिक कार्यक्रमको आयोजना हुने महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । 


उनले डबली पुनःस्थापना रिभाईभ दबु प्रवद्र्धनका लागि आयोजना हुने कार्यक्रममा स्थानीय करिब १ सय जना कलाकारहरूको उपस्थिति रहने बताए । यस बर्ष रथसम्बन्धी जानकारी गराउन कुमारी, गणेश, भैरव रथमा जिपिएस जडान गर्ने महानगरले जनाएको छ । जीपीएस जडान गरिएपछि रथ कुन ठाउँमा पुग्यो, लाखे, पुलुकिसी र सवभकुको नाच कुन ठाउँमा भइरहेको भन्ने सूचना प्राप्त हुने प्रवक्ता मानन्धरले उल्लेख गरे । 

पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख सुनिता डंगालेलले रिभाईभ दबु प्रवद्र्धन निकै महत्वपूर्ण पक्ष भएको बताइन् । उनले जात्राको उत्साहलाई कमी हुन नदिन महानगरले सबै पक्षमा ध्यान दिएको जानकारी दिइन् । जात्रा अवलोकनका लागि सबै पालिकाहरुलाई आमन्त्रण गरिएको उनको भनाइ छ ।

यो वर्ष असोज १ गते इन्द्रजात्रा मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठदिनसम्म मनाउने प्रचलन छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।


Author

थप समाचार
x