जात्रा-पर्व

१०५ वर्षीय बृद्ध दम्पतीले लगाइदिए दसैंको टीका

इकागज |
असोज ३०, २०७८ ६:२९ बजे

चितवन - आज विजया दशमीको दोस्रो दिन । हिन्दु धर्मावलम्बीहरूले आज पनि दसैं हर्षोल्लासका साथ मनाइरहेका छन् । चितवनमा १०५ वर्षीय बृद्ध र ९८ वर्षीय बृद्धाले आफन्तहरूलाई टीका लगाइदिएका छन् ।

भरतपुर महानगरपालिका–१० हाकिमचोकका १०५ वर्षीय टीकाराम ढकाल र ९८ वर्षीय रेवती ढकालले आफ्ना परिवारका आफन्तहरूलाई दसैंको टीका लगाएर आर्शिवाद दिएका छन् । उनीहरूका सात छोरा र एक छोरी छन् । उमेरले शताब्दी नाघेका बुबा र शताब्दी छुन लागेकी आमाको हातबाट दसैंको टीका लगाउन पाउँदा असाध्यै खुसी लागेको ठूलो कान्छा छोरा ईश्वरी ढकालले बताए ।


ज्येष्ठ नागरिकहरू भनेका अनुभवका खानी हुन् । दसैंको प्रमुख विशेषता भनेकै आफु भन्दा मान्यजनबाट टीका ग्रहण गर्ने र आर्शिवाद लिने हो 
‘१०५ वर्षसम्म पनि उहाँको सेवा गर्दै उहाँहरूको काखमा बस्न पायौँ । रमाउन पायौँ । त्यो नै ठूलो कुरा हो’, ईश्वरी भन्छन्, ‘उहाँहरूलाई सेवा गर्दै गर्दा समाजले पनि धेरै प्रेरणा लिन पाएको छ भन्ने अनुभूति गरेको छु ।’ नेपालमा बृद्ध बाबुआमालाई तिरस्कार गर्ने प्रवृत्ति रहेको भन्दै उनले त्यस्ता व्यक्तिले आफ्नो परिवारबाट पाठ सिक्न सक्ने बताए । 

बृद्ध दम्पत्ती ईश्वरी ढकालसँग हाकिमचोकमा आफ्नै घरमा बस्दै आएका छन् । ईश्वरी भने माडी नगरपालिका–२ का वडाध्यक्ष हुन् । उनी कहिलेकाँही भरतपुर आउँछन् । अन्य छोराहरू चितवनलगायत विभिन्न जिल्लामा बस्दै आएका छन् ।

टीकारामले मान्छेलाई देख्ने बित्तिकै चिन्न भने सक्दैनन् । ‘एकछिन घोरिएर हेरेपछि बल्ल चिन्नुहुन्छ । नाम नभनेपनि फलानोको छोरो वा छोरी भन्नुहुन्छ’,  ईश्वरी भन्छन्, ‘बिहान ४ बजे उठेर नुहाई धुवाई आफै गर्नुहुन्छ । खाना पनि आफै खानुहुन्छ ।’ रेवती भने क्यान्सरबाट ग्रस्त भएकी छन् । उनले नियमित रुपमा क्यान्सरको औषधी खाने गर्छिन् ।

उमेरले डाँडो नाघेका बृद्धा बुबाआमाको हातबाट दसै‌को टीका लगाउन पाउँदा साक्षत भगवानसँग आर्शिवाद लिएको अनुभव भएको नवराज ढकालले बताए । नाताले ठूलो बुबा र ठूली आमा पर्ने बृद्ध दम्पतीबाट टीका लगाएका नवराजले भने–‘१०५ वर्षीय बुबा र ९८ वर्षीय आमाको हातबाट टीका ग्रहण गर्न पाउँदा स्वर्गीय सुखको अनुभूति भएको छ ।’

गत वर्ष कोरोनाका कारण उनले  टीका लगाउन पाएनन् । ‘शताब्दी पुरुषसँग दशैँको टीका लगाएर आर्शिवाद लिन पाउने जो कोहीको नसिव हुँदैन’, उनी भन्छन्, ‘असाध्यै खुसी छु । अझ धेरै वर्षसम्म संगै हुने चाहना छ ।’ नवराज देवघाट क्षेत्र विकास समितिको सञ्चालक समितिको सदस्य पनि हुन् । छोराछोरीको अवहेलनामा परेका बृद्धा बुबा आमाहरूलाई समितिले देवघाटमा आश्रय पनि दिइरहेको छ । त्रेता युगमा आजकै दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष महत्वका साथ मनाइन्छ । 
 



Author

थप समाचार