मिथिलाञ्चलमा यसरी मनाइन्छ दिपावली
जनकपुरधाम- हिन्दु धर्मावलम्बीहरुको प्रमुख पर्वहरु मध्ये एक हो दिपावली अर्थात लक्ष्मी पूजा ।
यसलाई प्रकाश र धन आर्जनको पर्व समेत मानिएको छ । नेपाल-भारत सहित हिन्दुधर्मावलम्बी बस्ने हरेक देशमा मनाइने गरिन्छ । तर मिथिलाञ्चलमा विशिष्ट महत्वका साथ मनाइने दिपावलीको बेग्लै रौनकता हुन्छ ।
आध्यात्मिक दृष्टिले दिपावली पर्वलाई अँध्यारोमाथि प्रकाशको विजय प्रतिकको रुपमा लिइन्छ र यस दिन माता लक्ष्मीलाई खुश पारेर धन आर्जन प्रोत्साहित गरिन्छ । जे भएपनि दिपावली पर्वलाई मिथिलाञ्चलमा दीपोत्सवको पर्वको रुपमा चिनिन्छ ।
‘तमसो माँ ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट प्रकाश तर्फ जाउँ । यसलाई उपनिषद्को आज्ञाको रुपमा लिइन्छ । जसलाई सिख, बौद्ध तथा जैन धर्मका अनुयायीहरुले समेत अनुसरण गर्दै आएका छन ।
दिपावली शब्दको उत्पत्ति संस्कृतको दूई शब्द ’दीप’ अर्थात ’दियो’ र ’आवली’ अर्थात ’लामबद्ध’ वा ’श्रृंखला’को मिश्रणबाट भएको हो । यस पर्वमा घरको कुना कुनामा मिथिलाञ्चलवासीले दियोको श्रृंखला बनाएर घर आँगन झिलीमिली बनाउँछन ।
धर्मग्रन्थहरु अनुसार यसलाई विजयोत्सवको रुपमा उल्लेख गरिएको छ । रामचरित्रमानसमा भगवान राम १४ वर्षको वनवासको क्रममा रावणलाई मारेर गृहनगर अयोध्या फर्केपछि विजय उत्सवको रुपमा मनाएको दिन हो दिपावली मनाउने दिन । सो दिन अयोध्यामा मात्र होइन भगवान रामको ससुराली मिथिलाको राजधानी जनकपुरधाममा समेत विजयोत्सव मनाइएको थियो ।
भगवान रामको आगमनको उल्लासमा अयोध्यावासीले माटोको भाँडोमा घियुको दीयो बालेका थिए । कार्तिक महिनाको अमावस्याको अँध्यारो रातमा सो दियोहरुको प्रकाशले पूरै अयोध्या झिलीमिली भएको थियो । सोही दिनबाट अयोध्या सहित मिथिलाञ्चल क्षेत्रमा यो पर्व मनाउने परम्परा शुरु भएको मानिन्छ ।
दिपावली पर्व नेपाल, भारत, श्रीलंका, म्यानमार, मरीशस, गुयाना, त्रिनिदाद एण्ड टोबैगो, सूरीनाम, मलेशिया, सिंगापुर, फिजी, पाकिस्तान र अस्ट्रेलियामा समेत धूमधामका साथ मनाइन्छ ।
दिपावलीको सन्दर्भमा पद्म पुराण र स्कन्द पुराण नामक ग्रन्थमा उल्लेख रहेको छ । दीयोलाई स्कन्द पुराणमा सूर्यको हिस्सालाई प्रतिनिधित्व गर्ने प्रतिक मानिएको छ । सूर्य जो दिपोत्सवका दिन मिथिलाञ्चल सहित दीपावली मनाइने स्थानहरुमा धनकी देवी माता लक्ष्मीको पूजा अर्चना गर्ने गरिन्छ । प्रत्येक घर घर र व्यवसायिक प्रतिष्ठानमा लक्ष्मीपूजा गर्ने चलन छ ।
घर आँगन तथा व्यवसायिक प्रतिष्ठानको सरसफाई गरी निकै तामझाम सहितका सरसजावट गरेर माता लक्ष्मीको विधि विधानका साथ पूजापाठ गरिन्छ । माता लक्ष्मीलाई मनपर्ने केराको रुख र अशोकको पातले व्यवसायिक प्रतिष्ठान र घर आँगनको द्वारमा सजाउने गरिन्छ ।
माटोको दियो, सिसी बोतलबाट बनाइएका डिबिया रातभरि घरको मुख्यद्वार आँगनमा बाल्ने प्रचलनका साथै बाँसको कोपर, सन र कपडाबाट हुक्कालोली भाँज्ने परम्परा समेत रहेको छ ।
तर बढदै गएको आधुनिकताले अहिले बजारमा इलेक्ट्रोनिक झिलीमिली बती आउन थालेपछि माटोको दियो, सिसि बोतलको डिबिया बाल्ने र हुक्कालोली भाँज्ने परम्परा लोप हुँदै गएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया