अर्थ / बाणिज्य

स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण

इकागज |
जेठ ८, २०७९ आइतवार १८:४८ बजे

काठमाडौँ- विख्यात अर्थशास्त्री एवम् लेखक स्वर्णिम वाग्लेको पुस्तक अतृप्त अवसर सार्वजनिक गरिएको छ । काठमाडौँको बबरमहलमा आइतबार आयोजित एक विशेष समारोहमार्फत पुस्तक लोकार्पण गरिएको हो । नेपाली कांग्रेस नेता एवं सांसद् गगन थापा, राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झा र लेखक वाग्लेले पुस्तक लोकार्पण गरे ।

पुस्तक लोकार्पणसँगै पत्रकार अमित ढकालको सहजीकरणमा समसामयिक अर्थ–राजनीतिक विषयमा विमर्शसमेत गरियो । कार्यक्रममा नेता गगन थापाले भने वाग्लेको यो पुस्तक नेपालको अर्थ–सामाजिक विषयमा रुचि राख्नेहरूका लागि बढी उपयोगी रहेको बताए ।


‘पुस्तक सरकार सञ्चालनसँग गाँसिएका नीति, बजेट र आयोजनाबारेको टिप्पणीमा आधारित छ । नेपालको दीर्घकालीन विकास रोडम्यापमा अन्तर्निहित सोच, मान्यता र दर्शनबारे पुस्तकमा अभिव्यक्त विचारले हाम्रो समाज र आगामी सरकारहरूलाई दिशानिर्देश गर्नेछन्,’ उनले भने, ‘तथ्यसङ्गत तर्क र प्रक्षेपण त हुन्छन् नै, युवा पुस्ताले पर्न सक्ने भर, लिन सक्ने प्रेरणा र बोक्न सक्ने आशा उनका लेखहरूमा म पाउँछु ।’

शासकीय स्थिरता र विकासले समाउन सक्ने गतिका दृष्टिले २०७४ देखि २०७८ को अवधि नेपालको इतिहासमै उल्लेख्य थियो । यस कालखण्डको अर्थ–राजनीतिक रेकर्ड राख्ने उद्देश्यसहित वरिष्ठ अर्थशास्त्री वाग्लेद्वारा प्रकाशित २५ ओटा लेखको यो सँगालोको महत्त्व चिरस्थायी रहेको थापाको दाबी छ ।

योजना आयोगकी पूर्व सदस्य  झाले अल्पकालीन सरकारका कारण विकासमा हुने गरेका अवरोध चिर्न दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन् । अतृप्त अवसर पुस्तकले पनि यही किसिमको विचार अभिव्यक्त गरेको उनको भनाइ छ । ‘हामीकहाँ विशेषगरी मेरो सरकार भन्ने परिपाटी छ । छोटो अवधिमा आउने सरकारले भने जस्तो एकै पटक विकास गर्न सक्दैन,’ उनले भनिन्, ‘त्यसैले एउटा सिस्टम बसालेर राजनीतिक दलहरुलाई त्यसको फेसिलेटरका रुपमा अघि बढाउँदा बढी उपयोगी हुन सक्छ । विकास पनि राम्ररी हुन सक्छ ।’

नेपालमा उत्कृष्ट नीति बन्ने तर कार्यान्वयनको तहमा कच्चा भइदिँदा समस्या हुने गरेको उनको भनाइ छ । अब पाँच वर्ष होइन, २५ वर्षसम्मका योजना बनाएर नेपालको विकासमा अघि बढ्नुपर्ने र सबै राजनीतिक पार्टीहरुले त्यसमा प्रतिबद्धता जनाएर कार्यान्वयनको तहमा जानुपर्ने उनले बताइन् । जुन पार्टी आए पनि तिनले जनताकै हितमा काम गर्ने भएकाले एउटा नेतृत्वले उठाएका एजेन्डालाई अर्काे नेतृत्वले निरन्तरता दिनुपर्ने व्यवस्था उपयोगी हुने पनि उनको भनाइ छ ।    

नेपालको इतिहासमा जुद्धशमशेरपछि अपूर्व अवसरकासाथ केपी ओली नेतृत्वको सरकार आएको उल्लेख गर्दै लेखक वाग्लेले यस्तो अवस्थामा पनि सोचेअनुसार गर्न नसक्नु नेपालका लागि दुर्भाग्यपूर्ण रहेको धारणा राखे । तत्कालीन ओली नेतृत्वको सरकारका अवसर र उनका समयमा गर्न सकिने तर नगरिएका विषयलाई आफूले पुस्तकमा समेटेको लेखक वाग्लेको भनाइ छ । साथै नेपालको विकासका लागि अपनाउन सकिने विकासको मोडल र पद्धतिका विषयलाई पनि आफूले पुस्तकमा समेटेको वाग्लेले बताए । बोलीचालीको सरल एवम् सहज भाषामा आफूले लेख तयार गरेको र तिनलाई सर्वसाधारणले समेत बुझ्ने तहमा प्रस्तुत गर्ने जमर्काे गरेको उनले जानकारी दिए ।

सन् १९७४ मा गोरखाको बुङ्कोटमा जन्मिएका वाग्लेले लन्डन स्कुल अफ इकोनमिक्स (बेलायत)बाट अर्थशास्त्रमा स्नातक, अमेरिकाको हार्भर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । सन् २०२० देखि २०२२ सम्म न्युयोर्कस्थित राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को मुख्यालयमा एसिया–प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकार रहेका वाग्ले त्यसअघि तीन वर्ष राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवम् सदस्य थिए ।

२५ वर्षदेखि अन्तर्राष्ट्रिय विकासमा सक्रिय वाग्ले विश्व बैङ्क (वासिङटन) र युएनडिपीमा वरिष्ठ अर्थशास्त्री रहिसकेका छन् । उनी काठमाडौं विश्वविद्यालयको सिनेट सदस्य एवम् सर्वाङ्गीण विकास अध्ययन संस्था (आइआइडिएस)का अध्यक्ष छन् । सन् १९९० को एसएलसीमा नेपाल दोस्रो (बोर्ड सेकन्ड) भएका वाग्लेले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिनिधिमण्डलको मन्त्रीस्तरीय नेतृत्व गरेका छन् । अर्थशास्त्र, राजनीति र इतिहासमा प्राज्ञिक रूचि राख्ने वाग्लेले विश्वका ६० देश र नेपालका सबै क्षेत्रको भ्रमण गरेका छन् । 

पुस्तक फाइनप्रिन्ट बुक्सले प्रकाशनमा ल्याएको हो ।


Author

थप समाचार
x