अर्थ / बाणिज्य

मिडियाले कुरा बुझ्दैनन्, ‘चलखेल’ भनेकै परिवर्तन हो : उपाध्यक्ष पौडेल

इकागज |
जेठ ९, २०७९ सोमबार १३:४ बजे

काठमाडौँ– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सञ्चारमाध्यमले परिवर्तनलाई आत्मसात गर्न नसकेको बताएका छन् । ‘हाम्रा सञ्चारमाध्यम परिवर्तन पक्षधर भएनन्,’ नेपाल उद्योग परिसंघको ‘मेक इन नेपाल स्वदेशी’  समिटमा उनले भने, ‘मन्त्रीले केही परिवर्तन गर्न खोज्यो कि मिडियाले चलखेल भनेर लेख्न थालिहाल्छ ।’ 

नीतिमा परिवर्तनका लागि त्यसलाई चलाउनैपर्छ । ‘चलेखेल भनेकै चेन्ज (परिवर्तन) हो,’ पौडेलले भने, ‘सञ्चारमाध्यम परिवर्तन पक्षधर हुनुपर्छ । परिवर्तनलाई सकारात्मक रूपमा लिनुपर्छ ।’ 


उनले पार्टीभित्र संघर्ष गरेर, निर्वाचनमा भिडेर आएको मन्त्रीले सिंहदरबारमा मन्त्रीको कुर्सीमा पनि कयौं सवालमा संघर्ष गर्नुपर्ने (लड्नुपर्ने) अवस्था रहेको बताए । 

उनले हल्का म्यानुफ्याक्चरिङ क्षेत्रमा पनि विदेशी लगानी ल्याउनुपर्नेमा जोड दिए । ‘विदेशी लगानी ल्याउने भन्ने वित्तिकै यहाँ व्यापारीदेखि उद्योगीहरूबाट प्रतिरोध हुने गरेको छ,’ पौडेलले अगाडि भने, ‘व्यापारी शक्तिशाली हुन्छन् । यहाँ औषधी उद्योग खोल्ने भन्यौं भने औषधी व्यापारी (आयातकर्ता) प्रतिरोध गर्न थालिहाल्छन् ।’ 

उनले नेपाली उत्पादकको काम गर्ने ढंग नभएकाले पनि विदेशी लगानी आकर्षण गर्नैपर्नेमा जोड दिए । 

‘मैले अलिक पहिल्यै पाल्पामा एउटा सुन्तलाको जुस प्याकेजिङ उद्योग अवलोकन गरेको थिएँ, बिकज आइ लाइक इट  (किनकी मलाई सुन्तलाको जुस मन पनि पर्छ) तर त्यो त अलि परबाट हेर्दा युरिन (पिसाब) प्याकेजिङ गरेको जस्तो देखिन्थ्यो । ट्रोपिकानाको प्याकेजिङ हेर्नुस् अरु हेर्नुस्, इट लुक्स डिफरेन्ट (यो फरक देखिन्छ) ।'

विदेशी लगानीले प्याकेजिङको यस्ता मानक तथा ज्ञान, सीप र प्रविधिबारे सिकाउने भएकाले यस्ता स-साना क्षेत्रमा पनि विदेशी लगानी चाहिएको उनले बताए । 


Author

थप समाचार
x