अर्थ / बाणिज्य

पेट्रोलियम पदार्थ मूल्यवृद्धि विरुद्ध आन्दोलनको नेतृत्व गर्दै दुई नेतृ

इकागज |
जेठ ९, २०७९ सोमबार १४:४८ बजे

सुनिता बराल (बायाँ), पञ्चा सिंह (दायाँ)

काठमाडौँ– सरकारले एकोहोरो पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्न नेपाल आयल निगमलाई प्रोत्साहित गरेको भन्दै दुई महिला नेतृले त्यसविरुद्ध आन्दोलनको नेतृत्व गर्ने भएका छन् । अनेरास्ववियूकी अध्यक्ष सुनिता बराल र अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले छुट्टाछुट्टै आन्दोलनको नेतृत्व गर्ने घोषणा गरेका छन् । 

सिंहको मातृ पार्टी माओवादी केन्द्र अहिले सरकारमा छ । अर्थमन्त्री जनार्दन शर्माको समूह निकट भनेर चिनिएकी सिंहले सरकार विरुद्ध आन्दोलनको घोषणा गरेकी हुन् । 


त्यस्तै, एमालेको भ्रातृ संगठन अनेरास्ववियूकी अध्यक्ष सुनिता बरालले पनि चुहावट नियन्त्रण, करमा सहुलियतमार्फत् उपभोक्ता मूल्यमा सहुलियत दिनुपर्नेमा उल्टै एकोहोरो मूल्य वृद्धि गरेर जनतामाथि पीडा थपेको बताएकी छिन् । बरालकै मातृ पार्टी नेकपा एमालेका नेता समेत रहेका तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ महामारीमा इन्धनको अन्तर्राष्ट्रिय बजार मूल्य घटिरहेको र भारतमा भन्दा कम मूल्यका कारण उता तस्करी हुनसक्ने भन्दै बजेटमार्फत् पेट्रोल र डिजेलमा प्रतिलिटर १०–१० रुपैयाँ भन्सार महशुल बढाएका थिए । 

बरालले यो जनताप्रति अनुत्तरदायी सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध निर्णायक आन्दोलन गर्ने बताएकी छिन् । 

अहिले भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थ महँगो छ । भारत सरकारले भने हालै मात्र पेट्रोलमा ८ र डिजेलमा ६ रुपैयाँ (भारु) अन्तःशुल्क घटाएको छ । अहिले नेपालको सीमावर्ती भारतीय बजारमा पेट्रोलियमको मूल्य सस्तो भएको छ । 

नेपाल आयल निगमले वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचन यता दुई पटकमा १०–१० रुपैयाँ गरी पेट्रोल र डिजेलमा प्रतिलिटर २०–२० रुपैयाँ मूल्य बढाएको छ । त्यस्तै, खाना पकाउने ग्यासको मूल्य जेठ ८ मा २०० रुपैयाँ प्रतिसिलिण्डरले वृद्धि गरी १८०० रुपैयाँ पुर्‍याइएको छ । 

चालु आर्थिक वर्षमा मात्रै डिजेलको मूल्यमा ४६.५ प्रतिशत, पेट्रोलमा ४०.६ प्रतिशत र ग्यासमा २४ प्रतिशतले मूल्य बढेको छ । 

 


Author

थप समाचार
x