अर्थ / बाणिज्य

पूर्वडेपुटी गभर्नर चिन्तामणी बने राष्ट्र बैंकको सञ्चालक

इकागज |
जेठ ११, २०७९ बुधवार १३:२५ बजे

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गभर्नर बन्नका लागि चर्को लबिङ गरेका तत्कालीन डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई वर्तमान पाँच दलीय गठबन्धन सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालक बनाएको छ ।  सञ्चालकद्वय श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल समाप्त भएपछि सरकारले मंगलबार राष्ट्र बैंकको सञ्चालकमा शिवाकोटी र डा. शंकरप्रसाद आचार्यलाई नियुक्त गरेको हो । 

शिवाकोटी र केपी शर्मा ओलीको जन्मथलो तेह्रथुम जिल्लाको सल्ले आठराई गाउँपालिकामा पर्छ । ओली प्रधानमन्त्री हुँदा ६९औं जन्मदिन उनको जन्मघरमा मनाइएको थियो । शिवाकोटी पनि तत्कालीन प्रधानमन्त्रीको जन्मदिन मनाउन आठराई नै पुगेका थिए । 


त्यतिमात्र होइन, उनले तत्कालीन प्रधानमन्त्री ओलीबाट आफ्नो पुस्तक र गीति एल्बम पनि सार्वजनिक गराएका थिए । गभर्नर नियुक्ती गर्नुपर्ने छेको पारेर यी सबै पहल गर्दा पनि कोभिड–१९ महामारीकै कारण उत्पन्न हुनसक्ने आर्थिक संकट सामुन्नेमा देखेका ओली शिवाकोटीलाई गभर्नर बनाउनबाट भने हच्किए । यसमा उनले तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडासँग परामर्श गरी पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर बनाएका थिए । 

शिवाकोटी २०७७ फागुन १८ मा राष्ट्र बैंकको डेपुटी गभर्नरबाट सेवा निवृत्त भएका हुन् । उनी केपी शर्मा ओली  नै पहिलोपटक प्रधानमन्त्री हुँदा डेपुटी गभर्नर नियुक्त भएका थिए । 

गभर्नर बन्न नपाएपनि पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको कोटामा उनी केन्द्रीय बैंकको सञ्चालक बन्न सफल भएका हुन् । 


Author

थप समाचार
x