अर्थ / बाणिज्य

सेयर बजारमा ३२ अंकको उछाल

६ कम्पनीको सेयर मूल्यमा उच्‍च वृद्धि, कुन-कुन कम्पनीको बढ्यो ?

इकागज |
चैत १७, २०७७ मंगलबार १७:२१ बजे

काठमाडौं : मंगलबार सेयर बजार सूचक नेप्से परिसूचक ३२ दशमलव १५ अंकले बढेको छ । १ दशमलव २६ प्रतिशतले बढेर नेप्से २५७५ दशमलव ६६ बिन्दुमा पुगेको हो । निर्जीवन बीमा, जलविद्युत र लघुवित्त कम्पनीका सेयर मूल्य बढ्दा नेप्सेमा उछाल आएको हो ।

सबैभन्दा बढी जलविद्युत समूहमा उछाल आएको हो । ४ दशमलव १४ प्रतिशतले बढेको जलविद्युत समूह २४१५ दशमलव ४५ बिन्दुमा पुगेको छ । जलविद्युतमा पनि अपर तामाकोशी र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सबैभन्दा बढी वृद्धि भएको छ । अपर तामाकोशीको सेयर मूल्य कित्तामा ६७ रुपैयाँले बढेर ८६७ रुपैयाँ कायम राखिएको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्या ३२ रुपैयाँ बढेर ४३२ रुपैयाँ पुगेको छ ।


दोस्रोमा सबैभन्दा बढी होटल तथा पर्यटन समूहमा वृद्धि देखिएको छ । ३ दशमलव २५ प्रतिशतले बढेको यो समूह ३५८९ दशमलव ३३ बिन्दुमा पुगेको छ ।

त्यसपछि माइक्रोफाइनान्स समूहमा बढी उछाल आएको छ । २ दशमलव ५ प्रतिशतले बढेको यो समूह ४८२० दशमलव ४४ बिन्दुमा पुगेको छ । वोमी लघुवित्त सबैभन्दा उच्च दरमा बढेको छ । ९ दशमलव ९९ प्रतिशतले बढेको यो लघुवित्त ११३४ रुपैयाँमा पुगेको छ ।

समीट लघुवित्त पनि ९ दशमलव ५६ प्रतिशतले बढेर १६२७ रुपैयाँ पुगेको छ । स्वाभिमान लघुवित्त ९ दशमलव ४७ प्रतिशतले बढेर २४८५ रुपैयाँ कायम भएको छ ।

निर्जीवन बीमा समूहको परिसूचक ३ दशमलव ०८ प्रतिशतले बढेको छ । सानिमा जनरल इनस्योरेन्सको सेयर मूल्य ९ दशमलव ९७ प्रतिशतले बढेर ७०६ रुपैयाँ पुगेको छ । जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ६९७ रुपैयाँ पुगेको छ । अजोड इन्स्योरेन्सको सेयर मूल्य ९ दशमलव ९२ प्रतिशतले बढेर ८५३ रुपैयाँ कायम भएको छ ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा ६५ रुपैयाँको वृद्धि भएर ८२० रुपैयाँमा कारोबार भएको थियो । आइएमइ जनरल इन्स्योरेन्सको सेयर मूल्य ८५ रुपैयाँ बढेर ११६० रुपैयाँ छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ४८ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । यो सबैभन्दा बढी कारोबार हो । अत्यधिक कारोबार भएको निफ्राको सेयर मूल्य २ दशमलव ३१ प्रतिशतले घटेको हो । निर्धन उत्थान लघुवित्तको सेयर कारोबार ४३ करोड ६९ लाख रुपैयाँ छ ।  

मंगलबार कुल ६ अर्ब १८ करोड ५६ लाख ५८ हजार ४९८ रुपैयाँ सेयर कारोबार भएको छ । ६८ हजार ६४४ पटकको कारोबारमा १ करोड २२ लाख कित्ता सेयर किनबेच भएको छ । सेयर बजारको पुँजीकरण ३५ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।   


Author

थप समाचार
x