अर्थ / बाणिज्य

आर्थिक सर्वेक्षण २०७८–७९

कोभिडका कारण संकुचित भएको लगानी बढ्न थाल्यो

इकागज |
जेठ १४, २०७९ शनिबार २२:५६ बजे

काठमाडौँ– कोभिड–१९ महामारीका कारण संकुचित भएको लगानी पुनः बढ्न थालेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८–७९ मा अर्थतन्त्रमा लगानी अघिल्लो वर्षको तुलनामा १८.१ प्रतिशतले वृद्धि भई १८ खर्ब ७ अर्ब २९ करोड रुपैयाँ पुग्ने उल्लेख छ । यो मध्ये सरकारको लगानी (सार्वजनिक खर्च) १३ खर्ब ६२ अर्ब र बाँकी निजी लगानी हो । 

कोभिड–१९ महामारीका कारण आर्थिक वर्ष २०७६–७७ मा २५.९ प्रतिशतले संकुचन भएको लगानी २०७७–७८ मा भने २९.३ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षमा पनि लगानी विस्तार राम्रो देखिएको छ । यद्यपि सरकारको न्यून पुँजीगत खर्च र वित्तीय क्षेत्रमा तरलता अभावले लगानी वृृद्धिमा ब्रेक लागेको छ । 
चालु आर्थिक वर्षमा अर्थतन्त्रमा १८ खर्ब ७ अर्ब रुपैयाँ लगानी हुँदा आर्थिक वृद्धिदरमा पनि सुधार देखिएको छ । आर्थिक वृद्धिदर ५.८४ प्रतिशत रहने प्रक्षेपण रहेको छ । 


कोभिड–१९ को संक्रमण क्रमशः नियन्त्रण भई आर्थिक गतिविधि बढ्न थालेसँगै निजी क्षेत्रको लगानी पनि बढेको छ । अर्थतन्त्रमा बचत र लगानी बीचको खाडल फराकिलो हुँदै गएको छ । 

अर्थशास्त्री केशव आचार्य कोभिड–१९ पछि अर्थतन्त्रले माग गरे अनुसारको लगानी उपलब्ध हुन नसकेको बताउँछन् । सरकारको पुँजीगत खर्च पनि न्यून छ, बैंकहरूमा थप कर्जा दिने पैसाको अभाव छ । वित्तीय क्षेत्रमा तरलताको समस्या नभएको भए लगानी अझै बढ्ने देखिएको उनको भनाइ छ । 

नेपालमा बैंकिङ क्षेत्रको कर्जाले आयातलाई बल पु¥याउने र आयात अत्याधिक बढेको तुलनामा रेमिट्यान्स र पर्यटन लगायत अन्य स्रोतबाट प्राप्त हुने विदेशी मुद्रा वृद्धि नहुँदा अहिले नेपालको बाह्य क्षेत्र स्थायित्वमा चाप परेको छ । 

अघिल्लो वर्षको तुलनामा कुल गार्हस्थ बचत १.६ प्रतिशतले बढेर ९.३ प्रतिशत पुग्ने अनुमान छ । अर्थात्, नेपालीले कुल गार्हस्थ उत्पादनको ९०.७ प्रतिशत उपभोग गर्छन् । लगानी विस्तार भएको छ, तर आयात लगायतका व्यवस्थामा गरेको कडाइ र मुद्रास्फीति उच्च हुँदा उपभोग केही घटेकाले गार्हस्थ बचत बढ्न सम्भव भएको हो । 

गत आर्थिक वर्षमा बचत र लगानीको अन्तर २८.१ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा २८ प्रतिशत रहने प्रक्षेपण छ । अर्थात् लगानीको आवश्यकता अनुसार स्रोतको उपलब्धता कम भएर अन्तर फराकिलो हुन्छ । अघिल्लो वर्षको तुलनामा लगानीका लागि स्रोतको उपलब्धता बढ्न सकेको छैन । 

आर्थिक सर्वेक्षण अनुसार, आर्थिक वर्ष २०७३–७४ सम्म वचत र लगानीको उपलब्धतामा सन्तुलन कायम रहेपनि त्यसपछिका वर्षहरूमा भने वचत र लगानीको मागमा ठूलो खाडल रहँदै आएको छ । यो खाडल पछिल्ला वर्षहरूमा झन बढ्दै गएको छ ।

आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले आयातमुखी उपभोगका कारण अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलनमा देखिएको चापलाई दृष्टिगत गर्दै मुलुकमै उत्पादन बढाउने आत्मनिर्भर अर्थतन्त्र विकासतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन् । 


Author

थप समाचार
x