अर्थ / बाणिज्य

भोलिबाटै निजी क्षेत्रका सबै उडान स्थगन

नागरिक उड्डयन प्राधिकरणको 'दादागिरी'

इकागज |
असार ७, २०७९ मंगलबार १५:६ बजे

काठमाडौँ-  वायुसेवा सञ्चालक संघ, नेपालले संघसँग आबद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाईसेवा कम्पनीहरुले प्रदान गर्दै आएका आपत्कालीन उद्धारलगायत नियमित उडानहरु भोलिबाट असार ८ गतेबाट स्थगित गर्ने भएको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी असार १३ गतेदेखि लागू हुने गरी तोकिएको आधार (अपरेटिङ बेस) विमानस्थलमा रात्री बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने र हेलिकप्टर कम्पनीले पनि असार ७ गतेदेखि सोही नियम लागू हुने निर्णयको विरोधमा उडान बन्द गर्ने जनाएको हो ।


‘यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाका लागि स्वयं पर्यटन मन्त्रालय र प्राधिकरण जवाफदेही रहेको जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा छ । 
प्राधिकरणले गत आइतबार (असार ५ गते) विज्ञप्ति प्रकाशित गरी हवाइजहाज तथा हेलिकप्टर कम्पनीले रात्री बिसान जहाँ गरिएको हो, भोलिपल्टको आफ्नो पहिलो उडान पनि सोही ठाउँबाट गर्नुपर्ने फरमान जारी गरेको थियो । 

संघले उक्त निर्णय गर्दा सम्बन्धित हवाई सेवा कम्पनीहरुसँग छलफल नगरी भविष्यमा आइपर्ने समस्याहरूप्रति वेवास्ता गरिएको जनाएको छ । ‘एकपक्षीय रुपमा स्वेच्छाचारी निर्णयले वायुसेवा कम्पनीहरूबाट प्रदान गरिने सेवाहरुमा समस्या उत्पन्न हुन गएको तथा निजी क्षेत्रबाट गरिएको ठूलो लगानी डुब्ने अवस्था सिर्जना भएको स्पष्ट पार्न चाहन्छौं,’ संघले विज्ञप्तिमा भनेको छ । 

नेपालको भौगोलिक स्थिति, सीमित बजार, वित्तीय तथा मानव संशाधन, स्रोत साधनको असहज उपलब्धतालगायत चुनौतीहरूको सामना गर्दै अति दुर्गम क्षेत्रमा विभिन्न स्थानहरुमा विपत्, उद्धारलगायतका विविधि सेवाहरु अनवरत रुपमा प्रदान गर्न सम्पूर्ण विमान सेवा कम्पनीहरु प्रतिबद्ध रहेको संघले उल्लेख गरेको छ । 

संघले कोडिभले अर्थतन्त्र र पर्यटन क्षेत्र आक्रान्त हुँदा पनि राज्यबाट विशेष राहत केही उपलब्ध नहुँदा समेत राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको परिपालनाका सािथ यात्रुको सुरक्षालाई केन्द्रमा राखी निरन्तर सेवा प्रदान गरिरहेकोमा प्राधिकरणबाट अनपेक्षित रुपमा जारी प्रावधानले विभिन्न विमान सेवा कम्पनीहरुले प्रदान गर्दै आएको सेवाहरुमा अवरोध उत्पन्न हुन गएको जनाएको छ ।

क्षेत्रीय विमानस्थलहरुको बढोत्तरी तथा स्तरोन्नति भए पनि हवाइजहाज तथा हेलिकप्टर मर्मत सम्भार तथा चेकचाँज गर्ने प्राविधिक पक्षलगायत अन्य विविध भौतिक पूर्वाधारहरुको विकास भई नसकेकाले हालको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक रात्री विश्रम गरी उडान भर्न असमर्थ रहेको संघले जनाएको छ । 
संघले प्राधिकरणबाट जारी विज्ञप्तिबाट उत्पन्न समस्या निराकरणका लागि संघको पहलप्रति प्राधिकरणले गरेको वेवास्ताप्रति खेद प्रकट गरेको छ । 

उत्पन्न बाध्यात्मक परिस्थितिका कारण लिनु परेको यो कठोर कदमले सरकार, नागरिक तथा स्वदेशी तथा विदेशी यात्रु वर्गमा पर्न जाने समस्याप्रति संघले गम्भीर क्षमायाचना गरेको छ । ‘राज्य र नागरिकहरुसँग प्रत्यक्ष जोडिएका अति संवेदनशील विषयहरुमा उत्पन्न समस्याको तत्काल निराकरणका लागि यसै विज्ञप्तिमार्फत सम्मानीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छौं,’ संघले भनेको छ । 


संघले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या यथाशीघ्र समाधान गर्न पनि जोडदार माग गरेको छ । 
संघले राखेका मागहरुमा
१) विमानस्थल सेवा शुल्क नियमावली, २०७८ मा यात्रु सेवा शुल्क ल्याण्डिङ, पार्किङ, नेभिगेशन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्नुपर्ने,
२) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्यांगरलगायत भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने,
३) मिति २०७९÷३÷५ को नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रेस विज्ञप्तिमा उल्लिखित आधार (अपरेटिङ बेस) का प्रावधानहरु हवाई जहाज तथा हेलिकप्टर दुवै विमानसेवा कम्पनीहरुको हकमा खारेज गरी हालसम्म भइरहेकै व्यवस्थाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विमानस्थलहरुबाट सम्पूर्ण विमान सेवा कम्पनीहरुले विना अवरोध सेवा यथावत सञ्चालन गर्न पाउनुपर्ने,
४) नियामक निकाय र सेवा प्रदायक संस्था प्राधिकरण एकै निकायबाट भइरहेको कारण यूरोपियन एभियसन सेफ्टी एजेन्सीबाट नेपाललाई हवाई सुरक्षा सूचीमा राखिएबाटा देशको सम्पूर्ण पर्यटन क्षेत्र नै तहसनहस भइरहेकाले नेपाललाई यूरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि नेपाल सरकार तथा प्राधिकरणबाट शीघ्र पहल हुनुपर्ने,
५) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नियमानुसार स्वीकृत प्राप्त गरी विमान सेवा कम्पनीहरुले निर्माण गरी हवाई सेवाका लागि प्रयोग गरिरहेका स्थान तथा संरचनाहरूलाई यथावत् राखी प्रयोगका लागि निरन्तरता प्रदान गरिनुपर्ने ।


 


Author

थप समाचार
x