अर्थ / बाणिज्य

हेलम्बुमा बाढीपीडितको ऋण मिनाहा, क्षति पुगेका घर, जमिनका कर तिर्नुनपर्ने

इकागज |
असार ११, २०७९ शनिबार १९:७ बजे

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाभित्र बाढी क्षति पुर्या‍एका व्यवसायीहरुको ऋण मिनाहा हुने भएको छ । गएको वर्ष बाढीले क्षति गराएका घर तथा जमिनको करसमेत तिर्नुनपर्ने निर्णय हेलम्बु गाउँपालिकाले गरेको छ ।

‘हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण’ मूल नारा लिएर सार्वजनिक गरिएको आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रममा यस्ते नीति लिएको हो ।


गएको वर्षको असारमा हेलम्बुको शीर भ्रेमाथाङ खसेर मेलम्ची बाढी आएको थियो । सो बाढीले नदी करिडोरमा रहेका ८ वटा ट्राउट माछा फार्म बाढीले निलेको थियो। सो फार्मवालाहरुको ऋण मिनाहा तथा सहुलियत व्याजमा पुनः व्यवसायी गर्ने वातावरण बनाउन यस्तो नीति लिइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

यस्तै गाउँपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ । एक वडा एक एम्बुलेन्स, घरघरमै सुत्केरी आमाहरु जाँच, समय र हाम्रो माग–दिर्घरोगीहरुलाई निशुल्क औषधीद्वारा सम्मान, निशुल्क एम्बुलेन्स सेवा तथा थप प्रसुति पोषण खर्च जस्ता महत्वपूर्ण नीति तथा कार्यक्रमहरु गाउँपालिकाले समेटेको गाउँपालिकाका अध्यक्ष शेर्पाले जानकारी दिए ।

हेलम्बुले पर्यटन प्रवद्र्धनका लागिसमेत कार्यक्रम प्राथमिकतामा राखेको छ । लाङटाङ राष्ट्रिय निकुञ्जसमेत पर्ने यहाँ दुर्लभ रेडपाण्डा पाइन्छ । चीन्मा रहेको ग्रेटवालको झल्को दिने ग्रेटट्रेल अहिले चर्चामा छ । विभिन्न हिमाललाई नजिकबाट नियाल्न पाइने हेलम्बुमा जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले पर्यटनबाटै समृद्धि भित्र्याउन सकिने अध्यक्ष शेर्पाको भनाइ छ ।

यस्तै शिक्षा क्षेत्रलाई पनि गाउँपालिकाले विशेष प्राथमिकता दिएको छ । हेलम्बु नमूना विद्यालय, सम्बोटालिपी र संस्कृत लिपी, दलित विद्यार्थीका लागि निशुल्क डाक्टरी शिक्षा, विद्यालयमा दिवा खाजा कार्यक्रम, शिक्षक तथा कर्मचारी सुरक्षा कोष , कल्याणकारी कोष, अस्थायी अवकाश कोष, गाउँपालिका भित्र रहेका बालविकास सहजकर्ताको तलव वृद्धि,अध्यक्षसँग बालवालिका कार्यक्रम, विद्यालय मर्ज कार्यक्रम, शिक्षकहरुले आफ्नो बच्चाहरु निजी विद्यालयमा पठनपाठन गराउन नपाउने जस्ता कार्यक्रमहरु गाउँपालिकाले ल्याएको छ ।
 


Author

थप समाचार
x