अर्थ / बाणिज्य

पर्यटन प्रवर्द्धनमा नेपाल-कतार सहकार्य होला त ?

इकागज |
चैत २४, २०७७ मगलवार १९:४ बजे

काठमाडौँ: नेपाल र कतारबीच पर्यटन क्षेत्रको विकासका लागि सहकार्य हुने भएको छ । कोभिड-१९ महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन 'विन-विन' सहकार्य गर्न कतार तयार देखिएको  हो । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैलले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्‍जय रेग्मीलाई भेट्दै सहकार्यको अपरिहार्यता व्यक्त गरेका हुन् ।

उनले भेटवार्तामा दुवै मुलुकबीच पर्यटन प्रर्वद्धन उच्चस्तरीय भ्रमणमा पर्यटन बोर्डको सहकार्यलगायतको विषयमा छलफल गरेका हुन् । नेपाल र कतार मिलेर पर्यटनको क्षेत्रमा अधिक काम गर्न सक्ने धारणा पनि राजदूतले राखेका थिए । प्रकृतिको अनुपम उपहारको रूपमा नेपाल रहेको भन्दै यसमा केही पूर्वाधार विकास गर्न सके पर्यटकको कुनै समस्या नहुने बताए । नेपालको प्रमुख आयश्रोत नै पर्यटन क्षेत्र बन्‍न सक्ने तर त्यसका लागि नेपालले केही पूर्वाधार र केही सोचमा पनि परिवर्तन गर्नुपर्ने बताएका थिए । 


‘नेपालको सौन्दर्यताले म सधै लोभिएको छु । यातायातको उचित प्रबन्ध छैन, भाडा निकै महँगो छ । जसको कारण चाहेर पनि पर्यटक आउन सकेका छैनन्,’ उनले रेग्मीसँगको छलफलमा भने, ‘यस्ता विषयमा ध्यान दिनुपर्छ । छुट्टीमा आउने भनेको रमाइलो गर्न आफू फ्रेस हुन हो त्यो प्रकारको वातावरण हुनुपर्छ ।’ यसका लागि नेपाल सरकारले नयाँ ढंगको सोच विकास गर्न आवश्यक रहेको उनले बताए । नेपालको पर्यटन प्रवर्द्धनका लागि कतार सरकार सहयोग गर्न सधैँ तत्पर रहेको उनले बताए ।

नेपाल र कतारबीच मात्र होइन खाडीका अन्य मुलुकहरूसँग पनि सिधा हवाइ सम्पर्क रहेकाले पर्यटनको क्षेत्रका सहकार्य सहज रहेको भन्दै खाडी क्षेत्रको पर्यटकलाई नेपाल भित्र्याउन नेपाल सरकारले पनि तयारी गरिरहेको बताए । कतारी पर्यटकका लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको बोर्डले जानकारी दिएको छ । 


Author

थप समाचार
x