अर्थ / बाणिज्य

मेलम्ची पानी वितरणका लागि संरचना तयार

विकास थापा |
कात्तिक २५, २०७७ मंगलबार ६:५९ बजे

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको पहिलो चरण पूरा भएपछि त्यसबाट काठमाडौं आउने पानी वितरणका लागि मेलम्ची खानेपानीको १७ करोड लिटर पानी आपूर्ति गर्न सकिने गरी थोक वितरण प्रणाली र वितरण सञ्जाल तयार भएको छ । काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) ले एक हजार एक सय २५ किलोमिटर वितरण सञ्जाल सुधार गरिसकेको छ भने ७६ किलोमिटर थोक वितरण प्रणाली (बीडीएस) सम्पन्न गरेको छ ।

पीआईडी प्रमुख कमलराज श्रेष्ठका अनुसार हालसम्म भोलि मेलम्ची आइसकेपछि परीक्षण (टेस्टिङ-कमिसनिङ) गर्दा चुहावट देखेर मर्मत गर्नु पर्दाका अवस्थामा बाहेक अब मेलम्ची उपआयोजनाले दोहोर्‍याएर पाइप विस्तार कार्य गर्ने छैन । मेलम्चीको दोस्रो चरण (याङ्गी र लार्के) लाई पनि जोडेपछि थप ३४ करोड लिटर पानी सुन्दरीजलमा आउने भएपछि पुनः एकपटक पाइपका लागि सडक खन्नुपर्ने श्रेष्ठले बताए । ‘बागमती पुलदेखि चाबहिल चोकसम्म एकपटक खानेपानी प्रसारण पाइप खन्नुपर्ने हुन्छ, त्यो भनेको दुई तीन वर्षपछिको कुरा हो,’ उनले भने, ‘नयाँ एउटा प्रसारण पाइप र मर्मतबाहेक अब मेलम्चीले पुनः सडक खन्ने छैन ।’


११२५ किलोमिटर वितरण सञ्जाल सुधार

निर्देशनालयले हालको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) वितरण क्षेत्रमा खानेपानीको पूर्वाधार सुधार र विस्तार गर्ने कार्य तीव्र रुपमा अघि बढारहेको पनि श्रेष्ठले जानकारी दिए । ‘मेलम्चीको पहिलो चरणमा आउने पानी (दैनिक १७ करोड लिटर) वितरण गर्न पुग्ने गरी पूर्वाधार तयार भएको छ,’ श्रेष्ठले इकागजसँग भने, ‘मेलम्चीका अरु दुई चरण (याङ्ग्री र लार्के समेत गरी कूल दैनिक ५१ करोड लिटर) का पूर्वाधार क्रमशः निर्माण गर्दै जाने लक्ष्य छ ।’ पहिलो चरणको दैनिक १७ करोड लिटर खानेपानी उपत्यकामा ल्याउन तयारीसँगै २०६९ सालदेखि पीआइडी कार्यान्वयनमा आएको हो । श्रेष्ठका अनुसार पूर्ण मेलम्चीपछि करिब डेढ दशकभित्र ५१ करोड लिटर पानी वितरणको सञ्जाल तयार भइसक्नेछ ।

एसियाली विकास बैंकको ऋणमा थालिएको थोक तथा वितरण प्रणाली सञ्जाल सुधार अन्तर्गत हालसम्म १९ करोड ८७ लाख अमेरिकी डलर खर्च भइसकेको श्रेष्ठले जानकारी दिए । एडीबीले उपत्यकाको खानेपानी सुधार आयोजनाका लागि २६ करोड ५० लाख अमेरिकी डलर ऋण दिएको छ ।

७६ किलोमिटर थोक वितरण प्रणाली सम्पन्न

निर्देशनालयका अनुसार वितरण प्रणाली अन्तर्गत हालसम्म ७४ हजार पाँच सय घन मिटरको १० वटा पानी  ट्यांकी निर्माण भइसकेका छन् । यसमध्ये आरुबारी (आठ हजार पाँच सय घन मिटर), महांकाल चौर (आठहजार पाँच सय), बाँसबारी (नौ हजार पाँच सय), पानीपोखरी (सात हजार पाँच सय), खुमलटार २ वटा, १९ हजार घन मिटर), बालाजु (सात हजार), कीर्तिपुर (६ हजार), टिंगेनी (तीन हजार) र कटुञ्जे (६ हजार घनमिटर) निर्माण भएका छन् । यसमध्ये कटुञ्जेबाहेक नौवटाको निर्माण तथा परीक्षण नै सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ ।

'यही हिउँदमा मेलम्चीको पानी'

यसबाहेक भल्ब च्याम्बर, एयर भल्ब च्याम्बर, बास आउट, वितरण च्याम्बर आदि गरी ९८ प्रतिशत पूरा भएको निर्देशनाले जनाएको छ । सम्पन्न भएकामध्ये एक लाख १२ हजार दुई सय ५५ वटा घरायसी धारा जाडन भइसकेका छन् । धारा जडानमध्ये ७५ प्रतिशत पूरा भएको र मिटर जडान गर्न बाँकी रहेको श्रेष्ठले बताए ।

वितरण सञ्जाल तयार भएका ठाउँमा हाल ट्यांकरबाट पानी भरेर सम्भव हुने स्थानहरुमा चुहावट परीक्षण तथा अल्पकालीन परीक्षण भइरहेको उनले जानकारी दिए । त्यसबाहेक तेस्रो पक्ष (सडक, महानगर र विद्युत् प्राधिकरण) बाट क्षति भएका पाइपलाइन परीक्षण तथा पुनःस्थापना, भल्ब चेम्बर सmाइ तथा लेबल उठाउने कार्य भइरहेको पनि श्रेष्ठले बताए ।

याङ्ग्री र लार्के नआउञ्जेलसम्म अब सडक नखन्ने

मेलम्ची खानेपानी आयोजनाले यही हिउँदयाममा मेलम्चीको पानी उपत्यका आइसक्ने जनाइसकेको छ । मेलम्चीको पानी आउनासाथ हाल बनिसकेका थोक वितरण प्रणाली र पानी पोखरीहरुको निर्मलीकरण गरिने र यसका लागि बढीमा दुई साता लाग्ने श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार केयूकेएलको मौजुदा खानेपानी वितरण प्रणालीको उपयोग गरी मुख्य मुख्य क्षेत्रमा खानेपानी वितरण पनि मेलम्ची आएलगत्तै हुनेछ । यसका लागि आवश्यक संयन्त्र र जडान (इन्टरकनेक्सन) गरिसकिएको उनले बताए । हाल केयूकेएलले मौजुदा प्रणालीबाट महांकाल, पानीपोखरी, बाँसबारी, बालाजु, अनामनगर, मीन भवन, पानी पोखरीमार्पmत सेवा लिइरहेका क्षेत्रहरुमा निर्देशनालयले सेवा पुर्‍याउन लागेको हो ।

अब पाइप खन्नु नपर्ने

‘ललितपुर क्षेत्रका लागि भने नयाँ बनेको खुमलटार पानी पोखरीहरुबाट पुरानै वितरण प्रणालीमार्पmत चक्रपथभित्र पर्नैे क्षेत्रमा वितरण गर्न आवश्यक पर्ने जडान सकिएको र संयन्त्रहरु तयारी अवस्थामा छन्,’ श्रेष्ठले भने, ‘नयाँ वितरण प्रणालीको क्रमशः परीक्षण सम्पन्न गर्दै पुरानो प्रणाली बन्दै गर्दै लैजानेछौं ।’

पुरानो वितरण प्रणालीबाट नयाँ प्रणालीमा हस्तान्तरण गर्ने र परीक्षण गर्ने कार्य ७६ देखि १० महिनामा सम्पन्न हुने निर्देशनालयको अपेक्षा छ । ‘मेलम्ची हिमनदी भएकाले यसको पानी स्वाद लिन सबैले पाउने गरी हामी काम गर्दैछौं,’ श्रेष्ठको भनाइ थियो ।


Author

विकास थापा

जलविद्युत तथा राजनीतिक विषयमा कलम चलाउने थापा प्रधान सम्पादक हुन्।


थप समाचार
x