अर्थ / बाणिज्य

रुपन्देहीमा एक सातामा पाँच ट्रक कपडा बरामद, प्रहरी छाड्छ-भन्सारले समात्छ

इकागज |
साउन ८, २०७९ आइतबार १५:३ बजे

भैरहवा- रुपन्देहीमा पछिल्लाे एक सातामा पाँच ट्रक अवैध कपडा बरामद भएकाे छ । बरामद कपडा सुरक्षाका विभिन्न पाेष्ट पास भएका थिए । सुरक्षा पाेष्ट पास भएर कपडा भित्रनुलाई सुरक्षा निकायकै मिलेमताे त छैन भनेर आशंका गरिएकाे छ । 

बिहीबार राति सवा १ बजे मायादेवी गाउँपालिका बनगाईबाट लु १ ज ४४६२ नम्बरको बलेरो पिकअपमा कपडासहित एक जनालाई भैरहवा भन्सार कार्यालयको गस्ती टोलीले नियन्त्रणमा लियो । चोरी पैठारी गरी ल्याइएको करिब १० लाख बराबरको कपडासहित पिकअप बरामद भयो ।


मंगलबार बिहान रुपन्देहीको मायादेवी–६ हर्दीडाली सीमाबाट कपडाले भरिएको तीन वटा पिकअप गाडी तस्करीको सामानसहित बरामद भयो । नेपाल आउन लागेको पिकअपसहितको कपडा भारतीय प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेकाे हाे । गाडीसहित तीन जना चालकलाई नियन्त्रणमा लिएर सामान भारतीय प्रहरीले भारतीय कस्टम पठायो । 

यस्तै, आइतबर बुटवलबाट भन्सारकै गस्ती टोलीले नाै लाख ७२ हजार तीन सय २० रुपैयाँ बराबरको कपडासहित पिकअप बरामद गर्यो । सीमा क्षेत्रबाटै नेपाल प्रहरी र सशस्त्र प्रहरीको चेकपोस्ट हुँदै बुटवल पुगेको ती कपडा लु२च९९९७ नम्बरको पिकअपमा भरिएको अवस्थामा एक गोदाम खाली गरिरहेको बखत बरामद भयो ।

यी तीन घटना एक साता भित्रैका हुन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शून्य छ भनिरहदा एक सातामा पाँच वटा पिकअपले भरिएका कपडा बरामद हुनु तस्करीमा मिलोमतो माैलाइरहेकाे पुष्टि भएकाे छ । यद्यपि,  नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि केही मात्रामा तस्करीको सामान बरामद गरेका छन् । 

रुपन्देहीमा नेपाल प्रहरीको प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षकको कमाण्डमा १३ वटा इलाका प्रहरी कार्यालय, सई असईको कमाण्डमा ४६ वटा प्रहरी चौकी छन्। जिल्ला प्रहरी कार्यालय प्रहरी उपरीक्षकको कमाण्डमा ७८ वटा प्रहरी युनिटमा १२ सयभन्दा बढी प्रहरी छन् । ठाँउठाँउमा अस्थायी चेकपोस्ट र मोबाइल टोली पनि उत्तिकै मात्रामा छन् । तस्करी रोक्न र सूचना लिन जिल्लाले सादा पोशाकका प्रहरी पनि खटाएको छ । अन्य चौकी तथा इप्रकाले पनि आवश्यकताअनुसार सादा पोशाकका प्रहरी खटाएका छन् । 

यस्तै, सीमा सुरक्षा र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बलको भूमिका पनि छ । भारतसँग ५९ दशमलव ७ किमी जोडिएको सिमानासहित समग्र जिल्लाको सुरक्षाका लागि सशस्त्र प्रहरी उपरीक्षकको कमाण्डमा सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर हेडक्वटार रुपन्देही छ । सीमाको सुरक्षा तथा अन्य गरी अहिले जिल्लामा १५ वटा सशस्त्र प्रहरी बलको युनिट छन् । एक वटा गण, ६ बाेर्डर आउटपोष्ट र गुल्म, सुरक्षा बेस, जिल्ला कमाण्ड पोस्ट सुख्खा बन्दरगाह र आइसिपी क्याम्प नौडिहवा लगायतका सशस्त्र प्रहरीकै युनिट रहेको छ । यसका अलावा राष्ट्रिय अनुसन्धान, संघीय प्रहरी कार्यालय लगायतका अन्य सुरक्षा संयन्त्र पनि छन् ।

यतिका सुरक्षा संयन्त्र हुँदा पनि गाडीसहितको अवैध समान नसमातिनु, सीमाबाट भारतीय प्रहरी र भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरीमाथि शंका गर्न मिल्ने अवस्था हाे । 

बिहीबार भन्सारको गस्ती टोलीले बरामद गरेको सामान बेथरी इलाका प्रहरी कार्यालय नजिकै हो । बरामद सामान बेथरी प्रहरीको सहयोगमा बनगाईसम्म पुर्‍याएको चालकले बयान दिएका छन् । अहिले कार्यालयका इन्चार्ज रमेश गुरुङ छन् उनलाई भने यस घटनाबारे जानकारी नै नभएको बताए । 

कपडा मात्रै होइन पछिल्लो समय दैनिक उपभोग्य बस्तु, हार्डवेयर, खाद्यन्न, मेसिनरी तथा इलेक्ट्रीक सामानहरु दुर्गौलिया, कदमहवा, बगौली, हरिनगढ, बंशी डिहवा, करौता, ठोठरी, तरैनी, खैराघाट, कञ्चनपुर, दुईमोहना, बनगाई नाका त्यस्तै सेमरपानी, भुजौली, पिपरहिया, केवटिलया, शंकरपुर, मेउडिहवा, नौडिहवा, बगहा, मैनिहवा, फरेनिया लगायतका नाकाबाट  उत्तिकै मात्रामा नेपाल भित्री रहेको छ । 

सीमा नाकाबाट भैरहवासम्म आउँदा सीमामै इलाका प्रहरी कार्यालय बेलहिया छ । त्यसपछि भैरहवा भन्सार कार्यालय मातहतमा भन्सार अगाडि नै करिब ६ देखि ८ जना सम्मको कार्यालय सहायक सँगसँगै नाै जना सशस्त्र प्रहरीको सुरक्षा हुन्छ ।

अलि पर बाइपास नजिक इलाका प्रहरी कार्यालय बेलहियाको कमाण्डमा ३ देखि ४ जना नेपाल प्रहरी र ट्राफिक प्रहरी तम्तयार अवस्थामा रहन्छन् । यसबीच कहिले काही छड्के जाँच पनि हुन्छ । बाइपासपछि फेरि डण्डा पुलनजिकै सशस्त्र प्रहरीको चेक पोस्ट छ, जुन २४ घण्टै तैनाथ हुन्छ । यसरी तहतहको सुरक्षाका बाबजुद पनि अन्य निकायले तस्करीका सामान समात्ने गरेका छन् ।

अहिले खुला सीमाको फाइदा उठाउँदै सीमा क्षेत्रमा तस्करी बढेपछि भन्सारले गस्तीलाई बढाएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी तीर्थराज पासवानले जानकारी दिए । चोरी तस्करी नियन्त्रण गर्न भन्सार कार्यालय कटिबद्ध छ, भारतबाट हुने अवैध चोरीतस्करीले राज्यले करोडौं राजस्व गुमाइरहेको सूचना अधिकारी पासवानले भने ।


Author

थप समाचार
x