अर्थ / बाणिज्य

लोभले डुबायो गौतमश्री सहकारीका बचतकर्तालाई

कमल धिताल |
साउन १७, २०७९ मंगलबार १६:४६ बजे

काठमाडौँ – कालीमाटीमा होटेल व्यवसाय गर्दै आएका तिर्थराज महर्जनले कुलेश्वर काठमाडौँमा रहेको गौतमश्री बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रवीन्द्र बिष्ट लगायत सञ्‍चालक व्यवस्थापक फरार भएको भन्ने समाचार पत्रिकामा देखे।

पहिला त विश्वास नै गर्न सकेनन् तत्काल उनी सहकारीको कार्यालय कुलेश्वर पुगे। गौतमश्रीको कार्यालयमा उनले भिड देखे त्यहाँ उनीजस्ता हजारौँ बचतकर्ताहरू सो सहकारीको कार्यालय अगाडि सहकारी खोल्ने र पैसा पाउने भन्दै आशामा बस्दै थिए । ‘कारोबार गरेको १३ वर्षसम्म कुनै पनि समस्या नरहेको हुँदा म त समाचार नै गलत होला भन्ने ठानेर आएको थिएँ तर यहाँ सबै जना जम्मा भएको र अब पैसा डुब्ने भयो भन्ने कुराले रातभर निदाउन सकेको छैन’ महर्जनले भने ।


त्यस्तै आफ्नो जापान जान लागेको छोरालाई जापान जान लाग्ने खर्च भनेर छुट्याइएको २० लाख रकम गौतमश्रीमा राखेकी मीना गुरुङले पनि सहकारीका सञ्‍चालक अचानक फरार भएको खबर पाएपछि दैनिक सो सहकारीको कार्यालय अगाडि आएर बस्छिन् । ‘घरमा बस्यो भने पीरले बस्न सकिन्न बरू यहाँ आएर अरुको कुरा सुन्दा मन हल्का हुन्छ’ मीना भन्छिन् ।

मीनालाई अझै पनि सहकारीका आएर साधारण रूपमा कार्यालय सञ्चालन मात्र गर्दै पनि आफू बरू केही समय रकम नलिने बताउँछिन् । मीनालाई सहकारीका सञ्‍चालक अझै आउँछन् र कार्यालय सञ्चालन गर्छन् भन्ने आशा छ। उनी भन्छिन् ‘मलाई विश्वासै छैन् अझै पनि कतिले आज ३ बजे कार्यालय खुल्छ र भन्ने हल्ला सुनेको छु हेरौँ आउँछन् कि ।’

यस्तै १५ वर्षदेखि गौतमश्रीमा निरन्तर कारोबार गर्दै आएका राजन भट्टराई आफ्नो फिक्स्ड डिपोजिट गरेको ६० लाख रकम डुब्ने भो भन्ने चिन्ताले उजुरी गर्दा सहकारी विभागमा पुगे। विभागमा थकित र चिन्तित मुद्रामा रहेका भट्टराईलाई अब सो रकम कसरी उठ्ने हो भन्ने कुराले रातभर निदाउन दिएको छैन् ।  ‘अरूले भन्दा केही पैसा बढी दिन्छ भनेर आँखा चिम्लेर विश्वास गर्दा नराम्रोसँग फसे उनले भने ’

हालसम्म १.५ अर्ब भन्दाबढी दाबी

हालसम्म करिब १३ सय बचतकर्ताहरूले सहकारी विभागमा गएर आफ्नो उजुरी दर्ता गराइ सकेका छन् । दर्ता गराएका उजुरीमा करिव १ अर्ब ५० करोडभन्दा बढी रूपैयाँ दाबी गरेका छन् । विभागमा दर्ता भएका उजुरीको रकममा अधिकांश २ लाख भन्दा माथिको दाबी गरिएको छ। विभागका प्रवक्ता टोलराज उपाध्याय विभागले कही दिनमा आएको उजुरीमा अनुसार सो संस्थाका सञ्‍चालक सम्पर्कमा आए सञ्‍चालकलाई नआए सेयर धनीहरूलाई राखेर विभागले प्रक्रिया अगाडि बढाउने उपाध्याय बताउँछन्।

बढ्ता विश्वासले डुबायो

झन्डै २२ वर्षदेखि सञ्चालनमा रहेको सहकारी हो गौतमश्री। यो कुलेश्वर आसापासका बचतकर्ताहरूको अत्याधिक विश्वास गरिएको सहकारी समेत हो। सहकारीका सञ्‍चालक हुन् काभ्रे स्थायी ठेगाना भएका रामबहादुर गौतम। गौतम लामो समयदेखि सोही क्षेत्रको व्यक्तिहरूसँग अत्याधिक घुलमिल हुने र मिलनसार स्वभावका व्यक्ति हुन् । समुदायस्तरमा मिलेर केही व्यक्तिहरू मिलेर २०५६ सालमा गौतमश्री सहकारी स्थापना गरे थिए गौतमले ।

गौतमश्रीले बिस्तारै सो क्षेत्रका मानिसहरूको मन जित्दै गयो। बैंक तथा अन्य वित्तिय संस्थाभन्दा राम्रो व्याज दिने भएपछि धेरै बचतकर्ताहरू यस संस्थाप्रति आकर्षित भए। यसरी हजारौँ बचतकर्ताहरू यसको उच्च व्याजदरमा लोभिए र अन्य वित्तिय संस्थामा जम्मा गरेकाे रकम पनि गौतमश्रीमा ल्याएर जम्मा गर्न थाले। यतिसम्म कि घरमा श्रीमानले समेत थाहा नदिइकन उच्च व्याजको लोभमा परेर बचत गर्ने महिलाहरू पनि यस सहकारीको लोभमा परे ।

रकम झिक्न खोज्दा व्याजदर बढाइदिने

गौतमश्रीमा धेरै रकम जम्मा हुनुमा ब्याजदरको लोभ अर्को कारण रहेको देखिन्छ। संस्था बन्द हुनुअघि खातामा रहेको ५६ लाख रकम पटक पटक झिक्न खोज्दा यसका सञ्‍चालकले बचतकर्तालाई व्याजदर बढाइदिने आश्वासन दिने गरेका थिए। किर्तिपुरका रामबहादुर महर्जनले गौतमश्रीमा रहेको रकम अन्यत्र सार्न खोजे तर गौतमश्रीले उनलाई दिइरहेको १४ प्रतिशत व्याजमा १ प्रतिशत बढाइदिने आश्वसन सहित फर्काइदियो। व्याजदर थप भएपछि उनले आफ्नो बैंकबाट ४ लाख रूपैयाँ थप गरि १ वर्षको लागि फिक्स्ड डिपोजिट गरे। महर्जनजस्ता धेरैले गौतमश्रीको यहीँ व्याजको लोभमा अधिकांस बचतकर्ता फसेका छन्।

सहकारी विभागमा जाने अधिकांस बचतकर्ताहरूले सो सहकारीमा फिक्स्ड डिपोजिट गरेको उजुरी दर्ता गराउने गरेका छन् । सहकारीमा सो संस्थाका सेयर धनीहरूले मात्र बचत गर्न पाउने अधिकारलाई तिलाञ्जली दिँदै सेयर सदस्य नभएकाहरूले समेत बचत गर्ने गरेका थिए।

के गर्दैछ सहकारी विभाग

गौतमश्रीका सञ्‍चालक फरार भएको सूचना पाएपछि सहकारी विभागले सो सहकारीका सञ्‍चालक तथा सेयर धनीहरूको सम्पती रोक्काका लागि भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय पत्राचार गरेको विभागका प्रवक्ता उपाध्याय बताउँछन् । हाल बचतकर्ताको उजुरी दर्ता गर्ने क्रममा रहेको र केही दिनमा विभाले सञ्‍चालक तथा संस्थाको सम्पती यकिन गरि आफ्नो कारबाही अगाडि बढाउने उपाध्याय बताउँछन् । हालसम्म सञ्‍चालकहरू सम्पर्कमा नआएको प्रहरीलाई चिठी पठाएर प्रक्राउको लागि अनुरोध गरेको उपाध्याय बताउँछन् ।

 

 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x