अर्थ / बाणिज्य

दार्चुलामा बन्द रहेको खाद्यको शाखा उद्घाटन

इकागज |
साउन २१, २०७९ शनिबार १६:४० बजे

दार्चुला - उधोग बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आज उद्घाटन गरेका छन् । लामो समय सञ्‍चालनमा रही विभिन्न कारणले बन्द रहेका यी उद्योग पुनः सञ्‍चालन पश्चात बडुले उद्घाटन गरेका हुन् ।

आज गृह जिल्ला दार्चुला सदरमुकाम खलंगामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालय उद्घाटन समारोहमा बोल्दै उद्योग मन्त्री बडुले विगतमा सरकारले सञ्‍चालन गरेका तथा हाल बन्द अवस्थामा रहेका उद्योग कलकारखानाहरु पुनः सञ्‍चालनमा ल्याइ व्यापार घाटा घटाउनु पर्नेमा जोड दिए ।


 'उद्योग सञ्‍चालन सम्बन्धि कार्यविधि तयार गरी संसद्मा लैजान्छौ, संसदबाट कार्यविधि पास हुने वित्तिकै लागू गरी बन्द अवस्थामा रहेका उद्योगहरु सञ्‍चालन गर्छौ मन्त्रि बडूले भने।' 'उद्योगहरु सञ्‍चालन भए पश्चात सयौं बेरोजगार युवाहरुले रोजगारी पाउने तथा विदेशीन पर्ने बाध्यताको अन्त्य  हुनेछ ।'

 नेपालबाट हाल छड, सिमेन्ट र विद्युत अन्य देशहरुमा निर्यात भइरहेको भन्दै उनले नीजि क्षेत्रलाई प्रोत्साहन गरि उत्पादन बढाउन सरकार तयार रहेको बताए । 

नीजि क्षेत्रका उद्योग र उत्पादन कम्पनीहरुलाई सरकारले ८ प्रतिशत अनुदान दिइसकेको जानकारी गराउँदै मन्त्री बडूले उत्पादन बढाउन र निर्यात बढाउन नीजि क्षेत्रका उद्योगीहरुलाई १५ प्रतिशत सम्म अनुदान दिने सरकारको तयारी रहेको बताए।

 २०६३ सालमा विस्थापन भएको तत्कालीन खाद्य संस्थानको जिल्ला कार्यालय १९ वर्षपछि पुनर्स्थापना गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले जनाएको छ । कम्पनीका अनुसार खाद्य कार्यालय जिल्लामा रहने र जिल्लाका १२ ठाउँबाट खाद्यान्न वितरण गरिने छ ।


Author

थप समाचार
x