अर्थ / बाणिज्य

निजी क्षेत्रलाई सम्मानसँगै सुदृढ पनि बनाउने हो : प्रधानमन्त्री

'राजनीति परिवक्व नहुँदासम्म समस्या आइरहन्छन्, जनताले सही र गलत छुट्याउनुपर्छ'

इकागज |
चैत २८, २०७७ शनिबार १४:११ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग व्यवसायका लागि शान्तिपूर्ण र भयरहित वातावरण निर्माण भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मुलुक हिंसात्मक द्वन्द्वको कालखण्ड र कठिन परिस्थितिबाट अगाडि बढेको बताए । उनले उद्यमी तथा व्यवसायीहरूलाई दोहन गर्ने हिंसात्मक द्वन्द्वको अन्त्य गरेर शान्तिपूर्ण कालखण्डमा प्रवेश गरेको बताए । 

‘अन्तिम किस्तामा सशस्त्र संघर्ष गरिरहेको समूहलाई पनि हिंसा परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आएको छ । लामो समयको हाम्रो प्रयासपछि उद्योगका लागि चाहिने शान्तिपूर्ण वातावरण तयार भएको छ,’ प्रधानमन्त्रीले भने, ‘अब हामी शान्तिपूर्ण र भयरहित वातावरणमा आफ्नो उद्यम व्यवसाय अघि बढाउन सक्छौं । कठिन कालखण्डबबाट गुज्रिएर हामी अघि बढ्यौं ।’ 


प्रधानमन्त्रीले उद्योगी, व्यवसायीतर्फ इशारा गर्दै भने, ‘तपाईंहरूमध्ये नै कति अपहरणमा परेकाहरू हुनुहोला, अकारण तर्साइएका, कञ्चटमा बन्दूक तेर्स्याइएका हुनुहुन्छ । कतिपय थैलाभरी पैसा बुझाएकाहरू हुनुहोला । तर अब त्यो वातावरण अन्त्य भयो र हामी शान्तिपूर्ण युगमा प्रवेश गरेका छौं ।’  प्रधानमन्त्री ओलीले सरकार, मजदूर युनियन र व्यवसायीहरू एकअर्कामा संघर्षरत पक्ष नभएर आपसमा सहकार्य गर्ने पक्षहरू भएको बताए । यी तीनओटै पक्षका बीचमा सन्तुलित सम्बन्ध र मिलेर समस्या समाधान गर्ने बाटोमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

‘अघि शेखरजी (गोल्छा) ले भन्नुभयो हामीले के समस्या छन् भनेर दुई–चार हरफ होइन, पुस्तक नै निकालेर दिएका छौं । यो भिजन पेपर (दृष्टिपत्र) मा समावेश नीति लक्ष्य, उद्देश्यहरू पुरा गर्नका लागि सरकारले गर्नुपर्ने के हो कुन ठाउँमा के गर्ने त्यो तोकेरै दिनुहोस् । सामान्य ढङ्गले समाधान गर्दिओस् भनेर मात्र हुँदैन’ प्रधानमन्त्रीले भने, ‘कुन ठाउँमा के का लागि के सहजीकरण गर्नुपर्ने हो । उद्योगका लागि कच्चा पदार्थ आयातमा हो कि, निर्यातमा हो कि, कतै बिलम्ब छ कि वा कर्मचारीतन्त्रको अवरोध छन् भने कसरी हटाउने त्यसमा हामी सुझावहरू स्वागत गर्छौं ।’

प्रधानमन्त्री ओलीले यो सरकार कुनै वर्ग विशेषको नभएर सबै पेशा, व्यवसायमा रहेका र जुनसुकै क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीको सरकार भएको बताए । उनले सरकारको गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको उल्लेख गरे । संविधान जारी भएपछि विभिन्न राजनीतिक घटनाक्रम देखिएको भन्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिपक्वता नहुँदासम्म यस्ता समस्याहरू आइरहने बताए । ‘जबसम्म आम जनताले सही र गलत अनि देशका हित र व्यक्तिगत स्वार्थका लडाइँ छुट्याउँदैनन्, तबसम्म यस्ता समस्या देखिरहन्छन्,’ उनले भने, ‘देश बनाउने संकल्प गर्नेहरू र बनावटी कुरा गर्नेहरूको भेद पाउँदैनौं भने देश अलमलमा परिरहन्छ ।’ 

प्रधानमन्त्रीले सरकारको एकमात्र ध्यान र एकमात्र लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको भन्दै त्यसको एउटा पाटो ‘सम्मानित निजी, समुन्नत नेपाल’ क्षेत्र भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो दृष्टिपत्रमा ‘सम्मानित निजी, समुन्नत नेपाल’ रहेको छ । प्रधानमन्त्री ओलीले निजी क्षेत्र सम्मानित भएर मात्र नभइ सुदृढ पनि हुनुपर्ने बताए । प्रधानमन्त्री ओलीले ‘सम्मानित’ शब्दले उद्यमी, व्यवसायीको पीडा झल्किएको बताए । ‘उत्पादन गर्ने, रोजगारी सृजना गर्ने यस्तो क्षेत्रलाई सम्मान नगर्ने भन्ने हुँदैन,’ उनले भने, ‘सरकार निजी क्षेत्रलाई सम्मानसँगै सुदृढ पनि बनाउने पक्षमा छ ।’

नेपाल उद्योग वाणिज्य महासंघले आगामी १० वर्षमा नेपालको अर्थतन्त्र १०० अर्ब अमेरिकी डलरको बनाउने र २३ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । 

 


Author

थप समाचार
x