अर्थ / बाणिज्य

१५ प्रतिशतसम्म व्याज बढ्दा ऋणीहरू मर्कामा परे : नेपाल चेम्बर

इकागज |
साउन २६, २०७९ बिहिवार १५:४९ बजे

काठमाडौंँ– नेपाल राष्ट्रबैँकको नीतिले मुलुकमा व्यवसायिक वातावरण झन बिग्रन थालेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बैंक, वित्तिय संस्थाबाट ऋण लिएर उद्यम गर्न चाहने र साना साना ऋणीहरू सबै भन्दा बढी मर्कामा परेको चेम्बरको ठहर रहेको छ  ।

राष्ट्रबैँकबाट जारी भएको चालू पुँजी कर्जा सम्बन्धी मार्ग दर्शन २०७८ को मस्यौदाबाट चालु पुँजीलाई कडाइ गर्ने संकेत देखिएको भन्दै यसले व्यापार सहजीकरण तथा लगानी मैत्री वातावरणमा गम्भिर असर गर्ने चेम्बरले जनाएको छ ।


केन्द्रीय बैंकको अधिकांश नीतिहरू बैंक वित्तिय संस्थालाई मात्रै पोस्ने खालको भएको चेम्बरले जारी गरेको विज्ञप्तिमा समेत उल्लेख गरेको छ ।  उक्त विज्ञप्तिमा, ‘एक करोड रुपैयाँ सम्मको चालु पुँजीको कर्जाको सीमा निर्धारण बिक्रीको अधिकतम २० प्रतिशत सम्म मात्रै रहने व्यवस्थाले बजारमा लामो समय सम्मका लागि उधारोमा हुने बिक्री तथा दशैं तिहारको बेलामा मात्र ५० प्रतिशत बिक्री हुने सामानका लागि राख्नुपर्ने मौज्दात अहिलेको प्रस्तावित सीमाले पुग्दैन । वार्षिक कारोबार बिक्रीको ५० प्रतिशत सम्म यो सिमा कायम गरिनु पर्दछ ।’ भनिएको छ । 

राष्ट्रबैँकको मौद्रिक नीतिले ऋणीहरू असाध्यै मर्कामा परेकाले व्याजदरमा पुनरावलोकन गर्न पनि चेम्बरले आग्रह गरेको छ । आधार दरमा गरिएको अस्वभाविक वृद्धिका कारण निश्चित आय भएका ऋणहरू सवैभन्दा बढी मर्कामा परेको चेम्बरको ठहर छ ।  चेम्बरले भन्यो, ‘यसअघि निश्चित व्याजदरमा कर्जा लिएका ऋणीहरू राष्ट्रबैंकको नीतिका कारण थप समस्यामा परेका छन् । आधारदर अस्वभाविक रुपमा बढ्दा यसको मार ऋणीहरूमा परेको छ ।’ 

वेस्ट रेट प्रिमियममा यसअघिको व्यवस्था अधिकतम एक दशमलव पाँच प्रतिशत, विपरित स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगको हकमा दुई र अन्यमा ४ प्रतिशत सम्मको सीमाले व्यवसायिक गतिविधि प्रभावित हुने र मुल्यवृद्धि झन बढ्ने चेम्बरको ठहर रहेको छ ।  उद्योग व्यवसायलाई सहज ढंगले सञ्चालन गर्नका लागि लचिलो नीतिको अपेक्षा विपरित कर्जा बिस्तारको  लक्ष्य समेत घटाउँदा अर्थतन्त्र नै संकुचनमा पर्ने चेम्बरले जनाएको छ ।

नगद प्रवाहलाई संकुचन एवं कर्जा प्रवाहको लक्ष्यलाई सिमित गरेर व्याजदर बढाउँदा बजेटले लिएको आठ प्रतिशतको लक्ष्य र मुल्यवृद्धि सात प्रतिशतमा सिमित गर्न कठिन हुने चेम्बरले जनाएको छ ।  अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रले आफ्नो गतिविधि बढाउनुपर्ने भएपनि मौद्रिक नीतिका कारण संकुचन आउन सक्ने र यसले रोजगारीमा समेत असर गर्ने चेम्बरको ठहर रहेको छ ।

केन्द्रीय बैंकले मुद्रास्फीति घटाउन संकुचित मौद्रिक नीति ल्याएको भनेपनि आपूर्ति प्रणालीमा हुने अवरोधका कारण समग्रमा मुल्यवृद्धि अझै बढ्न सक्ने चेम्बरको भनाइ छ । कोभिड महामारीमा दिएको सुविधा कटौती गरी अत्यावश्यक क्षेत्रलाई मात्र पुनर्कर्जा दिने व्यवस्थामा यसलाई नीतिगत लचकता सहित सुरक्षित अवतरण गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।


Author

थप समाचार
x