अर्थ / बाणिज्य

झन्-झन् कठिन बन्दै मनाङ यात्रा

इकागज |
साउन २९, २०७९ आइतबार १५:४४ बजे

मनाङ- बाढीपहिरोले क्षति पुर्‍याएको सडक खण्डको समयमा मर्मत हुन नसक्दा मनाङ भ्रमण गर्न चाहने पर्यटकले सास्ती खेप्नु परेको छ । सडक मर्मतसम्भारका क्रममा वैकल्पिक सडक नहुँदा सामग्री ढुवानीमा समस्या हुने गरेको छ ।

भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टीलगायतका बढी जोखिम भएको क्षेत्रमा सडक मर्मतको काम गर्न समस्या भएको डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख इञ्जिनीयर अच्युतविलास पन्तले बताए । वैकल्पिक बाटो नहुँदा पनि मर्मतसम्भारमा अवरोध हुने गरेको उनले बताए । “वर्षाको समय छ । वर्षाको क्रम जारी नै छ । जोखिम क्षेत्रमा पनि मर्मतसम्भारको काम गर्न सकेका छैनौँ”, उनले भने, “काम गर्ने प्रयास भइरहेको छ ।” 
    
 बेंसीशहर–चामे सडक खण्डको मर्मतसम्भार गर्ने सम्झौताको अवधि बाँकी रहेको पन्तले बताए । उनका अनुसार आगामी असार मसान्तसम्म सडक मर्मतसम्भार गर्ने अवधि रहेको छ । उक्त सडक खण्डको जोखिम क्षेत्रमा सडक मर्मतसम्भारका लागि तीन वटा ठेक्का परेको र समयानुकूल अवस्थामा मर्मतको काम भइरहेको उनले बतए ।    
    
 आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेंसीशहर–चामे सडकखण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेंसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख पन्तको भनाइ छ । गत वर्ष यस सडकखण्डका अधिकांश भागमा बाढीपहिरोले क्षति पुर्‍याएको थियो । बाढीपहिरोले क्षति पुर्‍याएको सडक खुलाउन समस्या भएपछि हवाई यातायातलाई मात्र सहारा लिनुपर्ने भएको थियो ।    
    
मनाङ आउने पर्यटकका लागि सहज यात्रा गर्ने वातावरण बनाउन आवश्यक छ । आन्तरिक पर्यटकको पनि मनाङ रोजाइको केन्द्र बन्न पुगेको अवस्थामा स्थानीय, प्रदेश र सङ्घ सरकार प्रतिबद्ध भएर छिटो सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढ्न सक्नुपर्ने अवस्था छ । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले मनाङको मेरुदण्डको सडक बन्ने क्रममा भए पनि सोचअनुरुपको विकास हुन नसकेको बताउँछन् ।    
    
मनाङका विभिन्न क्षेत्रको अवलोकन भ्रमणमा आउने पर्यटकलाई सहज यात्रा बनाउनु मुख्य चुनौतीको विषय बनेको छ । मनाङलाई गन्तव्य बनाएर आएका पर्यटकका लागि डुम्रे–बेंसीशहर–चामे सडकखण्डका समयमा निर्माण सम्पन्न गर्न सक्नुपर्ने अवस्था छ । जोखिम यात्रालाई सहज बनाउनसके मनाङमा भित्रिने पर्यटकको सङ्ख्यामा अवश्य वृद्धि ल्याउन सकिने देखिन्छ ।    



Author

थप समाचार
x