अर्थ / बाणिज्य

सोलु करिडोर फुकाउन ऊर्जा मन्त्री जागे

इकागज |
असोज २८, २०७७ बुधबार १३:२ बजे

सोलु कोरिडोरमा विद्युत प्रसारणको टावर ठड्याउँदै । तस्विर सौजन्यः प्राधिकरण

काठमाण्डौंः लामो समयदेखि अवरुद्ध सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणको काम अघि बढ्ने संकेत मिलेको छ । ऊर्जा मन्त्री र स्थानीय जनप्रतिनिधिबीच मंगलबार मन्त्रालयमा भएको छलफलमा स्थानीय वासिन्दाले उठाउँदै आएको माग सम्बोधन गर्न सकारात्मक भएकाले बाँकी कामको अवरोध हट्ने संकेत मिलेको हो ।

स्थानीयले प्रसारण लाइनमा पर्ने एलेनी जग्गाकोसमेत मुआब्जा पाउनुपर्ने, कतिपय ठाउँमा बाटो (एलाइनमेन्ट) परिवर्तन गर्नुपर्ने लगायतका माग राख्दै निर्माण कार्य ठप्प पार्दै आएका थिए ।  उक्त प्रसारण लाइनको ९० किलोमिटर खण्डमध्ये उदयपुरको कटारी नगरपालिका-४ मरुवास्थित हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको थियो ।  मन्त्री पुनले उक्त क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद सुरेशकुमार राई, कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, कटारी-४ का वडाअध्यक्ष कृष्णराज दनुवार र सोलु करिडोर आयोजनाका प्रमुख जनार्दन गौतमसँग मन्त्रालयमा छलफल गरेको उनको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।


मन्त्री पुनले स्थानीयको मागअनुसार ऐलानी जमिनको मुआब्जा दिने प्रस्ताव गरेपछि सांसद राई, नगर प्रमुख श्रेष्ठ र वडाअध्यक्ष दनुवारले आयोजना निर्माणको अवरोध अन्त्य गर्ने प्रतिबद्धता जनाएको प्रेस नोटमा उल्लेख छ ।  छलफलका क्रममा मन्त्री पुनले सरकार जनताका जायज चासो सम्बोधन गरेरै विकास आयोजनाका काम गर्ने पक्षमा रहेको स्पष्ट गर्दै विकासका काममा कसैले पनि अवरोध गर्न नहुने बताए । ‘आयोजनाको काम अगाडि बढाउने लामो समयदेखिको मेरो प्रयास अहिले आएर सार्थक भएको छ, मलाई यसमा सन्तोष छ,’ मन्त्री पुनले भने ।

सांसद राईले स्थानीयका समस्या करिब समाधान भएको बताए । ‘ऐलानीको मुआब्जा दिने गरी अवरोध हटाउने  सहमति भएको छ,’ राईले भने,  ‘मन्त्रीज्यूले आयोजना प्रमुखलाई आँखा चिम्लिएर जनताको माग सम्बोधन गर्न निर्देशन दिनुभएको छ, हामी जनप्रतिनिधि पनि स्थानीय प्रशासन, आयोजना र मर्कामा परेका जनताका बीचमा समन्वय गरेर कामको अवरोध हटाउने काममा लाग्छौं ।’ नगर प्रमुख श्रेष्ठले आपूmहरुले काठमाडौंबाट फर्किएपछि स्थानीय वासिन्दासँग छलफल गरेर निकास दिन पहल गरिने बताए ।

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोड्न नपाउँदा गत २०७६ माघ २०  देखि व्यावसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावर (२३ मेगावाट) को ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ । सिरहाको मिर्चैयादेखि उदयपुरको जलजले, खोटाङको बुइपा र ओखलढुंगा हुँदै सोलुखुम्बुको तिङलासम्म प्रसारण लाइन निर्माण भइरहेको छ । जसमध्ये ९५ प्रतिशत अधिकांश काम सम्पन्‍न भएको आयोजना प्रमुख गौतमले बताए । गौतमका अनुसार कुल ३ सय २ वटा टावरमध्ये २ सय ८८ वटाको निर्माण सम्पन्‍न भइसकेको छ ।
 
कूल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टाङ्ने काम समेत सकिएको छ । मरुवाबाहेक ४ अन्य वटा टावर निर्माणको काम जारी रहेको र दसैं अगावै सकिने आयोजनाले जनाएको छ । उक्त प्रसारण लाइन निर्माण भएपछि सोलुखुम्बु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत सोलेखुम्बु, ओखलढुंगा र उदयपुर जिल्लामा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । विद्युत प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३ सय २५ मेगावाट विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) गरेको छ । 

२०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो । बिना अवरोध काम भएको भए २०७६ माघ दोश्रो साता प्रसारण लाइन निर्माण सम्पन्‍न भइसकेको हुने थियो । 

सुरुमा यो ठेक्का आव २०७३/७४ मा सकिनुपर्ने थियो । भूकम्प, नाकाबन्दी र स्थानीय वासिन्दाको अवरोधका कारण निकै ढिला हुन पुगेको हो । प्राधिकरणले यो लाइन नबनेमा निजी क्षेत्रलाई बिजुली खरिदसम्बन्धी सम्झौता (पीपीए) अनुसार ४५ प्रतिशत क्षतिपूर्ति दिनुपर्छ । यो भनेको उसले दैनिक ५० लाख रुपैयाँ निजी क्षेत्रको बिजुली उठाउन नपाएबापत भुक्तानी दिनुपर्ने आर्थिक दण्ड हो ।
 


Author

थप समाचार
x