अर्थतन्त्रको संवाहक निजी क्षेत्र : मन्त्री बडू
फाइल फोटो
काभ्रे - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको अर्थतन्त्रको संवाहक निजी क्षेत्र भएकाले सरकार सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल प्लाईउड उत्पादन संघको २३औँ साधारणसभामा आज धुलिखेलमा उनले निजी क्षेत्रलाई सरकारले अर्थतन्त्रको चलायमान इन्जिनका रूपमा लिँदै उत्पादन र निर्यातमा सहयोग गर्ने बताएका हुन् ।
`अर्थतन्त्रको चलायमान इन्जिननै निजी क्षेत्र हो, आयातित अर्थतन्त्रमा मुलुकको भविष्य छैन, त्यसैले उत्पादन र निर्यातमा सरकार उद्योगीलाई सघाउन तयार छ`, मन्त्री बडूले भने । उनले निर्यातले वैदेशिक मुद्रा सञ्चिति बढाउने भएकाले नेपालमा निर्यात गर्न सकिने वस्तुको उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याए ।
सरकार विभिन्न साना–ठूला उद्योगीसँग छलफल गरेर अघि बढ्न तयार रहेको उनको भनाइ थियो । उनले भने, `छलफलपछि सरकारले उद्योग सञ्चालनमा सुधारको घोषणा गरेको छ, राष्ट्रिय उत्पादनलाई प्राथमिकतामा राख्दै नेपाली उत्पादन उपभोग अभिवृद्धि कार्यक्रम महत्वका साथ निर्धारण गरिसकेको छ ।` निजी क्षेत्रसँग सहकार्य गर्ने वर्तमान सरकारको घोषित नीतिअनुसार १० वर्षे अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा थियो ।
मन्त्री बडूले उद्योगीलाई रुग्ण उद्योग सञ्चालन गर्न आह्वान गरिएको बताए । `सरकारले रुग्ण उद्योग चलाउन चाहेको छ, पूर्णरूपमा नचलेका उद्योगको कारण खोज्ने र सामान्यरूपमा चलेकालाई पूर्णक्षमताले चलाउन सरकारले निजी क्षेत्रसँग सहकार्य गर्न खोजेको हो`, उनले भने ।
सहरी क्षेत्रमा मात्र नभई सात सय ५३ वटै पालिकामा औद्योगिक ग्राम स्थापना हुनुपर्ने उनको तर्क थियो । उनले भने, `संघीय र प्रदेश सरकार नयाँ उद्योगलाई सहयोग गर्न तयार छ, उद्योगीको प्रस्तावमा ४० प्रतिशत सरकारले बेहोर्छ या तीन करोडसम्म सरकारले दिन्छ भन्दै आएका पनि छौँ ।`
स्थानीयस्तरमा रोजगारीको वातावरण बनोस् भन्ने उद्देश्यले सरकारले नयाँ उद्योगमा लगानी गर्न खोजेको मन्त्री बडूले बताए । उनले प्लाईउड उत्पादनलाई बढाए सरकार सहुलियत दिनसमेत तयार रहेको बताए । मन्त्री बडूले ठूला उद्योगलाई जमिनको थ्रेसहोल्ड ११ विघाबाट बढाइने बताए । `अब ठूला उद्योगमा स्वदेशी र विदेशी लगानी भित्र्याउन थ्रेसहोल्ड परिमाण बढाउँछौँ`, उनले भने। बजेट वक्तव्यमा ३० वर्षे लिजलाई पनि ५० वर्षे बनाएको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया