अर्थ / बाणिज्य

दोधारा–चादँनीः ‘उहिले विकट, अहिले समृद्ध’

इकागज |
भदौ ७, २०७९ मंगलबार १४:४९ बजे

महेन्द्रनगर - दोधारा चादँनीका उपप्रमुख गङ्गादेवी जोशीको परिवार २०२७ सालमा जाजरकोटबाट बसाइँ सरी कञ्चनपुरको दोधारा–चादँनी आयो । कञ्चनपुरको भौगोलिक रुपले विकट महाकाली नदी पारिको दोधारा चादँनीमा जोशी परिवारले त्यो बेला अभावै अभाव झेल्नु पर्‍यो । 

`वन्यजन्तुको त्रासदेखि सदरमुकाम महेन्द्रनगर पुग्नको कठिनाइ विगतमा थिए`, उनले भने, `अहिलेको विकास हेर्दा सपना जस्तै लाग्छ ।` कञ्चनपुरको टापुका रुपमा चिनिएको दोधारा चादँनीमा २०२२ सालको सेरोफेरोमा बसोबास थालिए पनि महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि मात्रै सुखका दिन आएको जोशी बताउँछन् । 


`२०५८ सालमा तत्कालीन जनप्रतिनिधिको विशेष पहलमा दोधारा चादँनी जोड्ने झोलुङ्गे पुल बनेपछि हामी सदरमुकाम र मूलधारसित जोडिएका हौँ` उनले भने, `त्यसअघिका दोधारा चादँनीवासीको पीडा अहिले शब्दले व्यक्त गर्न सकिँदैन ।` 

झोलुङ्गे पुल बन्नुअघि हिउँदमा घण्टौँ बगरमा हिँडेर महेन्द्रनगर लगायतका ठाउँमा आवातजावत गर्नुपरेको थियो । `वर्सातमा स्याउले हुँदै भारतको वनबासाको पुल भएर नेपाल आउनुपर्ने बाध्यता थियो”, जोशीले भने, “वनबासा पुल पुग्नुअघि चोरी डकैतीका साथै जङ्गलमा जनावरको त्रास हुन्थ्यो ।`

महाकाली नदीमा झोलुङ्गे पुल बनेपछि ढुङ्गा र भारतीय भूमिबाट ओहोरदोहोर गर्नुपर्ने बाध्यता हटेको छ । दोधारा चादँनीवासी अहिले ठूला सवारीसाधन लिएर निर्माणाधीन चार लेनको पक्की पुलबाट सहज रुपमा आवतजावत गरिरहेका छन् । `त्यो बेला यहाँ वन फाडेर खेतीपाती गर्नुपर्ने तर खाद्यान्न लिन भारतकै भर पर्नुपर्ने बाध्यता थियो ।` दोधारा चादँनी नगरपालिका–१ का राजेन्द्र चन्दले भने, `न यहाँ एम्बुलेन्स थिए, न त डाक्टर नै ।`

सडक, स्वास्थ्य र शिक्षाको पहुँचबाट टाढा रहेको यहाँ २०५० साल अघि स्थानीयले धेरै समस्यासित जुध्नु परेको थियो । `अहिले त स्याउलेदेखि कुतियाकवरसम्म पक्की सडकदेखि हरेक खोला नालामा पक्की पुल बनिसके` चन्दले भने, `सुक्खा बन्दरगाह र चार लेनको पक्की पुलले दोधारा चादँनी आर्थिक समृद्धिको हब भइसक्यो ।`

झोलुङ्गे पुल बनेपछि दुःख, कष्ट नै हराएको चन्द बताउनुहुन्छ । उनले भने, `चार लेनको पक्की पुल र सुक्खा बन्दगाहले सुदूरपश्चिमकै आर्थिक विकासमा टेवा पुग्ने छ ।` केही वर्षअघि भारतीय रुपैयाँको कारोबार हुने दोधारा चादँनीमा अहिले त्यो विस्थापित भइसकेको छ ।

`यहाँ विकासका ठूला आयोजना आउँदा जग्गाको कारोबारसमेत ह्वात्तै बढेको छ,` उनले भने, `अब दोधारा चादँनी विकट होइन, जिल्लाकै आर्थिक गतिविधिको मुख्य स्थान बन्नेमा हामी आशावादी छौँ ।` २६ हजारभन्दा बढी मतदाता रहेको दोधारा चादँनी कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पर्छ । दोधारा चादँनी नगरपालिका बन्नुअघि यहाँ दुईवटा गाविस थिए ।

सरकारले नै वन फँडानी गरेर बस्ती बसाउन थालेपछि २०२२ सालयता विभिन्न व्यवसाय तथा रोजगारीका लागि भारत जानेहरु त्यो बेला यहाँ बस्न थालेका हुन् । महाकाली नदीमा आउने बाढी नियन्त्रणका लागि वर्षौंअघि यहाँ नदी क्षेत्रको २२ किलोमिटर तटबन्ध निर्माण भएको थियो । पछिल्ला वर्षहरुमा बाढीले कटान गर्दै बस्ती बस्ने खतरा बढ्न थालेपछि यहाँ तटबन्ध निर्माणमा जोड दिइएको छ ।

बाजुराबाट २०३२ सालमा दोधारा चादँनी सरेका दोधारा चादँनी नगरपालिका–४ का ७३ वर्षीय भीमबहादुर सिंह आफू यहाँ आउँदा कुवा कोरेर पानी खाएको बताउँन् । `पीठो पिस्न भारतीय बजार जानुपर्ने बाध्यता थियो`, उनले भने, “महाकाली तरेर महेन्द्रनगर आउन जोखिम मोल्नु पथ्र्यो ।” उहाँ २० वर्ष आफैँ डुङ्गा चलाएर वारपार गरेको सुनाउँछन् । `डुङ्गाको सहयोगमा नदी तर्नेहरु प्रतिव्यक्ति रु पाँच तिर्ने गर्दथे, एक पटकमा ४० क्विन्टलसम्म ढुवानी गर्दथ्यौँ`, उनले भने । पुल बनेपछिमात्र डुङ्गा बन्द भएको हो । 
 


Author

थप समाचार
x