मेयर बालेन साहले अधिकारको दुरुपयोग गरे : काठमाडौँ उद्योग वाणिज्य संघ
काठमाडौँ- काठमाडौँ उद्योग वाणिज्य संघले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ ।
व्यवसायीबाट कर उठाएको १० अर्ब रुपैयाँको ब्याज खाने काम मात्रै गरेको भन्दै मेयर साहलाई जनताको मेयर भए जनतालाई नै पैसा फिर्ता गर्न चुनौती
काठमाडौँ महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीहरूको रोजिरोटी खोसेको भन्दै संघले महानगरको अभियानप्रति आपत्ति जनाएको हो । संघका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीहरूले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करोडौँ लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गरे । उनले बिहीबार महानगरको मेयरलाई अधिकार छ भन्दैमा प्रहरी, डोजर अगाडि पछाडि लगाएर अधिकारीको दुरुपयोग गर्न नहुने बताए ।
अध्यक्ष श्रेष्ठले घरधनी र महानगर बीचको विवादको बीचमा व्यापारीलाई पारेर व्यवसायीलाई मेयरले पसलमा नै गएर धम्क्याउने काम गलत भएको जिकिर गरे । उनले आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार हुने भन्दै महानगरले व्यवसायीहरुको सम्पत्तिको रक्षा गर्नुको सट्टा तत्काल व्यवसाय बन्द गर्न लगाउनु न्याय संगत नभएको टिप्पणी गरे । अध्यक्ष श्रेष्ठले मेयरको अभियानले दशैँको मुखमा व्यवसायीमाथि अन्याय भएको भन्दै काठमाडौँ उद्योग वाणिज्य संघ व्यवसायीहरूको हक हितको रक्षाको लागि अगाडि बढ्ने बताए ।
उनले महानगरले अवैध संरचना भत्काउने अधिकारको विरोध नभएर मेयर साहले व्यवसायीहरूप्रति गरेको व्यवहारको विरोध गरेको बताए । अध्यक्ष श्रेष्ठले महानगरले क्षति पुर्याएका व्यवसायीहरूलाई तत्काल क्षतिपूर्ति दिन माग गरे। उनले पार्किङको लागि नक्सापास भएपनि व्यवसायीसँग कर उठाउने र कर उठाएको पैसा बैंकमा राखेर ब्याज खाएको आरोप लगाए । उनले काठमाडौँ महानगरपालिकाले व्यवसायीहरूबाट कर उठाएको १० अर्ब रुपैयाँको ब्याज खाने काम मात्रै गरेको भन्दै मेयर साहलाई जनताको मेयर भए जनतालाई नै पैसा फिर्ता गर्न चुनौती दिए ।
अध्यक्ष श्रेष्ठले कानुनी राज्यमा महानगर पालिकाले व्यापार व्यवसाय गरेको पसल भत्काउँदै हिँड्ने व्यवस्था नभएको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया