अर्थ / बाणिज्य

१७ स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गरिने

नेपाल विद्युत प्राधिकरणको लगानीमा सशस्त्र प्रहरीले सुरक्षा गर्ने

इकागज |
भदौ १०, २०७९ शुक्रबार १५:११ बजे

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विभिन्न १७ स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । सशस्त्र प्रहरीले सुरक्षा गर्ने गरी विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गरिन लागिएको हो ।

नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरी बल नेपालबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्‍याउने सम्बन्धी सम्झौतासमेत भएको छ ।


गैर नवीकरणीय उर्जा घटाई नवीकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित कार्यक्रममा सो सम्झौतामा हस्ताक्षर गरे । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट चार्जिङको अवधारणा अनुसार सशस्त्र प्रहरी बल नेपालसँग सम्झौता भएको उल्लेख गर्दै ग्याँसको खपत घटाउँदै विद्युत उपयोगलाई बढाउँदै लैजाने लक्ष्य अनुरुप प्राधिकरणले काम गरिरहेको बताए ।

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस प्रकारको सम्झौता प्राधिकरणसँग मिलेर काम गर्ने उपयुक्त अवसर भएको बताउँदै आगामी दिनमा समेत समन्वय र सहकार्य निरन्तर रहिरहने विश्वास व्यक्त गरे ।  सो सम्झौता अनुसार सशस्त्र प्रहरी बलका हाल संचालित २ वटा पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानहरुमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण
गरिनेछ ।
सो विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने सम्पूर्ण खर्च नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने छ भने त्यसको सुरक्षा तथा संचालन सशस्त्र प्रहरी बल नेपालले गर्ने सम्झौतामा उल्लेख छ । इन्डक्सन चुलो प्रयोगमा ल्याउन पहिलो चरणमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सबै बाहिनी मुख्यालय, तालिम शिक्षालय, गण र दोस्रो चरणमा सवै गुल्महरुको लागि प्राधिकरणबाट ट्रान्सफर्मर जडानको काम समेत हुनेछ ।


Author

थप समाचार
x