अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सुधारका लागि नीतिगत बहस थालिने
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)ले अर्थतन्त्र एवं बैंक तथा वित्तीय क्षेत्रको सुधारका लागि नीतिगत बहस गर्ने भएको छ ।
आर्थिक एवं वित्तीय क्षेत्रका विविध विषयहरुमा अध्ययन तथा अनुसन्धान गर्ने र सो का आधारमा अर्थतन्त्र सुधार गर्न बहस थालिने भएको हो । नीतिगत बहस तथा पैरवी गर्ने विषयमा दुई संस्थाबीच सम्झौतासमेत गरिएको छ ।
उक्त सम्झौतामा दुवै संस्थाले पारस्परिक सहकार्यमा अध्ययन तथा अनुसन्धान गर्ने, आर्थिक एवं वित्तीय सवलीकरण सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख छ । त्यस्तै नीति नियमको प्रभाव मूल्याङ्कन तथा बहस पैरवी गर्दै देशको समग्र आर्थिक विकासका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायत अन्य सम्बन्धित निकायसँग संयुक्तरुपमा पहल गर्ने सम्झौतामा भनिएको छ ।
उक्त सम्झौता पत्रमा उल्लेख भएअनुसार आपसी सहकार्य तथा समन्वयमा देहायका विषयहरुमा सरोकारवाला पक्षहरुवीच व्यापक छलफल गरी अध्ययन तथा अनुसन्धान गर्ने, सुझावसहितको प्रतिवेदन तर्जुमा गरी सम्बन्धित निकायहरुमा पेश गर्ने गरी सम्झौता गरिएको छ ।
देशमा अहिले बढ्दै गइरहेको आर्थिक समस्याहरु र समाधानका उपायहरु, बैंक तथा वित्तीय क्षेत्रमा देखिएका चुनौती र समाधानका उपायहरु, स्वदेशी तथा बैदेशिक लगानी आकर्षण गर्ने नीति र वातावरण सुधारका विषयमा अध्ययन गरिने संस्थाहररुले जनाएका छन् । त्यस्तै आद्योगिक एवं व्यवसायिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरुका साथै वैदेशिक व्यापारमा देखिएका समस्या र समस्या न्यूनीकरणका उपायहरु,वित्तीय एवं मौद्रिक नीति÷नियम÷निर्देशन र कार्यविधिहरूको प्रभाव विश्लेषण तथा सुधारका पक्षहरु अनुसन्धान गरी सम्बन्धित निकायमा पेश गरिनेछ ।
संस्थागत उद्देश्यहरुको परिपूर्तिका लागि मात्र नभई आम जनता र राष्ट्रको हितलाई केन्द्रविन्दुमा राखेर गरिने सम्झौता बमोजिमका कार्यहरुले दिगो आर्थिक विकास र समृद्धि प्राप्तिका लागि नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।
सिबिफिनको कार्यालय, सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनकोतर्फबाट अध्यक्ष श्री पवनकुमार गोल्यान र एक्यानकोतर्फबाट अध्यक्ष श्री दिपक पाण्डेले हस्ताक्षर गरी सम्झौता गरिएको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया