अर्थ / बाणिज्य

‘उडान संक्रमणरहित छन्, लकडाउन गर्नु हुँदैन’

इकागज |
चैत ३१, २०७७ मंगलबार १५:१६ बजे

काठमाडौँ : कोभिड–१९ केही महिना सुषुप्त अवस्थामा रहेकोमा खोप अभियानसँगै नियन्त्रणमा आउने ठानिएको बेला अहिले पुनः संक्रमितहरूको संख्या एक्कासी बढ्न थालेको छ । केही सक्रिय संक्रमितहरू देखिनेबित्तिकै लकडाउन गर्नेसम्मको सरकारको तयारीबारे चर्चा भैरहँदा निजी क्षेत्रको वायु सेवा प्रदायक बुद्ध एयरले लकडाउन उपयुक्त विकल्प नभएको बताएका छ । स्वास्थ्य सुरक्षा उपायहरू नै कोभिड–१९ बाट जोगिने उत्तम उपाय भएको भन्दै बुद्ध एयर मास्क, स्यानिटाइजरको प्रयोग तथा सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ । 

बुद्ध एयरले अत्यावश्यक सेवा रोक्न नहुने पनि उल्लेख गरेको छ । आन्तरिक वायु सेवा अत्यावश्यक सेवा अन्तर्गत पर्दछ । बुद्ध एयर त्यसै अनुरुप सुरुवातमै कोभिडविरुद्धका ‘सुरक्षा निर्देशिका’ बनाई यसका सम्पूर्ण कर्मचारीहरुलाई सुरक्षा तालिम, जनजागरण तथा व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) प्रदान गरेको र त्यो अहिले पनि जारी नै रहेको जनाएको छ ।


‘संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिवद्ध छौं,’ बुध्द एयरका बजार निर्देशक रुपेश जोशी भन्छन्, ‘यसका लागि हरेक यात्रुको कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण पहिचान, तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइजको प्रयोग अनिवार्य बनाएका छौं ।’ 
जोशीले हरेक उडानको यात्रु डाटावेश कम्प्युटरकृति गरेको, सरोकारवाला निकायले मागेको खण्डमा हामी तुरुन्तै उपलब्ध गराउन सक्ने भन्दै यसले करोना रोकथाममा सहायक हुने बताए । ‘लकडाउन समाधान होइन,’ उनले भने, ‘संक्रमण न्यूनीकरणका लागि स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशिका प्रभावकारी रूपमा लागू गर्ने हो । लकडाउन मात्र समाधान होइन ।’ बुद्ध एयरका लगभग सबै कर्मचारीहरुले करोनाविरुद्धको पहिलो खोप लगाइसकेको बताइएको छ । अब दोस्रो डोज वैशाख १० भित्र लिइसक्ने  भन्दै  बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले स्वास्थ्य सुरक्षा उपाय अपनाइ विश्वस्त भएर पूर्ण सुरक्षित रूपमा यात्रा गर्न सक्ने बताए । 

‘हवाई उडान पुनः शुरु भएपछि यसले आवागमन मात्र होइन अर्थतन्त्र पनि चलायमान भएको छ । स–साना पसलदेखि ठूल्ठूला होटल, पर्यटकीय यातायात तथा गतिविधिहरु फेरि सुचारु भएका छन् भने ठूलो संख्यामा जनशक्तिले रोजगार पाइरहेको’ भन्दै बुद्ध एयरले यसअघिको लकडाउनमा मानिसहरू जोखिमपूर्ण यात्रा गर्दा संक्रमण झनै बढेको भन्दै सबै व्यवसायिक गतिविधिहरू सुरक्षित र व्यवस्थित बनाउनुपर्ने उल्लेख गरेको छ । ‘करोना भाइरस विरुद्ध लडाई लामो छ, यसका लागि दिर्घकालिन रणनीति बनाउनुपर्छ । चेकजाँच र स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ । कोभिड–१९ विरुद्धका खोपमा सहज, सजिलो र सबै नेपालीको पहुँच हुनुपर्छ ।’
 


Author

थप समाचार
x