अर्थ / बाणिज्य

मृतकका नाममा पनि सामाजिक सुरक्षा भत्ता वितरण

तनहुँका पालिकालाई सामाजिक सुरक्षा भत्ता असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्न निर्देशन

इकागज |
भदौ २१, २०७९ मगलवार २१:१ बजे

सांकेतिक तस्वीर

तनहुँका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममासमेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका देवघाट, ऋषिङ, घिरिङ, आँबुखैरेनी, बन्दिपुर तथा म्याग्दे गाउँपालिका तथा शुक्लागण्डकी, भानु र भिमाद नगरपालिकाले मृत्यु भइसकेका व्यक्तिका नाममा समेत सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको हो ।

महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७७/०७८ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरण तथा लेखा टिप्पणीहरूको लेखापरीक्षण गरी सार्वजनिक गरेको प्रतिवेदनमा देवघाट गाउँपालिकामा आव २०७७/०७८ मा चार जना मृत्यु भइसकेका लाभग्राहीको नाममा ४८ हजार १ सय भत्ता वितरण भएको छ । देवघाट–५ का विहारीलाल सापकोटाका नाममा दोस्रो चौमासिकमा रु १२ हजार, सोही वडाका तुलसी सुवेदीको नाममा दोस्रो चौमासिकमा रु १२ हजार, देवघाट–३ का धनमाया पौडेल क्षेत्रीका नाममा दोस्रो चौमासिकमा रु १२ हजार र सोही वडाका अम्मरबहादुर थापाका नाममा तेश्रो चौमासिकमा रु १२ हजार भत्ता वितरण भएको छ ।


सापकोटाको वि.सं. २०७७ पुस १७, सुवेदीको २०७७ माघ ३०, क्षेत्रीको २०७७ पुस १८ र थापाको २०७७ चैत ४ गते मृत्यु भएको थियो । सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १२ मा लाभग्राहीको मृत्यु भएमा मृत्यु दर्ताको सूचना फाराम बमोजिम स्थानीय तहको मूल अभिलेखबाट लगत कट्टा गर्नुपर्ने व्यवस्था छ ।

ऋषिङ गाउँपालिकामा तीन जना मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । वडा नं. ७ का भीमबहादुर दमाईंका नाममा प्रथम चौमासिकमा रु तीन हजार, विष्णुमाया आलेका नाममा प्रथम चौमासिकमा रु नौ हजार, र डिलबहादुर थापाको नाममा प्रथम चौमासिकमा रु ११ हजार, दोस्रो तथा तेश्रो चौमासिकमा रु २४ हजार भत्ता वितरण भएको छ । दमाईंको वि.सं. २०७७ असोज २८ गते, आलेको विसं २०७७ भदौ १ गते र थापाको वि.सं. २०७७ साउन १० गते मृत्यु भएको थियो ।

सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाइ मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा पालिकाले चौमासिक भत्ता वितरण गर्दा मृत्युपश्चात पनि भत्ता निकासा गरेको थियो ।

शुक्लागण्डकी नगरपालिकाले मृत्यु भएका आठ जना ज्येष्ठ नागरिकको नाममा भत्ता वितरण गरेको छ । शुक्लागण्डकी–१० का केसरी थापालाई तेश्रो चौमासिकको रु चार हजार ५००, दानबहादुर थापालाई तेश्रो चौमासिकको रु तीन हजार, शुक्लागण्डकी–५ का हुमनाथ भण्डारीलाई तेश्रो चौमासिकको रु पाँच हजार, शुक्लागण्डकी–७ का रुपा विकलाई प्रथम चौमासिकको रु तीन हजार, पुमादेवी विकलाई प्रथम चौमासिकको रु तीन हजार तीन सय, चोलाकुमारी श्रेष्ठलाई प्रथम चौमासिकको रु दुई हजार पाँच सय, उजेली सार्कीलाई प्रथम चौमासिकको रु आठ हजार र नोमलाल बस्याललाई तेश्रो चौमासिकको रु सात हजार सात सय वितरण गरिएको छ । महालेखा परीक्षकको कार्यालयले व्यक्तिको मृत्युपश्चात् पनि भत्ता निकासा गरेकाले उक्त सामाजिक भत्ता असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्न निर्देशन दिएको छ ।

आँबुखैरेनी गाउँपालिकाले सात जना मृत्यु भइसकेका व्यक्तिका नाममा उक्त भत्ता वितरण गरेको छ। आँबुखैरेनी–३ का वेदनारायण श्रेष्ठलाई तेश्रो चौमासिकको रु नौ हजार आठ सय, दलबहादुर परियारलाई दोस्रो र तेश्रो चौमासिकको रु सात हजार सात सय ४१, आँबुखैरेनी–५ का जालुमा गुरुङलाई तेश्रो चौमासिकको रु दुई हजार नौ सय, आँबुखैरेनी–४ का रामबहादुर भुजेललाई पहिलो चौमासिकको रु एक हजार आठ सय र दोस्रो चौमासिकको रु एक हजार तीन सय र आँबुखैरेनी–६ का आशबहादुर गुरुङलाई तेश्रो चौमासिकको रु दुई हजार सात सय वितरण गरिएको छ ।

घिरिङ गाउँपालिकाले आठ जनालाई मृत्यु भएपश्चात् पनि भत्ता वितरण गरेको छ । घिरिङ–३ का गजकेशर थापालाई प्रथम र दोस्रो चौमासिक गरी रु १२ हजार, नरबहादुर कामीलाई तेश्रो चौमासिकको रु नौ हजार, मानबहादुर श्रेष्ठलाई तेश्रो चौमासिकको रु नौ हजार, सेती श्रेष्ठलाई तेश्रो चौमासिकको रु आठ हजार दुई सय, घिरिङ–४ का नरिमाया राना मगरलाई दोस्रो र तेश्रो गरी रु १६ हजार सात सय, लीलबहादुर कुमाललाई दोस्रो चौमासिकको रु तीन हजार सात सय, मोतीराज रानाभाटलाई तेश्रो चौमासिकको रु चार हजार सात सय र घिरिङ–१ का मुक्तिलाल कुमाललाई तेश्रो चौमासिकको रु दुई हजार छ सय वितरण गरिएको छ ।

त्यसमध्ये गजकेशरको २०७७ कात्तिक २२, नरबहादुरको चैत २५, मानबहादुरको चैत २५, सेतीको २०७८ वैशाख ८, नरिमायाको विसं २०७७ माघ १३, लीलबहादुरको माघ २३, मोतीराजको २०७८ जेठ १३ र मुक्तिलालको असार ४ गते मृत्यु भएको थियो ।

भिमाद नगरपालिकाले तीन ज्येष्ठ नागरिकको मृत्युपश्चात् पनि भत्ता वितरण गरेको छ । भिमाद–२ का सेती आलेलाई प्रथम चौमासिकको रु पाँच हजार आठ सय, नहलसिं थापालाई प्रथम चौमासिकको रु दुई हजार आठ सय र भिमाद–६ का मनबहादुर विकलाई तेश्रो चौमासिकको रु तीन हजार वितरण गरिएको छ । सेतीको २०७७ असोज २, नलहसिंको कात्तिक २ र मनबहादुरको २०७८ जेठ ३० गते मृत्यु भएको थियो ।

बन्दिपुर गाउँपालिकाले छ जना मृत्यु भइसकेकाका नाममा भत्ता वितरण गरेको छ । बन्दीपुर–३ का डम्बरबहादुर गुरुङलाई तेश्रो चौमासिकको रु चार हजार पाँच सय, बन्दीपुर–४ का नेप्टिमाया गुरुङलाई तेश्रो चौमासिकको रु पाँच हजार एक सय, रणबहादुर गुरुङलाई तेश्रो चौमासिकको रु दश हजार एक सय, चन्द्रबहादुर विकलाई तेश्रो चौमासिकको रु तीन हजार तीन सय, लीलादेवी अधिकारीलाई तेश्रो चौमासिकको रु आठ हजार चार सय मनबहादुर मगरलाई दोस्रो र तेश्रो चौमासिकको रु १६ हजार एक सय वितरण गरिएको छ ।

तीमध्ये डम्बरको विसं २०७८ असार १५, नेप्टिमायाको जेठ ९, रणबहादुरको २०७७ चैत १९, चन्द्रबहादुरको २०७८ जेठ २७, लीलादेवीको २०७८ वैशाख ६ र मनबहादुरको २०७७ माघ १९ गते मृत्यु भएको थियो । महालेखा परीक्षकको कार्यालयले मृत्युपश्चात् निकासा भएको भत्ता असुल गरी संघीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने भनेको छ ।

भानु नगरपालिकाले मृत्यु भएका ११ जनाका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । भानु–१३ का दिलकुमारी श्रेष्ठको दोस्रो चौमासिक बापतको रु १२ हजार, काली परियारको तेश्रो चौमासिकबापतको रु आठ हजार, जुठी थापाको दोस्रो र तेश्रोबापतको रु २४ हजार, भानु–१ का हर्कबहादुर लामाको दोस्रो चौमासिक बापतको रु १२ हजार, भानु–१२ का हरिबहादुर क्षेत्रीको तेश्रो चौमासिकबापतको रु १२ हजार, राममाया अधिकारीको तेश्रो चौमासिकबापतको रु १२ हजार, प्रेममाया थापाको तेश्रो चौमासिकबापतको रु १२ हजार, विष्णुमाया गुरुङको तेश्रो चौमासिकबापतको रु १२ हजार, भगवती केसीको तेश्रो चौमासिकबापतको रु १२ हजार, भानु–४ का सुकमाया गुरुङको तेश्रो चौमासिकबापतको रु १२ हजार, पशुपतिनाथ ढकालको तेश्रो चौमासिक बापतको रु १२ हजार निकासा गरिएको छ ।

भत्ता नपाउनेलाई पनि सामाजिक सुरक्षा भत्ता
ऋषिङ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नपाउनेलाई पनि भत्ता वितरण गरेको छ । गाउँपालिकाले वडा नम्बर १ मा दलित महिला सदस्य भुलमाया परियार र वडा नम्बर ४ कार्यपालिका सदस्य टुनबहादुर सार्कीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि २०७७ को दफा ९(२) अनुसार कुनै सरकारी वा सार्वजनिक पदमा नियुक्ति वा मनोनित भई वहाल रहेको व्यक्ति, नेपाल सरकार स्थानीय तह, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको आंशिक वा पूर्ण स्वामित्वमा रहेको सङ्गठित संस्थाबाट नियमित रुपमा पारिश्रमिक वा निवृत्तिभरण, अवकाश सुविधा वा अन्य सुविधा पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था छ ।

तर गाउँपालिकाले ती दुई जनप्रतिनिधिलाई आर्थिक वर्ष २०७७/०७८ मा भत्ता वितरण गरेको थियो । भुलमाया परियारको प्रति चौमासिक १२ हजारका दरले ३६ हजार र टुनबहादुर सार्कीको प्रतिचौमासिक ८ हजारका दरले एक आर्थिक वर्षको २४ हजार असुल गर्न महालेखा परीक्षकको कार्यालयले निर्देशन दिएको छ । महालेखा परीक्षकको कार्यालयले विगत आर्थिक वर्षको सम्बन्धमा समेत छानबिन गरी दोहोरा भुक्तानी भएको रकमका सम्बन्धमा एकिन गर्नुपर्ने उल्लेख गरेको छ ।

 नारायण खड्का​-आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
x