अर्थ / बाणिज्य

नेपाल पूर्वाधार सम्मेलन

सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक : विज्ञ

इकागज |
भदौ २३, २०७९ बिहीबार १९:३४ बजे

काठमाडौंँ - देशमा सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेकोमा सरोकारवालाहरूले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन  २०२२ को डिजिटल पूर्वाधार तथा प्रविधि सम्बन्धि सत्रमा सहभागी सरोकारवालाहरूले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्तिको उत्पादनमा जोड दिएका हुन् । 

सूचना तथा सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सञ्चार मन्त्रालयले शैक्षिक क्षेत्रको माध्यमबाट सूचना प्रविधि क्षेत्रको लागि दक्ष जनशक्ति उत्पादन गर्न पहल गरिरहेको बताए । आईटी कोर्समा कोटा प्रणालीका कारण धेरै विद्यार्थीले चाहेर पनि पढ्न नसकेको र यसले गर्दा दक्ष जनशक्ति उत्पादनमा प्रभाव परेको भन्दै यो विभेद हटाउन सञ्चार मन्त्रालयले पहल गरेको उनले बताए ।


'प्रविधिसँग सम्बन्धित जनशक्ति हरेक क्षेत्रमा आवश्यक छ । भोलीको दिनमा यसको माग थप बढ्दै जानेछ । यसको लागि प्राविधिक जनशक्ति उत्पादन गर्नु पनि उत्तिकै आवश्यक छ,' उनले भने, 'यस शिक्षाको क्षेत्रबाट नै सम्बोधन गर्ने हो ।' यसको लागि सञ्चार मन्त्रालयले शिक्षा मन्त्रालयसँग छलफल गरिरहेको उनले बताए । साथै नेपालले फिनटेक र डिजिटल अर्थतन्त्रको क्षेत्रमा पनि विस्तारै सुधार गर्दै गइरहेको उनले बताए ।  

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालको सूचना प्रविधि पूर्वाधारको पहुँच र विकासको विद्यमान अवस्थितिको विषयमा जानकारी दिएका थिए । त्यसैगरी पीडब्लुसी भारतका प्रविधि परामर्शदाता सन्तोष मिश्र र अजरबैजनका राजदूत माननीय अश्रफ शिखालिएभले आ-आफ्नो देशमा भएको प्रविधि पूर्वाधार विकासको विषयमा जानकारी दिएका थिए ।

विश्व बैंकका वरिष्ठ डिजिटल विकास विज्ञ सिद्धार्थ राजाले प्रविधि क्षेत्रमा ठूलो छलाङ मार्नको लागि सार्वजनिक र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताए । 'यो क्षेत्रमा निजी र सार्वजनिक क्षेत्र मिलेर काम गरेको धेरै कम देखिन्छ । त्यसैले यो अन्तर हटाउनु जरुरी छ,' उनले भने, 'नेपालले ध्यान दिनुपर्ने विशेष क्षेत्र भनेको ब्रोडब्यान्ड कनेक्टिभिटी, डेटा इकोनोमी र जनशक्ति उत्पादन हुन् ।'

त्यस्तै उनले नेपालमा डेटा सेन्टरहरू स्थापना गर्नको लागि वातावरण सहज बनाउनुपर्ने पनि बताए । किम्बु टेकका संस्थापक तथा सीईओ कार्विका थापाले आईटीको क्षेत्रमा दक्ष जनशक्ति निकै कम भएको र यसको लागि निजी क्षेत्रहरूले मात्र नभइ सरकारले पनि पहल गर्नुपर्ने बताइन् । 'प्रविधिको क्षेत्रमा अहिले विद्यमान सबैभन्दा ठूलो समस्या भनेको नै दक्ष जनशक्तिको आपूर्ति हो । कामको अवसर धेरै छ तर यहाँ काम गर्ने मानिस कम हुँदा समस्या आएको छ,' उनले भनिन्, 'भोलीको दिनमा यो अवसर झनै ठूलो भएर जानेछ । आउने भविष्यको मागलाई सम्झेर पनि हामीले आज देखि नै यो क्षेत्रमा काम सुरु गर्न आवश्यक छ ।'


 


Author

थप समाचार
x