यी हुन् २०७७ सालमा आएका जलविद्युत् र सौर्य आयोजना
तस्बिर : सिंगटी हाइड्रो
काठमाडौँ : गत वर्ष २०७७ मा जम्मा १० वटा जलविद्युत् कम्पनीका ६०.२७७ मेगावाट मात्र बिजुली उत्पादन हुन सकेको छ । उत्पादित विद्युतमध्ये १८.५ मेगावाट सौर्य ऊर्जा छन् । २०७७ को सुरुमै व्यापारिक उत्पादन गरेको जलविद्युत् सुपर माइ ‘ए’ (९.६ मेगावाट) हो । यो आयोजनाले गत वर्षको जेठमै व्यापारिक उत्पादन सुरु गरेको थियो । त्यसपछि सुपर माई क्यासकेड (३.६ मेगावाट) गत असारमा आएको विद्युत् प्राधिकरणको तथ्यांकले देखाउँछ ।
प्राधिकरणको तथ्यांकअनुसार गत २०७७ सालमा व्यापारिक उत्पादन सुरु भएका आयोजनामध्ये सबैभन्दा ठूलो नामार्जुन मादी (११.८८ मेगावाट) हो । हिमालयन हाइड्रोपावरले प्रा.लि ले प्रवर्द्धन गरेको यो आयोजना कास्कीमा पर्छ ।
निजी क्षेत्रले प्रवर्द्धन गरेको विद्युत् आयोजनामा दोस्रो ठूलो धनुषास्थित इको पावर डेभलपमेन्ट कम्पनीको सौर्य ऊर्जा (१० मेगावाट) हो । यसैगरी रुपन्देहीस्थित रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पनि साढे आठ मेगावाटको बुटबल सोलार प्रोजेक्ट सम्पन्न गरेको छ ।
गत साल व्यापारिक उत्पादनमा आएका अन्य जलविद्युत् आयोजनाहरुमा सेन्चुरी इनर्जी प्रालिले प्रवर्द्धन गरेको सिन्धुपाल्चोकस्थित हाडी खोला सुनकोसी ए (९९७ किलोवाट) छ । खोटाङमा रावा इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरेको माथिल्लो रावा (३ मेगावाट) पनि गत सालमै व्यापारिक उत्पादन सुरु भएको हो ।
दोलखास्थित घट्टे खोलामा मनकामना इन्जिनियरिङ हाइड्रोपावर प्रालिले निर्माण गरेको पाँच मेगावाटको जलविद्युत् पनि गत सालमै व्यापारिक उत्पादनमा आएको हो । त्यस्तै कास्कीस्थित सिभिल हाइड्रोपावर प्रालिले निर्माण गरेको विजयपुर २ खोला साना जलविद्युत् (४.५ मेगावाट) पनि गत सालदेखि नै उत्पादनमा आएको हो ।
गत साल सौर्य र जलविद्युत् मात्र होइन, चिनी उद्योगले पनि बिजुली निकाल्न सफल भए । महोत्तरीस्थित एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले तीन मेगावाटको बिजुली उत्पादन गर्यो । प्राधिकरणले चिनी मिलको सहउत्पादन (बिजुली) खरिद गर्ने नीति लिएपछि पहिलोपटक एभरेष्ट सुगरले बिजुली उत्पादन गरेको हो । एभरेष्ट सुगर र प्राधिकरणबीच गत २०७५ असोज १७ गते विद्युत् खरिद सम्झौता (पीपीए) भएको थियो ।
गत साल आयोजना निर्माण सम्पन्न भएर पनि व्यापारिक उत्पादन सुरु गर्न नपाएको आयोजनाहरुमध्ये सबैभन्दा ठूलो माउन्टेन इनर्जी नेपाल लि (साविकको रोबोष्ट इनर्जी प्रालि) ले प्रवर्द्धन गरेको मिष्ट्री खोला (४२ मेगावाट) हो । २०६७ साल माघ २० गते पीपीए भएर पनि विभिन्न कारणवश सम्पन्न हुन नसकेको मिष्ट्री खोलाले ‘ड्राइ टेष्ट’ (सुख्खा परीक्षण) गरिसकेको छ भने यही आर्थिक वर्षभित्र व्यापारिक उत्पादन सुरु गर्न लागेको प्राधिकरणले जनाएको छ ।
मिष्ट्रीपछि निजी क्षेत्रले प्रवर्द्धन गरेको र २०७७ सालमा सुख्खा परीक्षण सम्पन्न भएको अर्को आयोजना हो सिंगटी खोला (२५ मेगावाट) । सिंगटी हाइड्रो इनर्जीले यस आयोजना पीपीए सात वर्षअघि भएको थियो । शिवश्री हाइड्रोपावरले प्रवर्द्धन गरेको सिन्धुपाल्चोकस्थित अप्पर चाकू ए (२२.२ मेगावाट) २०७७ सालमै सुख्खा परीक्षण सम्पन्न गरे पनि व्यापारिक उत्पादन सुरु गरेको छैन । यो आयोजनाले पनि चालू आर्थिक वर्षभित्रै व्यापारिक उत्पादन गर्ने भएको छ । अप्पर चाकूले पनि झन्डै ११ वर्षअघि (२०६७ भदौ २२ गते) पीपीए गरेको थियो ।
त्यसैगरी २०७७ सालमा आयोजना निर्माण सम्पन्न भएर हाल परीक्षण गरिरहेको टक्सार पिखुवा खोला (८ मेगावाट) ले पनि यही आर्थिक वर्षभित्र व्यापारिक उत्पादन सुरु गर्ने भएको छ । प्राधिकरणले चालू आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा ३० वटा आयोजनाबाट कूल ८२४.५६० मेगावाट विद्युत् प्रणालीमा थप हुने अपेक्षा गरेको थियो । कूल अपेक्षित उत्पादनमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसीको पहिलो युनिट आगामी वैशाख १५ गते हुने प्राधिकरणले जनाएको छ ।
माथिल्लो तामकोसीको परिवर्तित उत्पादन मितिअनुसार दोस्रो युनिट आगामी वैशाख ३१ मा, तेस्रो युनिट जेठ १५, चौथो युनिट जेठ ३१, पाँचौं युनिट असार १५ र अन्तिम तथा छैटौं युनिट असार ३१ गते उत्पादन हुनेछ ।
आगामी आर्थिक वर्ष २०७८/७९ मा भने विभिन्न ६० वटा आयोजनाबाट ९५५.३५७ मेगावाट बिजुली प्रणालीमा थप हुने प्राधिकरणको आँकडा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया