अर्थ / बाणिज्य

मध्यनेपाल नगरपालिकाले के-के गर्‍याे सय दिनमा

इकागज |
भदौ ३१, २०७९ शुक्रवार १६:६ बजे

लमजुङ । स्थानीय निर्वाचनपछिका एक सय दिनमा भएका कार्यप्रगति सार्वजनिक गरेकाे छ । नेपालकै मध्यभागमा रहेकाे याे नगरपालिकाले ३० वैशाख ०७८ मा सम्पन्न स्थानीय निर्वाचनपछि नगरपालिकाले गरेका १३ वटा कार्यप्रगतिबारे बुँदागत रूपमा जानकारी गराएकाे हाे ।

नगर प्रमुख रमेशकुमार पाण्डेले सय दिनकाे कार्यप्रगतिबारे जानकारी गराउँदै यस अवधिमा नगरपालिका क्षेत्रभित्र रहेका क्याम्पस तहमा पढ्ने विद्यार्थीलाई स्नातक तहमा अध्ययन गर्दा उक्त तह निःशुल्क पढाउने ब्यवस्था गरिएकाे बताए । उनले नगरपालिकाकाे वडा नम्बर ७ र ८ का वडा कार्यालयकाे भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रदान गर्न थालिएकाे र नगरपालिकामा आउने सबै सेवाग्राहीलाई नि:शुल्क फाेटाेकपी सेवा उपलब्ध गराइएकाे बताए ।


यस अवधिमा नगरकाे वडा नम्बर ३ मा निर्माणाधीन अवस्थामा रहेकाे १५ शैयाकाे अस्पतालकाे पहिलाे एक तलामा ढलान सम्पन्न भएकाे र वडा नम्बर १, २, ७ र ९ मा सडक कालाेपत्रे गर्ने कार्यलाइ तीब्रता दिई काम अगाडि बढाइएकाे पाण्डेले जानकारी गराए । उनले नगरपालिकाले मृगाैलापीडित (डायलाइसिस, मृगाैला प्रत्याराेपणा) र क्यान्सर पीडितहरूकाे तथ्यांक संकलन गरी मासिक तीन हजार उपचार खर्च दिने कार्य अगाडि बढाएकाे पनि जानकारी दिए ।

पाण्डेले नगरपालिकाकाे निर्माणाधीन अवस्थामा रहेकाे प्रशासकीय भवन यही आउँदाे कात्तिक मसान्तसम्म सम्पन्न हुने गरी कार्य अगाडि बढाइएकाे र नगर क्षेत्रभित्र रहेका धार्मिक स्थलहरूमा साैर्य ऊर्जा जडान कार्य अगाडि बढाएकाे उनले बताए ।

नगरपालिकाले आवब. २०७८/०७९ मा सञ्चालन गरेका स्वास्थ्यतर्फका कार्यक्रमहरूबाट वार्षिक कार्यक्रमकाे नगरस्तरीय समीक्षा गर्दै जिल्ला र प्रदेशसम्म सहभागी भई गण्डकी प्रदेशमै मूल्यांकनमा प्रथम स्थान हासिल गर्न सफल भएकाे जनाएकाे छ । गत आवमा सञ्चालित कार्यक्रमहरूकाे मलेप गर्ने काम पनि सम्पन्न भएकाे नगर प्रमुख पाण्डेले बताए ।

त्यस्तै नगरपालिकाकाे पहलमा रम्घा स्वास्थ्य चाैकीमा एम्बुलेन्स सेवा विस्तार गर्न लागिएकाे र वडा नम्बर २ र ४ जाेड्ने माेटरेबल पक्की पुलकाे निर्माण कार्य अगाडि बढाइएकाे पनि नगर प्रमुख पाण्डेले बताए । पाण्डेले यस अवधिमा सर्वसम्मत र उत्साहित रूपमा नगर सभा सम्पन्न गरिएकाे पनि जानकारी दिएका छन् । मध्यनेपाल नगरपालिकाले लमजुङमै पहिलाे आफ्नाे एक सय दिनकाे कार्यप्रगतिबारे जानकारी गराएकाे हाे । आठवटा स्थानीय निकाय रहेकाे लमजुङमा चार नगर र चार गाउँपालिका छन् । अन्य पालिकाहरूले अहिलेसम्म सय दिनका कामकाे जानकारी गराएका छैनन् ।


Author

थप समाचार
x