अर्थ / बाणिज्य

अरुण भ्यालीको हकप्रद बिक्री ६ गतेबाट

इकागज |
बैशाख ३, २०७८ शुक्रबार १५:४६ बजे

काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आगामी ६ गतेबाट हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । १ सेयर बराबर ०.५ सेयरका दरले हकप्रद सेयर वितरण गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

५२ लाख ४१ हजार एक सय ९७ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । निष्काशन खुल्ला अवधि २६ गतेसम्म कायम गरिएको छ । कम्पनीको स्थापनाकाल देखि हालसम्मको संक्षिप्त इतिहास देहाय बमोजिम रहेको छ।

नेपाली निजी क्षेत्रका उद्यमीहरु मिलेर अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड २०५४ साल फागुन १९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राईभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई कारोबार संचालन गर्दै आएकोमा कम्पनीमा जनसहभागीता विस्तार गर्ने हेतुले २०६२ साल भाद्र द& गतेका दिन पब्लिक लिमिटेड कम्पनीमा परिणत गरिएको हो ।

कम्पनीमा स्थापना कालमा ८२ जना संस्थापक शेयरधनी रहनु भएको थियो । कम्पनीको प्रवन्धपत्र तथा नियमावली अनुसार जारी पूँजीको ७० प्रतिशत संस्थापक सेयर विभिन्न संस्था तथा व्यक्तिहरुले, ३० प्रतिशत सर्वसाधारणमा निष्काशन तथा बाँडफाँट गर्ने व्यवस्था रहे बमोजिम निष्काशन तथा बाँडफाँड गरिएको थियो । मिति २०६९ भाद्र १ गते देखि कम्पनीको संस्थापक सेयरको लकईन पिरियड्ड समाप्त भएकाले हाल संस्थापक समुहका शेयरहरु साधारण शेयर सरह कारोबार भै रहेकाले कम्पनीमा साधारण सेयर समूह मात्र रहेको छ।

कम्पनीले पिलुवाखोलाको पानी उपयोग गरी ३,००० किलोवाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना निमार्ण गर्ने २०५७ साल कात्तिक महिना देखि कार्य सुरु गरी मिति २०६० श्रावणमा निर्माण कार्य सम्पन्न गरी २०६० साल आश्विन १ गते देखि व्यावसायिक उत्पादन गरिरहेको छ । यस आयोजनाले प्रदेश नं. १ को कोशी अंचलका पहाडी जिल्लाहरुमा लोडसेडिंग हटाई भरपर्दो, उपयुक्त भोल्टेजको विद्युतशक्ति आपूर्ति गरी देश निमार्णमा सहयोग गरीरहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले निर्माण गरेको पिलुवाखोला आयोजनाबाट उत्पादन गरिएको विद्युत शक्ति एकमृष्ठ नेपाल विद्युत प्राधिकरणले खरीद गर्न मञ्जुर गरी कम्पनी र प्राधिकरण बीच २०५६ साल माघ ९ गते विद्युत् खरीद बिक्री सम्झौता भएको छ । यो विद्युत खरीद बिक्री सम्झौता अनुसार आयोजनाले व्यापारिक उत्पादन सुरू गरेको मिति देखि २५ बर्ष सम्मका लागि कायम रहेकोछ । सम्झौताको अवधि पुरा भएपछी दुवै पक्षको सहमतिबाट सम्झौता नविकरण गर्न सकिने व्यवस्था छ ।

कम्पनीले काबेली खोलाको पानी उपयोग गरि प्रदेश नं. १ जिल्ला पाँचथर हिलिहाङ गाउ पालिका वडा नं. १ मा ९९४० किलोवाट क्षमता भएको काबेली बी १ क्यासकेड परियोजना मिति २०७६ पुष देखि निर्माण कार्य सुरु गरि रहेको छ। उक्त आयोजनाको निर्माण कार्य २०७६ साल भाद्र मसान्त सम्ममा सम्पन्न गरि २०७८ साल असोज १ गते देखि राष्ट्रिय प्रसारण लाईनमा जोडिने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।



Author

थप समाचार
x