अर्थ / बाणिज्य

५० हजार खसीबोका निर्यात हुँदा ६० करोड आम्दानी

इकागज |
असोज १६, २०७९ आइतवार १३:१३ बजे

सुर्खेत भेरीगङ्गा- कर्णाली प्रदेशबाट यो वर्ष दसैँका लागि ५० हजार खसीबोका र भेडाच्याङ्ग्रा निर्यात भएको छ । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपंक्षी विकास निर्देशनालयका अनुसार उक्त संख्याका खसीबोका र भेडाच्याङ्ग्रा निर्यात हुँदा रु ६० करोडभन्दा बढी रकम भित्रिएको निर्देशनालयका सूचना अधिकारी मोहन गिरीले जानकारी दिए ।

उनले भने, 'स्थानीय र प्रदेश सरकारले विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरी किसानलाई आकर्षित गर्ने प्रयास गरेकाले पनि पशुपालन व्यवसाय बढेका छन्, त्यसैले उत्पादन पनि बढेको छ ।'


अहिले प्रदेशका चार वटा नाका सुर्खेतको कर्णाली चिसापानी कुइने र हर्रे, सल्यानको कालिमाटी काल्चे तथा कपुरकोट नाकाबाट मासुका लागि खसीबोका, भेडालगायत पशु निर्यात भइरहेका छन् । गत वर्ष पनि ५० हजारको हाराहारीमा पशु चौपाया मासुका लागि निर्यात गरिएका थिए । तीमध्ये केही खसीबोका बिक्री नभएर फिर्ता आएको सूचना अधिकारी गिरीले बताए । निर्देशनालयका अनुसार दुई हजारभन्दा धेरै खसीबोका र भेडाच्याङ्ग्रा फिर्ता भएको थियो । दसैँ-तिहारमा कर्णालीका विभिन्न जिल्लाबाट खसीबोका एवं भेडाच्याङ्ग्रा देशका विभिन्न ठूला सहरमा निर्यात हुने गरेको छ । 

विगतका वर्षभन्दा अहिले माथिल्लो कर्णालीका हिमाली जिल्ला जुम्ला, कालिकोट, हुम्ला, मुगु र डोल्पामा भेडाच्याङ्ग्राको उत्पादन वृद्धि भएको देखिएको छ । 

खसीको मासुमा कर्णाली आत्मनिर्भर

कर्णाली प्रदेश खसीको मासुमा आत्मनिर्भर बनेको छ । विभिन्न उत्पादनमुखी कार्यक्रम सञ्चालन हुँदा खसीको मासुमा प्रदेश आत्मनिर्भर भए पनि कुखुराको मासु भने अझै बाहिरबाट निर्यात गर्नुपर्ने भएको छ ।


Author

थप समाचार
x