अर्थ / बाणिज्य

भवानी राणा र राजेशकाजी श्रेष्ठबीचको द्वन्द्वको दरार मेट्दै महासंघ र चेम्बर

इकागज |
बैशाख ५, २०७८ आइतबार १९:३६ बजे

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले एक अर्को संस्थाका नव निर्वाचित पदाधिकारी लगायत निर्वाचित कार्यसमितिलाई शुभकामना आदान–प्रदान गरेका छन् । व्यापारी/व्यवसायीको सबैभन्दा पुरानो संस्था नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग वाणिज्य महासंघबीच यसअघिको नेतृत्वका समयमा ठूलो दरार पैदा भएको थियो । पुरानो संस्था हुनुको नाताले महासंघले काठमाडौँमा जिल्ला उद्योग वाणिज्य संघ स्थापना नगरी उक्त मान्यता नेपाल चेम्बर अफ कमर्सलाई नै दिएको थियो । 

तर चेम्बरका तत्कालीन अध्यक्ष राजेशकाजी श्रेष्ठ र भवानी राणाबीचको मनमुटाव दुवै संस्थाको सम्बन्धमा समेत देखापरेको थियो । श्रेष्ठले सात दशक पुरानो संस्थालाई महासंघले सम्मान गर्न नसकेको आरोप लगाएका थिए । नेपाल चेम्बरले महासंघको सदस्यबाट अलग्गिएर देशभर आफ्नो सञ्जाल निर्माणलाई तीव्रता दिएका थिए भने महासंघले काठमाडौँ उद्योग वाणिज्य संघ स्थापना गरेको थियो । काठमाडौँ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष दिनेश श्रेष्ठ अहिले महासंघको जिल्ला–नगर उद्योग वाणिज्य संघका तर्फबाट उपाध्यक्ष छन् । 


नेपाल चेम्बर अफ कमर्समा हालै नयाँ नेतृत्व आएको हो । चेम्बरका तत्कालीन अध्यक्ष श्रेष्ठ हालै कार्यकाल पुरा गरी बाहिरिएपछि यसअघिका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले चेम्बरको नेतृत्व लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन भने मंसीरमा भएको हो । महासंघमा शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यसमिति आइसकेपछि उनले चेम्बर अफ कमर्ससँग पनि सहकार्य शुरु गरेका थिए । यसअघि कृषिका प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खोल्ने सरकारको निर्णयपछि पनि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त विज्ञप्ति जारी भएको थियो । 

‘हामी निजी क्षेत्रको एजेण्डा एकै हो, हामीबीच कुनै प्रतिस्पर्धा छैन । साझा मुद्दामा काम गर्दा हाम्रो आवाज एक हुनुपर्छ । त्यसकारण यो सहकार्य अपेक्षित हो,’ महासंघका अध्यक्ष गोल्छाले भने । यसअघि महासंघ, परिसंघ र चेम्बरबीच एकअर्काले आयोजना गरेको कार्यक्रममा एकअर्काको नेतृत्वले सहभागिता जनाउने अभ्यास पनि थिएन । यसअघि नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘मेक इन नेपाल’ अभियानको सार्वजनिकीकरण कार्यक्रममा महासंघका अध्यक्ष गोल्छा सहभागी भएका थिए । गोल्छाले आफू निजी क्षेत्रका संस्थाहरूसँ सधैं सहकार्य गरेर अघि बढ्ने बताएका छन् । 
 


Author

थप समाचार
x