अर्थ / बाणिज्य

नेपालको अर्थतन्त्र ५.१ प्रतिशत विस्तार हुन्छ : विश्व बैंक

इकागज |
असोज २१, २०७९ शुक्रबार १५:५४ बजे

काठमाडौंँ - विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । बैंकले बिहीबार नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको हो । सरकारले बजेटमा यस आवमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

बैंकले आ.व वर्ष २०२२/२३ मा ५.१ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यो एसियाली विकास बैंकले केही साता अगाडि गरेको प्रक्षेपणको तुलनामा सामान्य बढी हो । एडीबीले भने ४.७ प्रतिशतले अर्थतन्त्र विस्तार हुने अनुमान गरेको छ ।


विश्व बैंकले कोरोनापछि पर्यटन क्षेत्रमा देखिएको सुधार र विद्युत् उत्पादनमा भइरहेको वृद्धिले समग्र उत्पादन क्षेत्रमा पर्ने सकारात्मक प्रभावका कारण अर्थतन्त्र विस्तारमा योगदान पुग्ने विश्लेषण गरेको छ । यसले नेपालमा सार्वजनिक ऋणको स्तर स्थिर रहने अपेक्षा गरिएको विश्व बैंकको भनाइ छ ।

विदेशी मुद्राको सञ्चितीमा परेको दवाब समेत क्रमशः कम हुँदै जाने अनुमान छ । आगामी आर्थिक वर्षका लागि भने अर्थतन्त्र विस्तारको अनुमान ४.९ प्रतिशत मात्र गरिएको विश्व बैंकले जनाएको छ ।

यस वर्ष दक्षिण एसियाली क्षेत्रको विस्तार औसतमा ५.८ प्रतिशत रहने छ । यस भेगमा भारतले सेवा क्षेत्र र निर्यात व्यापारका कारण सकारात्मक वृद्धि गरिरहेको पाइएको छ । रुस-युक्रेन युद्ध र यसले मूल्यमा परेको चापको प्रभाव भने कुनै न कुनै रुपमा सबैजसो मुलुकले भोग्नु परेको विश्व बैंकले जनाएको छ ।

दक्षिण एसियामा सबैभन्दा संकटमा भने श्रीलंकाको अर्थतन्त्र रहेको छ । यो वर्ष सो मुलुकको अर्थतन्त्र ९.२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । यो सन् २०२३ मा ४.२ प्रतिशतले गिरावट आउने छ ।


Author

थप समाचार
x