अर्थ / बाणिज्य

वातावरणमैत्री निर्माण सामग्रीको प्रयोगमा जोड

इकागज |
असोज २९, २०७९ शनिबार २१:४७ बजे

काठमाडौँ- प्राकृतिक विनाश गरेर उत्पादित निर्माण सामग्रीभन्दा प्रकृतिको संरक्षण गरी बनेका निर्माण सामग्रीको प्रयोगमा जोड दिइएको छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले पछिल्लो समय आधुनिक निर्माण सामग्रीको रूपमा विकास भएको इको प्यानलको प्रयोगमा जोड दिएका हुन् ।


भक्तपुरको ख्व्प कलेजमा वातावरण विज्ञान विषयका प्राध्यापकसमेत रहेका इन्जिनियर दुवालले प्राकृतिक विनाश हुँदै गएकोमा चिन्ता व्यक्त गरे । यही कारण प्रकृतिलाई जीवन्त बनाइराख्न सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको जोड थियो । 

भौतिक संरचनाको निर्माणमा प्रयोग हुने परम्परागत निर्माण सामग्रीहरू जस्तै इँटा, बालुवा, झ्यालढोका लगायतका निर्माण सामग्री प्रकृतिको दोहनबाटै बन्ने गरेको उनले बताए । माटोबाट इँटा, खानीबाट बालुवा अनि रूखविरूवा काटेर बनेका काठबाट झ्यालढोका बन्ने भएकाले वातावरण विनाश नगरी बनेका निर्माण सामग्रीहरूको उपभोग गर्नुपर्नेमा उनको जोड थियो ।

'हिजाेआज यी निर्माण सामग्रीको विकल्पका रूपमा विभिन्न आधुनिक निर्माण सामग्री पनि बजारमा आइरहेका छन् । यीमध्ये इको प्यानल पनि एक हो,' नेपाल इको प्यानलका सिइओसमेत रहेका इन्जिनियर दुवाल भन्छन्, 'जे भए पनि प्राकृतिक विनाशलाई रोक्नमा सबैले सहयोग गरौं भन्ने लाग्छ ।'

इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामग्री हो ।​ इको प्यानल भूकम्प प्रतिरोधी मात्रै नभई वातावरणमैत्री पनि रहेकाले यसको प्रयोगबारे जनचेतना फैलाउनुपर्नेमा उनको जोड थियो । 


Author

थप समाचार
x