अर्थ / बाणिज्य

विदेशबाट आयातित खाद्य वस्तुलाई प्रतिबन्ध लगाउन विज्ञहरूको जोड

इकागज |
असोज ३०, २०७९ आइतबार १८:२ बजे

काठमाडौँ- नेपालको खाद्य प्रणालीमा सुधार र खाद्य सम्प्रभुताका लागि विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिबन्ध गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूले बताएका छन् ।

पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै विज्ञहरूले विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिबन्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै विज्ञहरूले वातावरणीय प्रभावको कारण खाद्य पदार्थ उत्पादनमा कमी आउँदा विश्वमा नै खाद्य संकट आउन थालेको बताए ।


कृषि विज्ञहरूले वातावरणीय प्रभावलाई सन्तुलनमा राखेर खाद्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको पनि बताए । नेपालमा खाद्य प्रणालीमा सुधार ल्याउन कृषि क्षेत्रमा लगानी वृद्धि र सरकारले कृषि क्षेत्रलाई व्यवस्थित बनाउने गरी प्रोत्साहन नीति बनाउनुपर्ने विज्ञहरूको सुझाव छ । उनीहरूले कृषि उत्पादनमा ठूलो सम्भावना हुँदासमेत कृषिजन्य सामग्री विदेशबाट आयात भइरहेको प्रति दुःख प्रकट गरे ।

अब नेपाली रैथाने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सबै नेपालीले आयातित कृषिजन्य वस्तु प्रयोगमा प्रतिबन्ध लगाए मात्रै खाद्य प्रणालीमा सुधार र खाद्य सम्प्रभुता हुने उनीहरू बताउँछन् । ४२ औं विश्व खाद्य दिवसको अवसरमा अखिल नेपाल किसान महासंघको आयोजनामा आयोजित नेपालको खाद्य प्रणाली र खाद्य सम्प्रभुता विषयक अन्तरक्रियामा बोल्दै कृषि विभागका उपहानिर्देशक डा. हरिबहादुर केसीले नेपालको कृषि क्षेत्रमा सरकार र निजी क्षेत्रको कृषि अनुसन्धान,जनशक्ति र लगानीको कमी रहेको बताए । उनले पछिल्लो समय कृषि क्षेत्रमा विकास भएका नयाँ प्रविधिहरूले नेपाली रैथाने प्रविधिलाई विस्थापित बनाएको पनि उल्लेख गरे ।

डा. केसीले नेपाली रैथाने प्रविधिलाई नयाँ प्रविधिमा विकास गर्न सकेमा कृषि क्षेत्रमा वैदेशीक रूपमा प्रतिष्पर्धा बढाउन सकिने अवस्था आउने बताए । उनले नेपाली किसानले उत्पादन गरेको वस्तुलाई बजारमा प्राथमिकता दिएर विदेशबाट आयात भएका कृषिजन्य वस्तुलाई प्रतिबन्ध गर्न आवश्यक रहेको बताए ।

त्यस्तै,अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले खाद्य प्रणालीमा सुधार ल्याउन सरकारले खाद्य नियमावली ल्याएर राष्ट्रिय खाद्य सम्प्रभुता परिषद् बनाउनुपर्ने माग गरे । उनले राष्ट्रिय खाद्य सम्प्रभुता परिषद् बनाउँदा स्थायी प्रकृतिको अधिकार सम्पन्न भएमात्रै नागरिकहरू खाद्य अधिकारको पहुँचमा पुग्ने बताए ।

त्यस्तै, मानव अधिकार एलान्सका महासचिव विदुर सुवेदीले नेपालमा कृषि शिक्षाको अभाव रहेको बताए । उनले कृषि सम्बन्धी शिक्षा कमजोर हुँदै गएको अवस्थामा पनि कृषकहरू समेत विदेश जाने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरे ।

 

महासचिव सुवेदीले विकासित मुलुकहरूले हरित ग्यास उत्पादन गरेको कारण खाद्य संकट आउन थालेको बताए ।


Author

थप समाचार
x