फास्टट्रयाक निर्माण सामग्री चोरी, ४ जना पक्राउ
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा फास्टट्रयाक निर्माणको सामान चोरी भएको छ । नेपाल सरकारको राष्ट्रिय गौरवको योजना निर्माण सामग्री चोरी भएको हो ।
मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१२ जितपुर भञ्ज्याङमा फास्टट्रयाक निर्माणको लागि राखिएको फलामको सामन चोरी भएको मकवानपुर प्रहरीले जनाएको छ । फास्टट्रयाक निर्माणको सामान चोरी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्र बहादुर बि.क, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायण बहादुर मोक्तान रहेका छन । प्रहरीका अनुसार फलामको सामानहरु अन्दाजी १२/१३ क्विन्टल बराबरको रहेको छ।
उक्त फलामको सामानहरु ना ५ ख १४४३ नम्बरको बोलेरो गाडीमा चोरी गरि लिएर जाँदै गरेको अवस्थामा अस्थाई प्रहरी पोष्ट जितपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । फलामको सामान बोकेको गाडीलाई बाटो देखाउने बा ५५ च ८५०२ नम्बरको मोटरसाईकललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले बोलेरो, मोटरसाईकल र उक्त मानिसहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया