पुष्प व्यवसाय स्वरोजगारको अर्को विकल्प
मकवानपुर- विशेष गरी हिन्दू समाजमा मनाइने दसैं पर्व भर्खरै सकिएको छ । यतिबेला चुनावी तयारीले छपक्कै ढाकेको छ ।
र, चुनावी सरगर्मी बढ्दै गर्दा तिहारको रमझम पनि सुरु भएको छ । फूलहरूको पर्वको रूपमा चिनिने तिहार घर आँगनमा भित्रिदै छ । आँगनका डिल र बारीका कान्लाहरूमा मखमली र सयपत्री फूलहरू हाँसिरहेका छन् ।
सदा जसो नेताहरूको कार्यक्रममा मालाको व्यवस्थापनमा लाग्ने हेटौंडा ६ चौघडाका पुष्प व्यवसायी बालकृष्ण चौलागाईंलाई अहिले तिहारको व्यस्तताले पनि छोएको छ ।
तिहार पर्वको पर्याय जस्तै हुन् पुष्पमाला, सेलरोटी, दाजुभाइ र दिदीबहिनी । फूलको सुगन्धले सबैको मन तान्छ, सबैलाई आकर्षण गर्छ । तर, फूल जति आकर्षक छ, यसको व्यवसाय त्यति सहज भने छैन ।
पुष्प व्यवसायी चौलागाईं सबै क्षेत्रमा संघर्ष र चुनौती रहेको बताउँछन् । 'संघर्ष र रिस्क सबै क्षेत्रमा हुन्छ, फूलको व्यवसाय झन् रिस्की छ,' उनले भने, 'छोटो समयमा उपलब्धि लिन सकिने भए पनि भण्डारणलगायतको समस्या भएकोले लगानी डुब्ने चिन्ता पनि उस्तै हुन्छ ।'
चौलागाईंले ५ कठ्ठा जमिनमा विगत ५ वर्षदेखि फूल खेती गर्दै आएका छन् । चुनावी सरगर्मी बढ्दै गर्दा फूलमालाको माग बढिरहेको छ । सुरुसुरुका वर्षमा पुष्प व्यवसायबाट राम्रो आम्दानी लिएका चौलागाई पछिल्ला वर्षहरूमा भने समयले साथ नदिएको बताउँछन् । 'गत वर्ष कोरोनाको कारण औपचारिक कार्यक्रमहरू नै भएनन्, फूल खपत गर्नै समस्या भयो, अहिले माग राम्रो छ, तर मौसमले साथ दिएन,' उनले भने । यो वर्ष झरीको समय लामो भएको कारण जिमा अर्थात पानी बढी भएर फूलका बिरुवाबाट राम्रो उत्पादन नभएको उनले बताए ।
फूलको बिरुवा रोपेपछि ३ महिनामा आम्दानी दिन्छ । प्रति फूलको बिरुवामा कम्तिमा एक सय वटा फूल फुल्यो भने राम्रो आम्दानी हुने उनी बताउँछन् । हेटौंडा बजारमा हाल प्रतिमाला औषत ८० रुपैयाँमा बिक्री हुने गरेको छ ।
हाल हेटौंडामा मालाको माग सम्बोधन गर्न चौलागाईं आफैँले सर्लाहीबाट माला झिकाएर पनि बिक्री गर्ने गरेका छन् । सर्लाही जिल्लादेखि ल्याइएको मालालाई स्टोर गर्न उनले भण्डारण कक्षको समेत व्यवस्था गरेका छन् ।
जुन स्टोरमा १० हजार माला अटाउने १५ दिनसम्म राख्न सकिने चौलागाईंले बताए । उनी पूर्व लडाकू हुन, तर पछिल्लो समय उनी कुनै पनि दलमा आबद्ध छैनन् । 'जहाँ निष्ठासहित बाँच्न सकिन्छ, त्यही बसौँ भनेर मैले कृषि रोजेँ,' चौलागाई भन्छन् । उनले आफ्नो रोजाइ आज पनि हतियार नै भएको ठट्टाको शैलीमा भने, 'उबेला राजनीतिमा थिएँ, हतियार (बन्दुक) चलाउँथेँ, अहिले कृषिमा छु, यहाँ पनि हतियार (कुटो, कोदालो) नै चलाउँछु ।' हाल कुनै पनि दलमा आबद्ध नभएपछि सामाजिक कार्य र कृषि कर्ममा तल्लिन छन्, उनी ।
पुष्प व्यवसायको काम उनी आफैँ र परिवारको सदस्यहरूको सहायतामा गर्छन् । नभ्याएको काम ज्यालामा लगाउँछन् । जसले अरूलाई समेत सानोतिनो खर्चको जोहो हुने गरेको छ । माला उने बापत प्रतिमालाको २ रुपैयाँ, फूल टिप्ने, तथा गोडमेल गरेको प्रतिघण्टाको सय रुपैयाँ ज्याला तोकिएको छ ।
५ वर्ष पहिले घाँस फुल्दै आएको भिरालो जग्गामा पछिल्लो ५ वर्षदेखि फूल खेल्ने गरेको छ । स्वरोजगार बन्नका लागि यो बलियो आधार भएको बताउँछन्, उनी ।
तिहारमा फूलको मालाले घर सजाउने मौलिक परम्परा हराउँदै गएको छ । यसको स्थान झिलिमिली बत्ती र प्लास्टिक तथा कागजका मालाहरूले लिँदै आएका छन् । जुन वातावरणमैत्री समेत छैन । युवाहरूलाई स्वरोजगार बन्नतर्फ प्रेरित गर्ने हो भने यो व्यवसायले पनि एउटा विकल्प बन्न सक्छ । र, यसले पनि देशको अर्थतन्त्रमा टेवा दिन सक्छ ।
युवालाई कृषिमा आकर्षण गरी टिकाउका लागि स्थानीय सरकारले कसरत गरिरहेको बताइरहेको छ । तर, युवाहरूको आकर्षण अहिले पनि वैदेशिक रोजगार नै भएकाे देखिन्छ ।
कृषि प्रधान देशमा कृषिमा यान्त्रीकरण र विविधिकरणको खोजी अझै भएको छैन । स्थानीय तहले यसतर्फ ध्यान दिने हो भने नेपाललाई फूलमा आत्मनिर्भर बनाउन सकिने बताउँछन्, उनी ।
प्रतिबन्धित फूल बजारमा छ्यापछ्याप्ती
नेपाल सरकारले पछिल्लो समय प्लाष्टिक प्रतिबन्ध लगाउँदै आएको छ । हेटौंडा बजारमा पनि विगत १ दशकदेखि प्लाष्टिक न्यूनीकरण अभियान जारी छ । तर, तिहारको संघारमा हेटौंडा बजारमा प्रतिबन्धित प्लाष्टिकका मालाहरू छ्यापछ्याप्ती बिक्री भइरहेका छन् । यसको नियमनतर्फ स्थानीय प्रशासन र स्थानीय सरकारले चासो दिएको छैन ।
सरकारले प्लास्टिकका फूलगुच्छा, मालामा प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयनमा ल्याउने भनेर ४ दिनअघि सूचना जारी गर्दै यस्ता मालाहरू बिक्री नगर्ने आग्रह गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले १२ साउनमा देशभर प्लास्टिकका फूलगुच्छा, मालाको उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिबन्ध लगाएकामा तिहार नजिकिँदै जाँदा कार्यान्वयनमा लगेको हो ।
वातावरण विभागले बिहीबार सार्वजनिक सूचना जारी गरी तिहार र छठजस्ता चाडपर्वमा प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न भनेको छ । कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत सूचनामा उल्लेख छ । हेटौंडा उपमहानगरपालिकामा खुलेआम यस्ता मालाहरू बिक्री भइरहेका छन् । तर, प्रशासनले वास्ता गरेको देखिँदैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया