अर्थ / बाणिज्य

जलस्रोत तथा सिँचाइ कार्यालयले १११ वटा योजना निर्माण गर्ने

इकागज |
कात्तिक ९, २०७९ बुधबार १९:२९ बजे

लमजुङ- जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय लमजुङले आर्थिक वर्ष २०७९/०८० मा कार्यालयमा परेका योजनाहरूको निर्माण कार्य सुरु गरेको छ ।

कार्यालयका प्रमुख राजेन्द्र भण्डारीका अनुसार यस आर्थिक वर्षमा संघ सरकार र प्रदेश सरकारमार्फत जिल्लाका लागि प्राप्त भएको १ सय ११  वटा योजनाका काम असोजको दोस्रोबाट सुरु गरिएको हो । 


चालू वर्षमा जिल्लामा सिँचाइ सम्बन्धी संघ र प्रदेशबाट ६८ वटा योजना र नदी नियन्त्रण सम्बन्धी संघ र प्रदेशबाट ४३ वटा योजनाहरू परेको उनले बताए । उक्त योजनाका लागि संघबाट ६ करोड २५ लाख र प्रदेशबाट ९ करोड ९७ लाख रुपैयाँ गरी कूल १६ करोड २२ लाख बजेट आएको छ । कूल १ सय ११ वटा योजनाका लागि आएको उक्त बजेटलाई योजनाको इस्टिमेटअनुसार बजेट विनियोजन गर्ने कार्यालयले जनाएको छ ।

संघ र प्रदेश सरकारबाट जिल्लामा सिँचाइ सम्बन्धी परेका योजनाहरूमा भोर्लेटार सिँचाइ योजना, अलैचेफाँट सिँचाइ योजना अर्चलबोट, राम्चेफाँट सिँचाइ योजना भुजुङ, राईनासटार सिँचाइ योजना, सत्र सय सिँचाइ योजना भोर्लेटार, मोर्ङी सिँचाइ योजना घनपोखरा, नयाँबारी सिँचाइ आयोजना राईनास ८ तार्कुघाट रहेको कार्यालयका इन्जिनियर सुजन खड्काले बताए ।

यस्तै फुलिखेत सिँचाइ योजना क्व्होलासोंथर गाउँपालिका ६, आलेकूलो सिँचाइ दुधपोखरी ४ ताजी, छिनखोला सिँचाइ आयोजना मस्र्याङ्दी ७, लामीखेत सिँचाइ योजना सुन्दरवजार ३, नर्सलबोटे पिप्ले सिँचाइ योजना बेंसीशहर २, खिन्चोक खोला सिँचाइ योजना दोर्दी गाउँपालिकालगायत गरी ६८ वटा सिँचाइ सम्बन्धी योजनाहरू रहेको उनले बताए  ।

यसैगरी संघ र प्रदेश सरकारबाट जिल्लामा नदी नियन्त्रण सम्बन्धी परेका योजनाहरूमा आपतकालीन बाढीपहिरो तथा जलस्रोतसम्बन्धी क्षतिग्रस्त संरचनाहरूको पुनर्स्थापना कार्य, सुनखोला तटबन्ध निर्माण बेंसीशहर ७, खहरेखोला तटबन्ध निर्माण मध्यनेपाल १ र २, दत्तेबाहुनी कुवा नजिक पहिरो नियन्त्रण राईनास ६, फुलबारी ढुंगाफोरुवा बस्ती संरक्षण सुन्दरवजार ९, कोल्की भञ्ज्याङ पहिरो नियन्त्रण दुधपोखरी ५, सिम्लेखेत दाहाल खोला नियन्त्रण राइनास ५, आँसिफाँट बस्ती संरक्षण मध्यनेपाल १०, किरिन्चे खोला नियन्त्रण कार्य सुन्दरबजार ५, डाँडास्वारा पहिरो नियन्त्रण दुधपोखरी २, आपतकालीन बाढीपहिरो नियन्त्रणलगायत गरी ४३ वटा योजना रहेका छन् ।

चालू वर्षका उक्त योजनाहरूमध्ये निर्माण सुरु गरिएको खहरेखोला नियन्त्रण सुन्दरबजार योजनाको काम सम्पन्न भएको इन्जिनियर खड्काले बताए  । 

यस्तै कोत्रिया कूलो सिँचाइ योजना मध्यनेपाल, आलेकूलो सिँचाइ योजना दुधपोखरीको कार्य तीव्र गतिमा अघि बढेको र अन्य योजनाको कार्य पनि सुरु हुने चरणमा रहेको उनले बताए  । 

चालू वर्षका योजनाहरूमध्ये संघ तर्फको ४ वटा र प्रदेश तर्फको १३ वटा योजना गत वर्षको रहेको छ । 

कार्यालयले चालू वर्षका योजनाका कार्यहरू असार मसान्त भित्रका सक्ने गरी योजनाहरूको कार्यलाई तीव्र पारेको सिँचाइ डिभिजन कार्यालयले जनाएको छ ।


Author

थप समाचार
x