बीमा समिति आजदेखि औपचारिक रूपमा नेपाल बीमा प्राधिकरणमा रूपान्तरण
काठमाडौँ- नेपाल बीमा समिति आज (मंगलबार)देखि औपचारिक रूपमा नेपाल बीमा प्राधिकरणमा रूपान्तरण भएको छ ।
मंगलबार कुपण्डोलस्थित पुरानो बीमा समितिको भवनमा नेपाल बीमा प्राधिकरणको औपचारिक रूपमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नयाँ कार्यालयको बोर्ड अनावरण गरेर सुरुवात गरेका हुन् । नेपाल सरकारले ल्याएको नयाँ बीमा ऐन २०७९ आजबाट कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।
गत भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलबारबाट लागू भएसँगै बीमा समिति प्राधिकरणमा रूपान्तरण भएको प्राधिकरणका अध्यक्ष सिलवालले बताए । उनले नयाँ बीमा ऐनले बीमा ऐन २०४९ ले पूरा गर्न नसकेको कामलाई पूरा गर्नसक्ने बताए ।
अध्यक्ष सिलवालले बीमाको बजार, जोखिमको मात्रा र बीमा कारोबारका प्रवृत्तिहरू बढ्दै गएकाले अबको बीमा बजार बीमा ऐन २०४९ ले धान्ने बजार नभएको उल्लेख गरे । उनले आर्थिक रूपले सुरक्षा प्रदान गर्ने बीमा भएकाले नयाँ बीमा ऐनले आर्थिक सुरक्षा गर्नका लागि धेरै नयाँ माध्यमहरू दिएको बताए ।
अध्यक्ष सिलवालले सरकारलाई बीमाका विषयमा बीमा प्राधिकरणले मात्रै सल्लाह दिने गरेको जिकिर गरे । अध्यक्ष सिलवालले अब बीमा क्षेत्रको स्वायत्त निकाय प्राधिकरणबाट नै सिंगो बीमा क्षेत्रको नियमन गरिने बताए ।
बीमा क्षेत्रमा धेरै समस्या रहेकाले सरकारले बीमाका समस्या समाधानका लागि सहयोग गर्ने आशा रहेको अध्यक्ष सिलवालकाे भनाइ छ । उनले बीमा समितिबाट मर्जरका लागि स्वीकृत पाएका कम्पनीहरूले माघ महिनाभित्र मर्जर गर्नुपर्ने पनि बताए ।
आजबाट बीमा समितिले गर्ने सबै कामकारबाहीहरू बीमा प्राधिकरणको नामबाट हुनेछ । यसअघि बीमा समितिले गरेको कामकारबाही समेत नयाँ बनेको प्राधिकरणले स्वामित्व गर्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया