अर्थ / बाणिज्य

दुई करोड बढीको अवैध सामान भैरहवा भन्सारको नियन्त्रणमा

इकागज |
कात्तिक २२, २०७९ मंगलबार २१:३५ बजे

भैरहवा- भैरहवा भन्सार कार्यालयले चोरी पैठारीको अवैध २ करोड बढीको सामान बरामद गरेको छ । चोरी निकासी भइरहेको छ भन्ने सूचना र लोकेशनको आधारमा अवैध रुपमा नेपाल भित्रिसकेका २ वटा पिकअपसहित एक गोदामबाट भारी मात्रामा विभिन्न वस्तु बरामद भएको हो । 

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलको नेतृत्वमा गएको टोलीले बिहान साढे ५ बजे बुटवलबाट एक पिकअपबाट कपडा, बिहान ८ बजे कपिलवस्तुको पकडीबाट एक पिकअप सुर्ती र कपिलवस्तु चाकाचौडा नाकाको मायादेवी –८ बरकुलबाट उनीहरूले स्टक बनाएर राखेको  गोदामबाट कपडा, जुत्ता, चप्पल, सुर्ति, गुटखाका प्याकिङ सामान, रेक्सीन लगायतका वस्तु बरामद गरेको हो ।


प्रारम्भिक तथ्याङकअनुसार २ करोड बढीकाे सामान छ । बरामद सबै सामानको तथ्याङ्क संकलन भइरहेको छ । ती सामान सबै लिलाम हुन्छ भने गोदाममा सामान मात्रै भेटिएकाले शंकास्पद व्यक्तिको पहिचान गरी मुद्दा दर्ता हुने प्रमुख पौडेलले बताए ।

'बिहानैबाट खटिएको टोली लोकेशन अनुसार नै ती वस्तुहरू नियन्त्रण लिँदै गइरहेको थियो । गोदामबाट गइरहेको सामानहरू बाटोमा फेला पारेपछि हामी कपिलवस्तु र रुपन्देही प्रशासनको सहयोगमा गोदाम सम्म पुगेर सामान बरामद गर्याैं,' भन्सार प्रमुख पौडेलले भने । सम्भवतः बरामद सामान एकै ठाउँको यति ठूलो मात्रामा यस क्षेत्रकै पहिलो हो । भैरहवा भन्सार कार्यालयमा आइरहने नियमित सामानहरू नै गोदामबाट बरामद भएको छ । 

अहिले गृहमन्त्री यस क्षेत्रमा केन्द्रित भइरहँदा पनि करोडौँको सामान बरामद हुन भनेकै सुरक्षा प्रमुखमाथि नै प्रश्न उठेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करी शून्य छ भनिरहँदा भन्सारले ठूलो मात्रामा यी सामान बरामद हुनु भनेको तस्करी मिलोमतोमा भइरहेको छ भन्ने पुष्टि हुन्छ । सयौँ सुरक्षा जनशक्ति र संयन्त्र हुँदा पनि नसमातिनु भन्सारको गस्ती टोलीले समात्नु भनेकै प्रहरीमाथि शंकाको प्रश्न छ । न्युज कारखाना


Author

थप समाचार
x