अष्ट्रेलियाले रद्द गर्यो चीनसँगको बीआरआई सम्झौता
काठमाडौँ : चीन र अष्ट्रेलियाबीचको कुटनीतिक सम्बन्धमा तनाव थपिदैं जाँदा क्यानबेराले बेइजिङसँगको एउटा महत्वपूर्ण सम्झौता रद्द गरिदिएको छ । अष्ट्रेलिया सरकारले भिक्टोरिया राज्य सरकारसँग चीन सरकारले अघि बढाएका बेल्ट एण्ड रोड इनिसियटीभ (बीआरआई) सम्झौता रद्द गरेको हो । बीआरआई चिनियाँ राष्ट्रपति सी जिनपिङले अघि बढाएको अवधारणा हो र यसका माध्यमबाट चीनले आफ्नो नरम शक्ति (सफ्ट पावर) विश्वभर पुर्याउन चाहेको छ ।
भिक्टोरिया अष्ट्रेलियाको दोस्रो धनी राज्य हो । भिक्टोरिया र चीन सरकारबीच बीआरआई सम्झौतामा सन् २०१८ को अक्टोबरमा सम्झौता भएको थियो । अष्ट्रेलियाका राज्य सरकारहरूमध्ये भिक्टोरियाले मात्र चिनियाँ राष्ट्रपति सीको विश्वव्यापी पूर्वाधारको ‘सिग्नेचर प्रोजेक्ट’मा आवद्ध हुन सहमत भएको थियो । राष्ट्रपति सीले चीनको भावी आर्थिक विस्तारको लागि बीआरआई अन्तर्गत युरोप र एसियाबीच व्यापार करिडोर विकास गर्ने हेतुले ऐतिहासिक रेशम मार्गलाई ब्युँताउने अवधारणा अघि सारेका छन् । जसलाई युरोप र एसियाको साझा व्यापारिक पूर्वाधारको रूपमा अघि बढाउन चीनले यसमा जोडिन यस क्षेत्रका सबै राष्ट्रहरूलाई आग्रह गर्दै आएको छ । यसमा आवद्ध भएका राष्ट्रहरूले बेइजिङबाट ठूलो हिस्सामा लगानी पनि प्राप्त गरेका छन् । भिक्टोरिया र चीनबीचको सम्झौतामा पनि भविष्यमा लगानी र व्यापार प्रवद्र्धन गर्ने उल्लेख थियो ।
तर अष्ट्रेलियाकी विदेश मन्त्री मरिस पिनले संघीय सरकारले अष्ट्रेलियाका राज्य सरकार र विदेशी सरकारहरूसँगका एक हजार सम्झौताहरूको मूल्यांकन गरेको बताउँदै चार सम्झौता रद्द गरेको बताइन् । भिक्टोरिया राज्यले नै सम्झौता गरेको चीनसँगका दुई, इरान र सिरियासँगका एक–एकओटा सम्झौता रद्द गरेको बताइएको छ । विदेशमन्त्रीले यी सम्झौता अष्ट्रेलियाको विदेश नीतिसँग असंगत रहेकाले परराष्ट्र सम्बन्धमा प्रतिकूल प्रभाव पार्ने भन्दै रद्द गरेको मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख गरेकी छिन् । यो कदम गत डिसेम्बरमा अनुमोदीत नयाँ कानुन अनुसार अघि बढाइएको छ । तर जानकारहरूले पछिल्लो कदम भिक्टोरिया र चीन सरकारबीचको सम्झौताप्रति लक्षित रहेको बताएका छन् ।
बिहीबार अष्ट्रेलियन रेडियोसँगको कुराकानीमा विदेशमन्त्री पिनले यो निर्णय कुनै देशप्रति लक्षित नरहेको स्पष्ट पारेकी छिन् । यद्यपि अष्ट्रेलियास्थित चिनियाँ दूतावासले यो सम्झौता रद्द भएकोप्रति खेद प्रकट गरेको छ । बेइजिङले यसमा आफ्नो ‘तीव्र असन्तुष्टी र दृढ विरोध’ रहेको जनाएको छ । ‘अष्ट्रेलिया सरकारले चीनका विरुद्ध यो अर्को औचित्यहीन र भड्काउपूर्ण कदम अघि सारेको छ । यसले अष्ट्रेलिया सरकारलाई चीनसँगको सम्बन्ध सुधार गर्ने कुनै इमानदारिता नरहेको पनि थप पुष्टी गरेको छ,’ अष्ट्रेलियास्थित चिनियाँ दूतावासले सम्झौता रद्द भएपछि दुई देशको सम्बन्धमा ‘थप क्षति’ पुगेको उल्लेख गर्दै वक्तव्य दिएको छ ।
चीन र अष्ट्रेलिया बिग्रदों कुटनीतिक संकटबाट गुज्रिरहेका छन् । अष्ट्रेलियाले सन् २०२० को अप्रिलमा कोभिड–१९ को उत्पत्तिका सम्बन्धमा अन्तर्राष्ट्रिय अनुसन्धानका लागि आह्वान गरेदेखि नै दुई देशबीचको सम्बन्ध राम्रो छैन । त्यसयता दशौं लाख डलर मूल्यका बीफ, कोइला, काठ लगायत अष्ट्रेलियाका आयातले चिनियाँ बजारमा असहज अवस्थाको सामना गरिरहेका छन् । मार्च महिनामा चीन सरकारले अष्ट्रेलियाबाट आयात हुने वाइन चिनियाँ बजारमा ‘डम्प’ गरेर त्यहाँको बजारमा क्षति पुर्याएको आरोपमा २१८ प्रतिशत महशुल लगाएको थियो । सन् २०२० यता अष्ट्रेलियामा चिनियाँ लगानी ६२ प्रतिशतले कमी आई ७ करोड ७५ लाख अमेरिकी डलरमा सीमित भएको छ ।
सीएनएन (हङकङ) को सहयोगमा
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया