कैलालीमा चर्को ब्याजदरविरुद्ध प्रदर्शन
कैलाली । कैलालीका उद्योगी, व्यवसायीले चर्को ब्याजदर विरुद्ध प्रदर्शन गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरूले अस्वभाविक चर्को ब्याजदर बढाएको भन्दै कैलालीका उद्योगी, व्यवसायीहरुले प्रदर्शन गरेका हुन्।
बुधबार धनगढीको ट्राफिक चौराहदेखि नेपाल राष्ट्र बैँक धनगढीसम्म मौन प्रदर्शन गरेका छन्। बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरले व्यवसाय सञ्चालन गर्न समस्या भएको भन्दै विरोधसहित ब्याजदर घटाउन माग गरेका हुन्। कैलाली उद्योग वाणिज्य संघको आयोजनमा विरोध प्रदर्शन गरिएको हो। संघका अध्यक्ष पुष्पराज कुँवरले नेपाल राष्ट्र बैंकको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा गरिएको व्यवस्था र कर्जाको ब्याजदरमा भएको अस्वभाविक वृद्धिले उद्योग व्यवसायी नै धरासायी हुने भन्दै विरोधमा उत्रिनु परेको बताए।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा उद्योगी व्यवसायीप्रति मर्यादित व्यवहार गर्नुपर्ने, कर्जाको ब्याजदरमा एकल अंक कायम गर्नुपर्ने, विगतको चालु पूँजी कर्जा निर्देशिका यथावत राखेर क्रमिक रुपमा लागू गर्नुपर्ने, मौद्रिक नीतिमा भएका छुटलाई कार्यन्वयन गर्नुपर्ने लगायतका माग राखेका छन्। यस्तै कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले राष्ट्र बैंकले जारी गर्ने रिपो कम गर्नुपर्ने, ब्याजदरमा वृद्धि गर्न नहुने, ब्याजदर पुर्नसंरचना गर्नुपर्ने र बैंकले सुरु गरेको सम्पूर्ण लिलाम प्रक्रिया रोक्नुपर्ने बताए।
उनले बैंकले लिने चर्को ब्याजदरकै कारण व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताए। मौन प्रदर्शनसहित व्यवसायमाथिको व्यापार बन्द गर, चालु पूँजी निर्देशिका बन्द गर, प्रिमियर दर वृद्धि नियन्त्रण गर, बैंकको ब्याजदर एकल बिन्दुमा कायम गर, ७ प्रतिशतमा दिएको रिण कसरी १५ प्रतिशत तिर्ने, हामीले आफ्नो पेट पाल्ने कि बैंकको, कि अव वार कि पार, बैंकिङ आतंक बन्द गर लगायतका प्लेकार्डसहित प्रर्दशनमा उत्रिएका व्यवसायीहरुले नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विनोद लेखकलाई ज्ञापनपत्र बुझाएका थिए ।
बैक तथा बित्तीय संस्थाबाट निरन्तर बढिरहेको उच्च ब्याजदर, ताकेता र मानमर्दनले निजी क्षेत्र पीडित बनेको भन्दै मङ्गलवार धनगढीमा उक्त ज्ञापन पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई १० बुँदे ज्ञापन पत्र बुझाइएको थियो। नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाको ब्याजदरप्रति देशैभरी विरोध जनाइरहेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया