साताभर घटेको सेयर बजार अन्तिम दिन बढ्यो
१५ अंकले बढ्यो नेप्से, ६ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि
काठमाडौं : साताभर लगातार ओरालो लागेको सेयर बजार नेप्से परिसूचक कारोबारको अन्तिम दिन १५.८ अंकले बढेको छ । गत साताको बिहीबार २७४१ अंकको रेकर्ड कायम गरेर नेप्से आइतबारबाट क्रमश: ओरालो लागेको थियो । बुधबारसम्ममा आइपुग्दा नेप्से ९५ अंकले घटिसकेको थियो । साताको अन्तिम कारोबार हुने दिन बिहीबार १५ अंको सामान्य वृद्धिले २६४८ बिन्दुमा पुगेको हो ।
होटल तथा पर्यटन र म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक उचालिँदा सेयर बजार बढेको हो । बैंक तथा वित्तीय संस्थाहरूको बर्चस्व रहेको नेप्सेमा बैंकिङ समूहमा ०.५१ प्रतिशतले बढेको छ । तर, नेप्सेलाई बढाउन बैंकिङ समूह मात्रै काफी थिएन । विकास बैंक समूह, माइक्रोफाइनान्स र अन्य समूहमा १ प्रतिशतभन्दा बढी दरमा भएको वृद्धिले नेप्सेलाई बढाउन बल पुगेको हो ।
नेप्सेले कारोबार फुकुवा गरेको भोलीपल्टै विशालबजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ । वित्तीय विवरण नबुझाएको भन्दै नेप्सेले कारोबार रोक्का राखेको थियो । कारोबार खुलेसँगै विशाल बजारको सेयर मूल्य २८८ रुपैयाँले बढेको छ ।
सिन्धु विकास बैंकको सेयर मूल्य समेत सर्किट ब्रेकर लागेर बन्द भएको थियो । त्यसबाहेक ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र एनसीसी बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।
बिहीबार कूल कारोबार ५ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ । ७५ हजार १०८ पटकको कारोबारमा एक करोड ३० लाख कित्ता सेयर किनबेच भएको छ । यसबीच एनसीसी बैंकको अत्यधिक कारोबार भएको छ । यो बैंकको ६२ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया