व्यावसायिक फूल खेतीमा युवा आकर्षण बढ्दै
देउखुरी- दाङमा व्यावसायिक फूल खेतीमा युवा आकर्षण बढ्दै गएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा रु १२ लाख आम्दानी गरेका छन् ।
कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिसकेका पङ्गेनीले गत वर्षदेखि दाङमा व्यावसायिक फूल खेती विस्तार गरेका हुन् । दाङमा १० कट्ठा जमिन मासिक रु दुई हजार भाडा तिर्ने गरी फूल खेती सुरु गरेका हुन् ।
गत वर्ष पाँच कट्ठामा व्यावसायिक फूल खेती गरेका पङ्गेनीले यो वर्ष १० कट्ठामा फूल खेती गरेका छन् । उनले यस वर्ष ‘कर्म ५५५’ जातको सयपत्री फूल खेती गरेका छन् ।
भास्करसँगै व्यवसायमा जोडिएका कृषि प्राविधिक सहायक दशरथ साउदले फूल खेतीको प्राविधिक पक्ष हेर्ने गरेका छन् । कृषि प्राविधिक पढेर कृषिमा लागेका साउदले फूल खेती अवलोकन गर्न आउनेलाई प्राविधिक ज्ञान दिने गरेका छन् ।
घोराही–१५ भरतपुरमा फूलखेती गरिएको स्थानमा 'एग्रो टुरिजम' सञ्चालन गरेका छन् । फूलेका फूललाई सदुपयोग गर्न र टिकटक बनाउने स्थान बनाएर रमाइलो गर्ने ठाउँ बनाइदिएको साउदले बताए । ढकमक्क फूलेका फूलले बारी मनमोहक देखिएको छ । तिहार सकिए पनि फूल ढपक्क फूलेका छन् । टिकटक बनाउन आउनेलाई फोटो खिच्न माला बनाएर दिने गरेको भएर माला बनाउने काम पनि चलिरहेको छ ।
तिहार सकियो, फूलको सदुपयोग गरौँ भनेर यस्तो सोचाइ गरेको उनले बताए । रु पाँच लाख लगानी गरेर फूल खेती गरेको यसपालि तिहारमा रु १२ लाखको फूल बिक्री गरेको साउदले बताए । 'गत वर्षभन्दा यो वर्ष राम्रो आम्दानी भयो । एउटा माला रु १५० देखि तीन सयसम्ममा बिक्री गरेँ,' उनले भने ।
नेपालमा सबैभन्दा धेरै फूल बिक्री आफूले गरेको भास्कर पङ्गेनीले दाबी गरे । 'माला र फूलको अत्यधिक माग आयो आफैँ बजारमा लगेर बिक्री गर्यौं,' उनले भने । अहिले फूल खेती गरिएको ठाउँमा टिकटक बनाउने स्थान सिङ्गारेर चिटिक्क बनाएका छन् । '२५ हजार लगानी गरेर टिकटक स्थान बनाएको हो,' उनले भने । विद्यार्थीलाई रु ५० प्रतिशत सहुलियतमा प्रवेश गर्न दिइएको छ भने अन्य नागरिकलाई रु एक सय लिने गरेको उनले बताए ।
विवाहको कार, विवाह मन्डप सजाउने गरेको उनले बताए । कृषिमा लगानी गरियो भने घाटा हुँदैन नाफा नै हुने गरेको उनको भनाइ छ ।
स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले रु एक लाख आठ हजारको फूलको बीउ किनेर खेती सुरु गरेको उनको भनाइ छ । 'फूलका बिरुवा बिक्री गरेर बीउको पैसा उठिसकेको छ, फूल बिक्री गरेको पैसा सबै आम्दानी हो,' उनले भने ।
जिल्ला बाहिरबाट फूलको माग आएको भए पनि पहिलो प्राथमिकता जिल्ला भित्रलाई दिएर फूल बिक्री गरेको उनले बताए ।
युवा वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेश मै कृषिबाट मनग्गे आम्दानी गर्न सकिने उनको भनाइ छ । बेरोजगार युवालाई कृषिमा समाहित गराउने उद्देश्यले १०८ कन्सेपमा कृषि फर्मको नाम नै (१०८) राखेका छन् । दाङको कृषि फर्म ३ नम्बरको रहेको छ ।
फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उनको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको कृषि विज्ञको भनाइ छ । जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार भएको छ ।
एक सय ८ युवालाई कृषि उद्यमी बनाउने तथा रोजगार प्रदान गर्ने अभियान अन्तर्गत देशव्यापी रूपमा युवालाई कृषिमा सहभागी हुन पङ्गेनीले आह्रान गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया