अर्थ / बाणिज्य

चुनावका दिन आन्तरिक उडान नहुने

इकागज |
कात्तिक २९, २०७९ मंगलबार १५:४० बजे

काठमाडौँ- आसन्न निर्वाचन नजिकिएसँगै हवाई यात्रुको चाप पनि बढेको छ । निर्वाचनको माहोल बढ्दै जाँदा राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको विमानस्थल कार्यालयले जानकारी दिएको छ ।    
    
दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । “निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ”, उनले भने ।    
    
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले यात्रुकाे भीडभाड बढेको हो । यात्रुको सङ्ख्या बढेपछि दसैँ तिहारमा जस्तै एयरलाइन्सको विजनेश पनि बढेको छ ।    
    
वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताए । उनका अनुसार निर्वाचनको अघिल्ला दिन मङ्सिर १, २ र ३ गते तथा मतदानपछि मङ्सिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ । “निर्वाचनअघिका तीन दिन र निर्वाचन पछिका दुई दिन हवाई उडानमा अध्यधिक चाप हुनेछ, अहिले निर्वाचनको सङ्घारमा पनि उडानका यात्रु बढेका छन्”, प्रवक्ता शर्माले भने ।    
    
निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ । बुध्द एयरका वरिष्ठ कार्यकारी प्रबन्धक परासरजङ्ग पाण्डेले पछिल्ला दिनमा उडान चाप बढेको बताए । उनका अनुसार अहिले बुध्द एयरका उडानमा औसत अकुपेन्सी ९० प्रतिशतभन्दा बढी छ ।    
    
“अहिले सामान्य अवस्थामाभन्दा केही यात्रुको सङख्या बढेको छ, आगामी शुक्रबार र शनिबार सङ्ख्या अझ बढ्ने देखिएको छ”, उनले भने, “यी दुई दिनका लागि बुकिङ पनि बढेको छ ।” बुध्द एयरले हाल दैनिक एक सय ५० उडानमार्फत् सात हजार पाँच सयभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीसँग ७२ सिट क्षमताका ११ र ४५ सिट क्षमताका तीन गरी १४ एटिआर र दुई बिचक्राफ्ट गरी कूल १६ जहाज छन् ।          
    
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले निर्वाचनको सङ्घारमा आन्तरिक उडानमा चहलपहल बढेको बताए । कम्पनीको अहिले उडान अकुपेन्सी ८५ देखि ९० प्रतिशत हाराहारीमा रहेको उनको भनाइ छ ।    
    
तर पछिल्लो समय हवाई इन्धनका कारण टिकट मूल्य बढेकाले यसको विकल्प खोज्नेहरु पनि बढेको उनको भनाइ छ । उनका अनुसार काठमाडौँदेखि नजिकको गन्तव्य मानिने सिमराका लागि न्यूनतम रु तीन हजार छ सय र बढीमा चार हजार १५ भाडा दर कायम छ । साथै, काठमाडौँ–धनगढीका लागि अधिकतम रु १६ हजार भाडा तोकिएको छ । यती एयरलाइन्सले छ थान एटिआरमार्फत् सेवा दिइरहेको छ ।    
    
 श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरका अनुसार अहिले आन्तरिक उडानमा सामान्य चाप छ । “निर्वाचनले उडानमा चाप बढेको छ तर धेरै चाप भने छैन”, उनले भने ।    
    
मतदान हुने दिन मङ्सिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान भने हुने छैन । उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने विमानस्थल कार्यालयको भनाइ छ ।    
    
“चार्टर्ड उडान र अत्यावश्यक उडानका लागि निर्वाचन आयोगसँग सहमतिमा हुनसक्छ तर नियमित उडान भने हुदैन”, विमानस्थलका प्रवक्ता सिटौलाले भने । निर्वाचनका दिन अन्तर्राष्ट्रिय उडान भने सामान्य रुपमा सञ्चालन हुने उनको भनाइ छ । 



Author

थप समाचार
x