अर्थ / बाणिज्य

अब काठमाडौंमा राति १२ बजेसम्म रेष्टुरेन्ट खोल्न पाइने

इकागज |
मंसिर १५, २०७९ बिहीबार १८:१९ बजे

काठमाडौं- काठमाडौं जिल्लामा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइने भएको छ । मंगलबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंमा मध्यराति १२ बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न दिने निर्णय गरेको हो ।​

रात्रिकालीन व्यवसाय सञ्चालनको समय अवधिसम्बन्धी नयाँ निर्णय गरेको हो । बिहीबार जिल्ला प्रशासनले सो निर्णयबारे जानकारी गराएको छ ।
 
निर्णयअनुसार मदिरा पसलहरू राति १० बजेसम्म, रेष्टुरेन्टहरू राति १२ बजेसम्म, डान्स बार, दोहोरी रेष्टुरेन्ट र लाउन्ज बार बिहान २ बजेसम्म र डिस्को तथा क्लब बिहान ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।


रात्रिकालीन व्यवसायलाई थप व्यवस्थित गर्ने उद्देश्यले यो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । अहिले धेरै ठाउँमा प्रहरीले बेलुका ९–१० बजे नै रेष्टुरेन्ट बन्द गराउँदै आएको छ ।


Author

थप समाचार
x