अर्थ / बाणिज्य

हेटौंडा सिमेन्टः घाटामा बाँचेको एउटा उद्योग

इकागज |
मंसिर १६, २०७९ शुक्रबार १४:५९ बजे

मकवानपुर । उद्योग खुलेपछि स्वभाविक रुपमा यसले रोजगारी सिर्जना गर्ने र देशको अर्थतन्त्रमा सकारात्मक योगदान गर्न अपेक्षा गरिन्छ । तर मकवानपुरको हेटौंडा स्थित सरकारी स्वामित्वको एउटा उद्योगले यो अपेक्षा पूरा गर्न सकेन ।

स्थापनाकालदेखि नै घाटामा रहेको सरकारी स्वामित्वको यो उद्योग नेता तथा कार्यकर्ताको भर्ती केन्द्र मात्रै बन्यो । सरकार फेरिएपिच्छे अध्यक्ष फेरिने र जो अध्यक्ष भएर गएपनि घाटा सुधारको लागि योजना नै नबनाउने गरेको कारण हेटौंडा सिमेन्ट उद्योग लामो समयदेखि घाटामै बाँचिरहेको छ । 


निजी लगानीको उद्योग यसरी घाटामा गएको हो भने त्यसलाई बन्द गरिन्थ्यो, वा घाटा घटाउने पहल गरिन्थ्यो तर हेटौंडा सिमेन्ट उद्योगमा यो केही भएन । बरु कर्मचारी पाल्नका लागि सरकारले राज्यकोषबाट व्यायभार खेपिरह्यो । सरकारी स्वामित्वकै हेटौंडा कपडा उद्योग घाटाबाट उठ्न नसकेर बन्द भयो तर हेटौंडा सिमेन्ट उद्योग ४० वर्ष पुरानो प्रविधिसँगै बाँचिरहेको छ ।

पुराना उपकरण र प्रविधिको कारण क्षमता अनुसार उत्पादन गर्न नसकेको र लागत बढी परेको भन्दै नयाँ प्लान्ट जडान गर्ने हेटौँडा सिमन्टेको उद्योगको सवालमा बेला बेलामा नयाँ योजना बन्ने गरेका छन् तर ती योजना कहिल्यै कार्यान्वयनमा आएनन् ।

घाटा पुर्तिको लागि उद्योग मातहतमा रहेको सरकारी जग्गा विक्री गर्ने र नयाँ प्रविधि जडान गरी उत्पादान बढाउने प्रस्ताव केही साताअघि चर्चामा आयो । तर यो प्रस्ताव अब ब्रेक लागेको छ । सरकारी स्वामित्वको उद्योगले नयाँ प्रविधियुक्त प्लान्ट ल्याउन आफ्नो नाममा रहेको जग्गा बिक्री गर्ने योजना बनाएको थियो । जग्गा बेच्ने उद्योगको प्रयास तत्कालका लागि रोकिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमै फाइल अड्किएपछि जग्गा बिक्री गर्ने योजनाबाटपछि हटेको उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले जानकारी दिए । मन्त्रालयले नै जग्गा बिक्रीको अनुमति दिने सम्बन्धको फाइल अगाडि नबढाएको बताइएको छ । 
उद्योग मन्त्रालयले जग्गा बिक्री गर्ने सम्बन्धमा रोक लगाएपछि हेटौँडा सिमन्टले उक्त योजनालाई तत्काल स्थगित गरेको पाण्डेले बताए । पाण्डेले सिमेन्ट उद्योग सञ्चालक समितिको निर्णय आगामी साधारणसभामा लैजाने गरी स्थगित गरिएको दाबी गरिएको छ । उद्योगको रातोमाटेस्थित करिब १२ बिघा जग्गा खरिद गर्न राष्ट्र बैंक इच्छुक रहेको महाप्रबन्धक पाण्डेले बताए ।

जग्गा बिक्रीबापत आएको रकमबाट उद्योगमा नयाँ प्लान्ट जडान गरी निजी क्षेत्रका उद्योगसँग प्रतिस्पर्धा गर्ने क्षमताको बनाउन खोजेको पाण्डेले बताए । पछिल्लो ४ वर्ष लगातार घाटामा चलिरहेको हेटौँडा उपमहानगरपालिका–९, लामसुरेस्थित उद्योगले आफ्नो खाली जग्गा बेच्ने तयारी गरेको थियो ।

हाल यो उद्योगको गोदाममा झण्डै २ अर्बभन्दा बढी मूल्यको सिमेन्ट थन्किएको छ । निजी क्षेत्रका उद्योगले अत्याधुनिक प्लान्ट जडान गरी उत्पादन लागत घटाएर सस्तोमा सिमेन्ट बिक्री गर्न थालेपछि हेटौँडा सिमेन्ट प्रतिस्पर्धामै आउन नसकेको हो । हेटौँडा सिमेन्ट प्रतिबोरा ९ सय हाराहारीमा पर्छ भने निजी क्षेत्रका उद्योगले साढे ७ सय रुपैयाँ बोरामा सिमेन्ट बिक्री गर्दै आएका छन् । पुराना प्लान्टका कारण उत्पादन लागत बढी भएपछि मुल्य बढी राख्न परेको पाण्डे बताए ।

“हाम्रो सिमेन्टको गुडविलले मात्रै थोरै बजार धानेको छ, विगतमा भन्दा बजार माग घटेको अवस्थामा हेटौँडा सिमेन्टले निजी उद्योगसँग प्रतिस्पर्धा गर्नै सकेन” उनले भने । दुई वर्षअघि नै हेटौँडा सिमेन्ट सञ्चालक समितिले निर्णय गरेर प्रदेशको उद्योग मन्त्रालयमा जग्गा बिक्रीका लागि अनुमति मागेको थियो । उक्त सिफारिस मन्त्रालयमै थन्किएको अवस्थामा महाप्रबन्धक भएर करिब चार महिनाअघि आएका पाण्डेले जग्गा बिक्रीलाई टुंगोमा पु¥याउन खोजेका थिए ।

उद्योगसँग प्रयोग नभएको जमिन धेरै भएको कारण केही बेचेर व्यवस्थित गर्न खोजिएको दाबि समितको छ । प्रदेशको राजधानी हेटौँडा भएपछि यहाँ राष्ट्र बैंकले जग्गा खोजी गरिरहेको छ । “हाम्रो प्रयोग नभएको करिब १२ बिघा जति जमिन अर्को सरकारी निकायलाई बेच्न सक्यौं भने केही अर्ब रकम आउँछ र केही सरकारले सहयोग गर्दा नयाँ प्लान्ट जडान गर्न सकिन्छ भन्ने थियो” पाण्डेले भने । 
हाल उद्योग नियमित सञ्चालनका लागि ८० करोडदेखि १ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । उद्योगमा नयाँ प्लान्ट जडान गर्न ५ देखि ८ अर्ब खर्च लाग्ने छ । हेटौँडा सिमेन्टलाई सिमेन्ट उत्पादन गर्ने देशभरका उद्योगमध्ये सबैभन्दा बढी गुणस्तरीय र विश्वासिलो मानिन्छ । हेटौंडा सिमेन्ट उद्योग विगत चार वर्षमा करिब ८० करोड घाटा व्यहोरेको छ ।

हेटौंडा सिमेन्ट उद्योगले आफू मातहतमा रहेको रोप–वे पनि बिक्री गर्ने तयारी गरेको छ । हेटौंडाबाट भीमफेदी गाउँपालिकाको भैंसेखानीसम्म तारमा बेवारिसे अवस्थामा झुण्डिएका रोप–वेका डिब्बाहरू विक्री गर्न खोजिएको हो । ३६ वर्ष पुराना यी डिब्बाहरु करिब १८ वर्ष बेवारिसे छन् । सिमेन्ट उद्योगको लागि चुनढुंगा ओसार्न प्रयोग भए पनि ६२ सालदेखि भने पूर्ण रुपमा बन्द छ । रोप–वेमा करोडौंका फलाम छन् । फलामका पोलदेखि, तार र बाकससम्म बिक्री गर्ने तयारीमा हेटौंडा सिमेन्ट उद्योग लागेको हो । हेटौंडा सिमेन्टले उक्त रोप–वेका सामग्री लिलाम गर्न उद्योगका भण्डार विभाग प्रमुख विकास श्रेष्ठको संयोजकत्वमा मूल्यांकन समिति बनाएको छ ।

समितिमा कोष तथा लेखा नियन्त्रक, जिल्ला प्रशासन र सडक विभागबाट १/१ जना र उद्योगबाट २ जना प्रतिनिधि हुने व्यवस्था गरिएको छ । समितिले कबाडीमा बेच्ने प्रक्रिया चाँडो अगाडि बढाउने भएको छ । रोप–वे बिक्रीबाट करिब १२ करोड रुपैयाँसम्म रकम प्राप्त हुने आँकलन गरिएको छ ।
 


Author

थप समाचार
x