अर्थ / बाणिज्य

निषेधाज्ञाको त्रास सेयर बजारमा, सबै परिसूचक राताम्मे

२.५५ प्रतिशतले खस्किएर नेप्से २५०६ बिन्दुमा

इकागज |
बैशाख १३, २०७८ सोमबार १६:१२ बजे

काठमाडौं : कोभिड-१९ नियन्‍त्रणका लागि सरकारले निषेधाज्ञा लगाउने सूचना बाहिरिएपछि सेयर बजारमा त्यसको असर देखिएको छ । लगानीकर्ताहरूको मनोबल कमजोर देखिएपछि सेयर बजार खस्किएको हो । सोमबार सेयर बजारमा २.५५ प्रतिशतको गिरावट देखिएको छ । ६५.५८ अंकले खस्किएर नेप्से २५०६.६१ बिन्दुमा पुगेको हो ।

कारोबारमा आएका १३ समूहका परिसूचक सबै कमजोर छन् । सबैभन्दा बढी गिरावट जलविद्युत समूहमा देखिएको छ । यो समूहको परिसूचक ४.०४ प्रतिशतले खस्किएको छ । छ्याङ्दी हाइड्रोपावरको मूल्य ७ प्रतिशतभन्दा बढी दरले घटेको छ । युनाइटेड ईदी मर्दी आरबी हाइड्रोपावरको सेयर मूल्य ६.६७ प्रतिशतले घटेको छ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ६.४१ प्रतिशतले घटेको छ ।

विकास बैंक समूहको परिसूचक ३.१३ प्रतिशतले घटेको छ । त्यसबाहेक निर्जीवन बीमा समूहमा ३.०२ प्रतिशतले गिरावट आएको छ । ट्रेडिङ समूहमा ३.५८ प्रतिशतले गिरावट आएको छ ।

केही समयअघि मात्रै कारोबार खुलेको विशालबजार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । ९.९९ प्रतिशतले बढेको यो कम्पनीको सेयर मूल्य ३८३२ रुपैयाँ पुगेको छ । महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९७ प्रतिशतले बढेको छ । यो लघुवित्त प्रति कित्ता २३४९ रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार ६ अर्ब ५९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ८६ हजार ९२ पटकको कारोबारमा १ करोड २९ लाख ११ हजार ७२१ कित्ता सेयर किनबेच भएको छ । अपर तामाकोशीको सेयर सबैभन्दा बढी किनबेच भएको छ । ३१ करोड ७४ लाख रुपैयाँ बराबर भएको यो कम्पनी सेयरको मूल्य ७७० रुपैयाँ कायम भएको छ । नेपाल इन्‍फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सेयर कारोबार २५ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।  



Author

थप समाचार
x